७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

हेलिकप्टर र स्थलमार्गबाट खोज्दा समेत भेटिएनन् मर्दी क्षेत्रमा हराएका पर्यटक

मर्दी हिमाल पदयात्रा। फाइल तस्बिरः नागरिक

मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्। पुस दोस्रो साता सम्पर्कविहीन भएका उनीबारे पछिल्लो कुनै संकेत फेला नपरेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार सम्पर्कविहीन भएका ती पर्यटकको हवाई र स्थलमार्गबाट खोजी गरिएको थियो। पर्यटक प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार माइकेलबारे कुनै संकेत फेला परेको छैन। 

‘हराएको दिनदेखि नै उनको खोजी सुरु भएको हो। हेलिकप्टर र स्थलमार्ग हुँदै गएर खोजी गरियो, तर, उनीबारे कुनै संकेत नै छैन,’ रेग्मीले भने, ‘अहिले पनि उनीबारे कतै जानकारी पाउन सकिन्छ की भनेर चासो दिएका छौ। तर, कुनै जानकारी छैन।’

प्रहरीका अनुसार मर्दी हिमाल आधार शिविर उक्लने गरि पुस १४ गते एकाबिहानै हाइक्याम्पस्थित होटलबाट निस्केका स्वीडेनका २० वर्षीय ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन्। 

होटलमा सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले बताएको छ। हराएका पर्यटकको खोजीमा जुटेपनि अहिलेसम्म कतै फेला नपरेको प्रहरीले बताएको छ। सम्पर्कविहीन पर्यटकको खोजीमा प्रहरी, स्थानीय होटल व्यवसायी र गाउँपालिकाका पदाधिकारी जुटेका थिए।

मर्दी हाईक्याम्पबाट आधारशिविरतर्फ उक्लेका ब्लमबर्ग त्यसपछि होटल फर्केका छैनन्। ‘होटलमा बास बसेका माइकेल आधार शिविर जाने भनेर बिहानै निस्केका रहेछन्। तर, फर्केका छैनन्, अहिलेसम्म अत्तोपत्तो छैन,’ रेग्मीले भने।

हेलिकप्टरबाट खोजी गर्ने क्रममा भ्यु प्वाइन्ट, बेसक्याम्प र अपर क्याम्पसम्म पनि खोजी गरिएको थियो। तर, कुनै पनि संकेत फेला नपरेको उनले बताए। ‘ठाडो भीरको बाटो रहेछ। त्यो बेला पनि हिउँ परेको थियो। अब त बाटोको संकेत समेत हिउँले पुरिसक्यो,’ उनले भने, ‘मर्दी क्षेत्रको खोजी निकै नै जटिलपूर्ण रहेछ।’

मर्दीको हाईक्याम्पस्थित होटल म्याजिक माउन्टेनमा डिसेम्बर २९ दिन बिहान ११ बजेतिर पुगेका माइकेल दिनभर होटलमै थिए। भोलिपल्ट शनिबार बेसक्याम्प जाने भनेर उनी बिहानै ४ बजे नै होटलबाट एक्लै निस्केका थिए। 

होटलमा झोला राखेर निस्केका उनी त्यही दिन हाइक्याम्प ओर्लेर पोखरा फर्किने तयारीमा थिए। तर, माथि उक्लेका ती पर्यटक त्यसपछि नफर्केको प्रहरीको भनाई छ।

उनी अन्नपूर्ण क्षेत्रको पोथाना, लान्द्रुक, फरेस्टक्याम्प हुँदै उनी मर्दी पदयात्रामा पुगेका थिए । बास बसेको होटलबाट बेसक्याम्प उक्लिन झन्डै ४ घण्टा लाग्छ। बेसक्याम्प पुगेर फर्केर होटलमै आउने भनेपनि नआएपछि खोजी सुरु गरिएको प्रहरीले बताएको छ।

‘परिवारकै खर्चमा हेलिकप्टर समेत परिचालन गरिएको हो। अहिले नै परिवारका सदस्य भने नेपाल आएका छैनन्। केही समयमा नेपाल आउने भनेका छन्,’ उनले भने, ‘बिना गाइड एक्लै निस्कँदा यो समस्या आएको रहेछ।

रेग्मीका अनुसार भ्यु पोइन्टबाट हाइक्याम्पसम्मको खण्ड निकै नै जोखिमपूर्ण रहेको छ। जहाँ दिउँसोको समयमा समेत हिँडडुल गर्न कठिन छ। रातको समयमा एकलै हिँड्न त झनै जोखिमपूर्ण रहेको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार मर्दी जानुअघि ती पर्यटक मनास्लु क्षेत्रको पदयात्रा पुरा गरेर मनाङको धारापानी निस्केका थिए। डिसेम्बर १९ मा मनाङको धारापानी ओर्लेका उनी थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ हुँदै डिसेम्बर २६ मा म्याग्दीको घारखोला निस्केका थिए। घारखोलाबाट उनी पुनहिलतिर लागेका थिए । पुनहिलतर्फ सोझिएका ती पर्यटक सिधैं मर्दीतिर लागेका थिए।

अन्नपूर्ण क्षेत्र घुम्नु अघि ती पर्यटक मनास्लु क्षेत्रमा एक्लै पदयात्रामा गएका थिए। तर, धारापानी झरेपछि आफैले लगेको गाइडलाई फिर्ता पठाएर अर्का एकजना विदेशीसँग थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लेका थिए। 

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष धर्मराज पन्थीले पनि ती पर्यटकबारे जानकारी नभएको बताए । ‘हराएका पर्यटकबारे कुनै जानकारी छैन। हेलिकप्टरबाट गएर खोच खोँचमा समेत खोजी भएको हो। स्थलमार्गबाट समेत गएर खोजी गर्दा पनि भेटिएनन्,’ पन्थीले भने।

प्रकाशित: २ माघ २०८० ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App