१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्णाली करिडोर वैशाखदेखि सञ्चालन

सिमकोट–हिल्सा सडकअन्तर्गत नाम्खा गाउँपालिका ५ को यारीमा पर्ने नारा लेकमा हिउँ पन्छाउँदै स्काभेटर। तस्बिर : नागरिक

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर वैशाखदेखि सञ्चालनमा आउने भएको छ। हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा नेपाली सेनाले ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुर्‍याएको छ।

‘नयाँ वर्षको अवसर पारेर राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र जिल्ला हुम्ला सदरमुकाम सिमकोटमा गाडी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ’, नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अमृत पराजुलीले भने, ‘चैतसम्म बाँकी रहेको झनडै आठ सय मिटर सडकको लेभल मिलाइसक्छौं।’

कर्णाली करिडोरअन्तर्गतको लालीबगर–दुल्लीकुना सडकको ट्र्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिने छ। सेनाले अहिले काम गरिरहेको लालीबगर–दुल्लीकुनाअन्तर्गत पर्ने छहारेदेखि लिप्चेसम्मको भीर सबैभन्दा कठिन हो।

सेनाले अहिले यही खण्डमा काम गरिरहेको छ। कडा चट्टान फुटाउनका लागि ब्लास्टिङको काम सकिएको छ। आठ सय मिटर सडक खण्डको लेबलङि सेनाले गरिरहेको छ।

यस्तै हाल सडक विभागले काम गरिरहेको बोक्चे गौडा, भी–गौंडा, दुली कुना र याङ्चुका मोड काट्नुका साथै सडकको लेभल मिलाउने जिम्मेवारी पनि सेनाले पाएको छ। यो सडकमा साना सवारी सञ्चालन रहे पनि ठूला सवारी सञ्चालन कठिन हुन्छ।

कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ। सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन्।

हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन्। छहारे–लिप्चे खण्डको आठ सय मिटर ट्र्याक खुलेसँगै हुम्ला जिल्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो।

सेनाले कर्णाली करिडोरअन्तर्गत कालिकोटको घाटपारी चौरदेखि बाजुराको झुम्काखोलासम्मको ११.०५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम गरिरहेको छ। यो सडक खण्ड निर्माण भए कर्णाली करिडोर आठ किलोमिटर छोटो हुने छ। ११.०५ किलोमिटरमध्ये ३.५ किलोमिटर सडकको ट्र्याक सेनाले खोलेको छ। चालु आर्थिक वर्षमा थप १.५ किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्य सेनाले राखेको छ।

हुम्लाको स्याल्तडीदेखि लालीबगरसम्म सेनाले निर्माण गरिरहेको सडक।  तस्बिर: नागरिक

संघीय सरकारले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरअन्तर्गतको दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा दुई वर्षअघि नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

सेनाले जिम्मा लिएसँगै सडक निर्माणको काम तीव्र गतिमा भइरहेको हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए। ‘नयाँ वर्षमा प्रदेश राजधानी सुर्खेतबाट चीनसँगको सीमा हिल्सासम्म मोटर चल्ने विश्वास पलाएको छ’, उनले भने, ‘कर्णाली र सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सडकमा हामी सबैको चिन्ता र चासो छ।’

२०७८ साउनमा सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी २६८ किलोमिटर हो। त्यसमध्ये सबैभन्दा धेरै अप्ठ्यारो भूभागको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले २०७१ चैत ५ गते नेपाली सेनालाई दिएको थियो।

सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर खण्डमध्ये बाँकी खण्डमा ट्र्याक खुलिसकेको छ। हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ।

कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो। भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँकेअन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी ५०५ किलोमिटर हो। यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म पुग्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट हिल्सा पुग्न ४१९ किलोमिटर पार गर्नुपर्ने हुन्छ।

संघीय सरकारले चालु आर्थिक वर्षका लागि कर्णाली करिडोर सुधारका लागि ९७ करोड रुपैयाँ छुट्ट्याएको छ। कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन। त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट जोडिनु कर्णालीका लागि महत्वपूर्ण छ। कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार पुन सुरु हुनुका साथै मानासरोवर यात्रा गर्नेका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा छोटो र सहज हुन्छ।

प्रकाशित: १८ माघ २०८० ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App