७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कपनमा मौलिक उत्पादन तथा चौरासी व्यञ्जन मेला सम्पन्न

‘बसे पनि सहर, गाउँकै खाने रहर, स्वादका लागि भन्दा स्वास्थ्यका लागि खाऔं’ भन्ने मूल नाराका साथ काठमाडौंको कपनमा जारी मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला सम्पन्न भएको छ। मौलिक बजार तथा मौलिक भान्छाघरको आयोजनामा सो मेला आयोजना गरिएको थियो।

मेलामा ‘सात प्रदेश सात परिकार’, ‘सात पन्छी सात स्वाद’, ‘सात संस्कृति सात पहिरन’, ‘सातै दिन सांस्कृतिक साँझ’को व्यवस्था गरिएको थियो।

काठमाडौंको बुढानीलकण्ठ १० कपन, आकाशेधारा नजिक गैरीगाउँमा सञ्चालित मेलामा एक स्थानीय तह, एक उत्पादनलाई बजारीकरण गर्ने गरी सबै पालिकालाई स्टलको पनि व्यवस्था गरिएको मौलिक बजारका अध्यक्ष सुमन दाहालले जानकारी दिए।

यहाँबाट ब्रान्डिङ गर्ने र ७५३ वटै स्थानीय तहहरूमा मौलिक उत्पादन तथा मौलिक परिकारहरूको खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य राखिएको पनि अध्यक्ष दाहालले बताए।

मेलामा कृषि मन्त्री डा. वेदुराम भूसालसहित सरोकारवालाका बीचमा मौलिक परिकार र उत्पादनलाई कसरी व्यावसायिक बनाउने भन्ने बारेमा बृहत् अन्तरक्रिया कार्यक्रम भएको थियो। मेलामा मौलिक परिकार निःशुल्क चाख्न र मौलिक उत्पादन उपहार तथा किनबेच गर्न दैनिक हजारौंको सहभागिता रहेको थियो।

रैथाने भोजन, बिउ, बाली, सिप र संस्कृतिले प्रकृति र हाम्रो स्वास्थ्य बचाउने भएकाले पनि मौलिक उत्पादन र परिकारलाई बानी र संस्कारको रूपमा फेरि लागु गर्न ग्याष्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालका अध्यक्ष रमेश भण्डारीले आह्वान गरे।

मेलामा सहभागीले यस्तो मौलिक उत्पादन र परिकार मेला देशैभरि चलाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ८ माघ २०८० ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App