१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सन् २०२३ मा पोखराका हवाई यात्रु साढे नौ लाख बढी

अन्तर्राष्ट्रिय विमानस्थलका ९ लाख ४ हजार यात्रु, पुरानो विमानस्थलका ५३ हजार यात्रु

अन्तर्राष्ट्रिय यात्रु भने २ सय ९६ जना मात्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्दै गरेका यात्रु। तस्बिरः नागरिक

सन् २०२३ जनवरी १ को दिन पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो। विमानस्थल संचालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने तयारी गर्दैगर्दा पोखराकै आकाशमा यती एयरलाइन्सको जहाज दुर्घटनामा पर्यो। दुर्घटनापछि झन्डै दुई महिनासम्म विमानस्थलले हवाई यात्रु अभाव खेप्यो। दुर्घटनापछि यात्रु नहुँदा हवाई कम्पनिले निकै नै कम संख्यामा उडान भरे। उडान संख्या कटौती मात्र भएनन् की यात्रु अभावमा धेरै उडान मर्ज पनि गरियो।  

संचालनमा आएको १५ दिनमै भएको हवाई दुर्घटनाको मार विमानस्थलले त खेप्यो नै पोखरा आउजाउ गर्ने हवाई यात्रु नै कम हुँदा समग्र पर्यटन क्षेत्र प्रभावित भएको गुनासो व्यावसायीले गर्दै आएका छन्। तर, दुर्घटनापछिको त्यो त्रास र विमानस्थलप्रतिको आशंका चिर्दै पोखरा आउने हवाई यात्रु बढ्दै जाँदा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक धेरै यात्रुले पोखराको हवाई यात्रा गरेको विमानस्थलले बताएको छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सन् २०२३ मा सबैगरि ९ लाख ४ हजार यात्रु ओहोरदोहोर गरेका छन्।  त्यसबाहेक पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको संख्या पनि ५३ हजार रहेको विमानस्थलको भनाई छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ का हवाई यात्रु संख्या ९ लाख ५७ हजार रहेको विमानस्थलले बताएको छ। ती मध्ये एकलाख २५ हजार जना यात्रु विदेशी रहेको विमानस्थलले बताएको छ।  

विमानस्थलबाट एकवर्ष अवधिमा अन्तर्राष्ट्रियतर्फ २१५ जना यात्रु पोखरा ओर्लेका छन् भने ८१ जना फर्केका छन्। सबैगरि २ सय ९६ जना यात्रु आउजाउ गरेको प्राधिकरणले बताएको छ। सन् २०२२ मा पोखराका हवाई यात्रुको संख्या ८ लाख ८३ हजार ५ सय ३६ जना थिए। ती हवाई यात्रुमध्ये ८१ हजार १ सय ७६ जना विदेशी थिए।  

‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको १५ दिनमै दुर्घटना हुँदा त्यसको असर झन्डै दुइमहिना पर्यो। समग्र हवाई सेवा नै दुर्घटनापछि प्रभावित भयो,’ विमानस्थलकी प्रवक्ता जशोदा रेग्मी भन्छिन, ‘तरपनि विमानस्थलले गति लियो। दुर्घटनाका कारण सुरुका दुईमहिना जति हवाई यात्रु कम भएपनि पछिल्लो समय त्यो अवस्था सामान्यतर्फ फर्किएको छ।’ 

उनका अनुसार दुर्घटनाले करिब दुइमहिनाजति पोखराको हवाई सेवामा यात्रु निकै नै कम थिए । हवाई कम्पनिले उडान संख्या कटौती गरेका थिए भने उडान नै मर्ज गरेर पनि संचालन भएका थिए। ‘यात्रुमा पनि मनोवैज्ञानिक असर प¥यो, समग्र नेपालको हवाई सेवालाई त्यो दुर्घटनाले असर पारेको हो,’ उनले भनिन्।  

दुर्घटनापछि करिब दुइमहिनासम्म प्रभावित भएको हवाई सेवाले गतिलिँदै जाने क्रममा हवाई यात्रु बढ्दै गएको उनले बताईन। ‘दुर्घटना बिर्सदै जाँदा यात्रु पनि थपिँदै गए। त्यसबाहेक हवाई सेवालाई बल पुग्नेगरि पोखरा–मुग्लिन राजमार्गको यात्रामा सकस थपियो। राजमार्ग बिस्तारले सकस दिँदा र यात्रा समय लम्बिँदा यात्रुहरु हवाई यात्रामा आकर्षित भए,’ उनले भनिन।

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 

राजमार्ग सहज हुँदो हो त यति धेरै यात्रु नपुग्न सक्ने उनको भनाई छ। ‘पोखरा–काठमाडौं हवाई यात्रा १२ घण्टाको बन्यो, जबकी राजमार्ग सहज हुँदा यो यात्रा ६ घण्टामा पुरा हुन्थ्यो। बिस्तारको क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरि गति लिन पाएको रेग्मीको भनाई छ। ‘सुरुमै हवाई दुर्घटना नहुँदो हो त सन् २०२३ मा पोखराका हवाई यात्रु १० लाख हाराहारीमा पुग्ने रहेछन, केही असर दुर्घटनाले पारेकै हो,’ उनले भनिन।  

अन्तर्राष्ट्रिय विमानस्थल भएपनि अन्तर्राष्ट्रिय उडान नहुँदा उत्तिसारो प्रभावकारी बन्न नसकेपनि आन्तरिक तर्फ विमानस्थलको योगदान अधिक रहेको उनले सुनाईन। उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले बिहान सबेरै र बेलुकी अबरेसम्म पनि उडान भईरहेका छन्। त्यस्तै उडानसंख्या पनि हवाई कम्पनिले थपेका थप्यै छन। पोखरा–काठमाडौ बाहेक पोखराबाट नेपालगञ्ज, भैरहवा, भरतपुर लगायतका गन्तव्यमा पनि उडान भएका छन्। 

रेग्मीका अनुसार पछिल्लो समय उडान संख्या बढ्दै जाँदा यात्रुपनि थपिएका छन। एकैदिन चारहजार हाराहारीमा यात्रुले अहिले पोखराको हवाई यात्रा गरेको उनको भनाई छ। अप्ठेरो अवस्थाका बाबजुत पनि अघिल्लो वर्ष भन्दा सन् २०२३ मा पोखराका हवाई यात्रुको संख्या झन्डै ७५ हजार बढी रहेको उनले बताईन।

निजी क्षेत्रको हवाई कम्पनि बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्ण पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक उडाननर्फ छोटो समयमै छलाङ मारेको बताउँछन्। संचालनमा आएको छोटो समयभित्रै दुर्घटनाको मार खेपेको भएपनि त्यसलाई बिर्सदै यात्रु बढ्दै जाँदा अहिले उडान पनि थपिँदै गएको कर्ण बताउँछन्। 

अहिले बुद्धले मात्र पोखरालाई आधार बनाएर दिनमा २० वटा उडान गरिरहेको उनले बताए। ती मध्ये पोखरा–काठमाडौं रुटमा १७ वटा, पोखरा–भरतपुर, भैरहवा र नेपालगञ्जका लागि पनि दिनहुँ उडान भरिरहेको उनले बताए। अन्तर्राष्ट्रिय विमानस्थल भएकोले पनि अहिले पूर्ण क्षमतामा जहाजले यात्रु बोक्न सकेको उनले बताए।

‘स्थलमार्गको कारण पनि पोखराका यात्रु बढेका हुन्। पोखरा आफैमा पर्यटकीय गन्तव्य भएकोले आन्तरिक यात्रु निकै नै भए। त्यसबाहेक भारतीय यात्रु पनि ह्वात्तै बढेका छन,’ कर्णले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारणले बिहान सबेरै र राती अबेरसम्म उडान संचालन गर्न मिलेको छ। पुरानो विमानस्थलबाट दिउँसो साढे ४ बजेपछि उडान हुँदैनथ्यो। तर, अहिले रातीसम्म उडान हुन्छ। रात्रिकालिन उडानका लागि पनि अहिले सहज भएको छ। यसले यात्रु संख्या बढाउन सघाएको छ।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडानतर्फ गति लिन नसकेपनि आन्तरिक उडानमा भने ठूलो योगदान दिएको बताउँछन। ‘सुरुमै दुर्घटनाको मार खेप्नुपर्यो, त्यो फरक कुरा हो। नत्र अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारण र नयाँ प्रविधि जडान भएकोले उडान संख्या बढेको र विमानस्थल संचालन अवधि पनि थपिएको छ,’ अधिकारीले भने, ‘सानोतिनो मौसमी अवरोधले उडान रोकिने अवस्था रहन्न। त्यसबाहेक राती अबेरसम्म उडान संचालन हुँदा यात्रुलाई आउजाउमा सहज भएको छ, त्यसले यात्रु संख्या बढाएको छ।’ स्थलमागको झन्झटपूर्ण यात्राले पनि यात्रुलाई हवाई उडानमा आकर्षण बढाएको उनले बताए।

प्रकाशित: १ माघ २०८० १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App