१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सडक स्तरोन्नति नहुँदा सुन्तला ढुवानीमा कठिनाइ

फाइल तस्बिर : नागरिक

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ। यहाँ एउटै गाउँमा लाखौँ रुपैयाँको सुन्तला उत्पादन भए पनि बजारमा पुर्‍याउन सकिएको छैन।

बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ। ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए।

उनले भने, ‘जिपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ। यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ।’

अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ। तर जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन्। जिप मुस्किलले गाउँसम्म पुग्ने कृषक खत्रीले गुनासो गरे।

ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगान आएका कालीमाटीका एक व्यवसायीले भने। दश किलोमिटरको दूरी पार गर्न झनडै डेढ घन्टा लागेको उनले बताए।

जलजला गाउँपालिका २ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भइसकेको छ। तर बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन। दश  किलोमिटर लामो उक्त सडकमा २२ करोड खर्च हुने अनुमान गरिएको छ।

बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ। सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न सकिने छ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए। मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि एक करोड रकम विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्र गर्न सकिने उनले बताए। –रासस

प्रकाशित: १३ माघ २०८० ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App