८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

भेरी नदीमा ह्युमपाइप राखेपछि डोल्पा पुग्यो गाडी

रुकुम (पश्चिम) को छहरेबगर र जाजरकोटको सीमा तल्लुबगरस्थित भेरी नदीमाथि बनाइएको अस्थायी पुल

भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदीमा ह्युमपाइप राखेपछि सुर्खेत र नेपालगञ्जबाट सहजै डोल्पासम्म सवारी साधन पुग्ने भएका छन्। रुकुम (पश्चिम) को छहरेबगर र जाजरकोटको सीमा तल्नुबगरस्थित भेरी नदीमा लामो समयदेखि बेलिब्रिज बन्न सकेको थिएन। अहिले वैकल्पिक रूपमा भेरीमा ह्युमपाइप राखेर यातायातका साधन सिधै डोल्पा पुग्ने गरेका हुन्।

डोल्पामा विकास निर्माण गरिरहेका ठेकेदारहरूले आफ्नो सामान लैजान सहज होस् भनेर भेरी नदीमा वैकल्पिक पुल बनाएका हुन्। भेरी नदीमा ह्युमपाइपको फड्को (पुल) बनाउन करिब ४० लाख खर्च भएको जनाइएको छ।

भेरीमा पुल नबन्दा डोल्पासम्मसवारी साधन जान सक्ने अवस्था नरहेको हुँदा अस्थायी रूपमा बनाइएको सो पुलले ठूलो काम गरेको डोल्पालीहरू बताउँछन्। उनीहरू सरकारले खर्च गरेर बनाएको हुँदा स्थानीयसँग भेरी तरेको पैसा नलिनसमेत माग गरिरहेका छन्।

डोल्पामा विद्युत्को ठेक्का लिएका व्यवसायीले आफ्ना सामान लैजान २० लाख बराबरको ह्युमपाइप उपलब्ध गराएको जनाएको छ।

अरू लगानी उठाउन गाडीबाट शुल्क लिन थालिएको छ। त्यहाँबाट सवारी साधन लगेबापत बोलेरो जिपको पाँच हजार, मिनिट्रकको १० हजार र ठूलो ट्रकबाट १५ हजार उठाउने गरेको सवारी चालकहरू बताउँछन्।

 स्थानीय युवाहरूले गैरकानुनी रूपमा सवारी पास भएबापत चर्को शुल्क लिन थालेपछि जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोली ह्युमपाइप राखिएको स्थानमा पुगेर छलफल गरी शुल्क नउठाउन निर्देशन दिएको जनाइएको छ।

डोल्पाका ६ वटा पालिकामा विद्युत्को केन्द्रीय प्रशारण लाइन विस्तारको जिम्मा लिएका बिभान्सु महिनावती जेभीका मेनेजर नरेन्द्र काफ्लेले ह्युमपाइपको पुल निर्माणमा कम्पनीले २० लाख लगानी गरेको बताए।

सवारीबाट पैसा उठाउनु गैरकानुनी काम भएको र पैसा उठाएको उजुरी आए कारबाही गरिने डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

‘शुक्रबार जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुगेर छलफल गर्नुभएको छ’, डोल्पाका प्रजिअ दाहालले भने, ‘पैसा नउठाउने सहमति भएको छ। कसैले सार्वजनिक स्थानमा (भेरी नदी पार गरेबापत) पैसा उठाएको उजुरी आए कारबाही हुन्छ।’

प्रकाशित: १८ माघ २०८० ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App