१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक-धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन। सरकारले चालु आर्थिक वर्षमा पर्याप्त मात्रामा बजेट निकासा नगरेकाले सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यले अपेक्षाकृत गति लिन नसकेको हो।

सडक विभागले अघिल्लो वर्ष सूर्यविनायक–धुलिखेल १५.८ किलोमिटर सडकलाई दुई खण्डमा बाँडेर सडक स्तरोन्नतिको काम अघि सारेको थियो।

सूर्यविनायक धुलिखेल र धुलिखेल सिन्धुली–बर्दीबास सडक आयोजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बजेट अभावको कारणले सडक निर्माणको काम प्रभावित हुँदै आइरहेको बताए।

‘बजेटको कमीले निर्माण कार्यमा असर पारेको छ,’ उनले भने, ‘पर्याप्त बजेट हुने हो भने सडक निर्माणको कामले अझै गति लिन सक्ने थियो।’

सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक साँघुरो र ट्राफिकजाम धेरै बढेको भन्दै स्तरोन्नति गर्न अघिसरेको हो। यस सडक खण्डमा विशेषगरी अरनिको राजमार्ग, विपी राजमार्ग तथा कोसी र मधेश प्रदेशबाट धुलिखेल हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको अत्यधिक चाप हुने गरेको छ।

दुई लेनको सडकको कारणले अत्यधिक जाममा परेको भन्दै विस्तार गर्न लागिएको हो। आयोजना प्रमुख दासले साँगादेखि धुलिखेल सडक खण्डको भौतिक प्रगति करिब १८ प्रतिशत भएको बताए। साँगादेखि धुलिखेल सडक खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ।

लामा कन्स्ट्रक्सनले भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख ७५ हजार आठ सय ३५ रूपैयाँमा पाएको हो। लामा कन्स्ट्रक्सनले आठ किलोमिटर सडक तीन सय मिटर चौडा गर्ने ठेक्का पाएको छ।

२०७९ मंसिर ९ गते सार्वजनिक सूचना जारी गरी बोलपत्र स्वीकृत गर्ने आशयपत्र जारी गरिएको थियो। अहिले यो सडक खण्डको ठेकेदार कम्पनीले सडकको दायाँबाँया रिटेनिङ वाल, पुल लगायतका संरचना निर्माणको काम गर्र्दै आइरहेको छ।

आयोजनाका अनुसारसूर्यविनायकदेखि साँगासम्मको दोस्रो खण्डको सडक निर्माणको ठेक्का भने आशिष, कुमार श्रेष्ठ, बन्दना भगवती जेभीले पाएको छ। यो खण्डको सडकको ठेक्का तीन अर्ब ८८ करोड लागतमा ठेक्का सम्झौता भएको हो।

यो खण्डको सडक विस्तार गर्ने ठेकेदार कम्पनीलाई तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने र एक वर्षसम्म मर्मत सम्भार गर्ने जिम्मेवारीसमेत तोकिएको छ।

यो सडक खण्डको लम्बाइ भने ७.७ किलोमिटर रहेको छ। आयोजना प्रमुख दासका अनुसार यो सडक खण्डको हालसम्मको भौतिक प्रगति करिब १३/१४ प्रतिशतको हाराहारीमा रहेको छ।

यो सडक खण्ड साँघुरो भएका कारण पिकआवरमा एक घण्टादेखि डेढ घण्टाभन्दा जाम भोग्नुपर्ने बाध्यता रहँदै आइरहेको छ।

सरकारले अघिल्लो आर्थिक वर्षको मंसिरदेखि १५.८ किलोमिटर सूर्यविनायक–धुलिखेल सडक दुई खण्डमा बाँडेर चार लेन विस्तार गर्ने योजना अघि सारेको छ। अहिले यी दुवै खण्डको सडक निर्माणको काम अघि बढिरहेको छ।  

प्रकाशित: २३ माघ २०८० ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App