२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धार्चेमा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ। पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

लामो समयदेखि अव्यवस्थित रहेका बसोवासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको उनले बताए। ‘गाउँपालिकामा वडा नम्बर ७ लापुबाट अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न थालिएको छ’, उनले भने, ‘पालिकाभित्रका सबै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई क्रमशः निस्सा वितरण गर्दै जानेछौँ।’

अध्यक्ष गुरुङले प्रारम्भिक चरणमा लापुमा रहेका बाह्र घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिएको उनले बताए। ‘प्रक्रिया पुगेकालाई निस्सा वितरण गरिएको छ’, उनले भने, ‘अब जग्गा नापजाँच लगाएका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ।’

निवेदन परेकामध्येबाट वास्तविक अव्यवस्थित बसोवासीको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाइ छ। लालपुर्जा पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोवासीलाई निस्सा पाएसँगै अब छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने जनाउँदै खुसी भएका छन्।

आयोगले अव्यवस्थित बसोवासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोवासको मूल्यांकनलगायतका विभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ। त्यस्तै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ। –रासस

प्रकाशित: ८ माघ २०८० ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App