१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ। ती कार्यालयले अझै ६८ प्रतिशत वार्षिक बजेट खर्च गर्नुपर्ने देखिएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार बजेट कम खर्च गर्नेमा अधिकांश ठुला आयोजना सञ्चालन गर्ने कार्यालय रहेका छन्। संघीय सरकारले बाँकेका विभिन्न कार्यालयका लागि तीन अर्ब ९० करोड ७१ लाख ४७ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा एक अर्ब २६ करोड ३९ लाख ८३ हजार चार सय १८ रुपैयाँ खर्च भएको छ।

कार्यालयको पुस महिनासम्ममा ४७ प्रतिशत मात्र चालु बजेट खर्च भएको पाइएको छ। चालुतर्फ १० अर्ब ७९ करोड १ लाख ४८ हजार विनियोजन भएकोमा पाँच अर्ब ३ करोड ४६ लाख ४० हजार ४ सय ३० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक एवं सूचना अधिकारी शरदकुमार बरालले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा ७५ करोड ४८ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा पुस महिनासम्म १५ करोड ८४ लाख ४६ हजार ४ सय ९९ रुपैयाँ खर्च भएको छ।

यस्तै जिल्लामै रहेको हुलाकी सडक आयोजना कार्यालयले चालु वर्षमा कुल ६२ करोड रुपैयाँ पुँजीगत बजेट प्राप्त गरेकोमा ५० करोड ८१ लाख ८०  हजार ३  सय ९९ रुपैयाँ खर्च गरेको सूचना अधिकारी बरालले बताए। सडक डिभिजन कार्यालय बाँकेको चालु वर्षमा ३५ करोड ८१ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड २१ लाख ५० हजार १ सय ६४ रुपैयाँ मात्रै खर्च भएको देखिएको छ।

यसैगरी पुल योजना पश्चिम सेक्टर नम्बर ३ कार्यालय नेपालगन्जले २९ करोड १५ लाख ६० हजार पुँजीगत बजेट पाएकोमा १५ करोड ७७ लाख ९५ हजार ५ सय ४४ रुपैयाँ खर्च गरेको छ। संघीय सरकार अन्र्तगत रहेका कार्यालयले चालु आव २०८०-८१ को पुस महिनासम्म ११ अर्ब ८३ करोड ७ लाख ३४ हजार ९ सय ४९ रुपैयाँ राजश्व संकलन गरेका छन्। यसअघि गत वर्ष २०७९-०८० को ६ महिनामा ११ अर्ब २८ करोड ८० लाख ७९ हजार ३ सय ६६ रुपैयाँ राजश्व संकलन गरेका थिए।

प्रदेश सरकारका कार्यालय

यसैबीच कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार बाँकेमा रहेका लुम्बिनी प्रदेशअन्तर्गत रहेका सरकारी कार्यालयले १८ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेका छन्। यस्तै प्रदेश अन्तर्गतका कार्यालयको १९ प्रतिशत चालु बजेट खर्च भएको छ।

चालु आव २०८०-८१ का लागि प्रदेशले पुँजीगत तर्फ दुई अर्ब १८ करोड ८२ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेकोमा पुस महिनासम्म ३९ करोड ६७ लाख ८७ हजार ६ रुपैयाँ मात्र खर्च भएको देखिएको छ।  यसैगरी आव २०८०-८१ का लागि चालुतर्फ एक अर्ब ४५ करोड २९ लाख २७ हजार बजेट विनियोजन गरेकोमा २८ करोड २४ लाख ८३ हजार १ सय ३१ रुपैयाँ मात्र खर्च भएको पाइएको छ।

प्रदेश सरकार अन्तर्गत रहेका कार्यालयले चालु आव २०८०-८१ को पुस महिनासम्म ४२ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्। यसअघि गत आव २०७९-८० को पुस महिनासम्म कार्यालयले ३९ करोड ४० लाख ६१ हजार ४ सय ४० रुपैयाँ राजस्व संकलन गरेका थिए।

प्रकाशित: १४ माघ २०८० ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App