१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीमा राखिएका सामग्री। तस्बिर : नागरिक

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्। त्यसपछिका स्टलहरूमा बिक्रीका लागि राखिएका सामग्री छन्।

त्यसको नजिकै स्टल नम्बर पाँच छ, जसमा मुज र काँस (वनस्पति) बाट निर्मित डस्टबिन, हर्केस, टी म्याट, जोइलरी, पेन होल्डरलगायतका सामग्री प्रदर्शनीका लागि राखिएका छन्। ती सामग्री पञ्चशीला हस्तकला केन्द्र नेपालगञ्ज १९ शान्तिनगरका महिलाहरूले निर्माण गरेका हुन्।

बजारमा आयातितभन्दा स्थानीय स्वाद पाउन सकिने खालका दालमोठ स्टल नम्बर २७ मा राखिएको छ। जहाँ कुरकुरे, केरा चिप्सलगायत छन्। मधुवन- ८ बाँसपानी बर्दियाको सिर्जनशील लघु उद्यमीले उत्पादन गरेका दालमोठका परिकारले स्थानीय उत्पादनको माग उच्च रहेको प्रस्ट्याएको छ।

‘हामीले उत्पादन गरेका दालमोठको माग उपभोक्तामा धेरै छ,’ सञ्चालक सुन्दरी जोशीले भनिन्, ‘बजारमा मागअनुसार सामान उपलब्ध गराउन सकिएको छैन । मेला महोत्सवमै केन्द्रित छु।’

उनी हाते मेसिनबाट उत्पादन गर्छिन्। जसमा उनले करिब तीन लाख रूपैयाँ लगानी गरेकी छिन्। यसबाट वार्षिक आठदेखि १० लाख रूपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ। एउटा मेला, महोत्सव र प्रदर्शनीबाट करिब दुई-अढाई लाख रूपैयाँ आम्दानी हुने उनी बताउँछिन्।

सुन्दरीको अगाडि स्थानीय उत्पादन अल्लोबाट निर्मित कपडा लहरै फिँजाइएको छ। छिपखोला अल्लो कपडा उद्योग सिस्ने २, रुकुम पूर्वले उत्पादन गरेका अल्लोका कपडा यहाँ आउने दर्शकको रोजाइमा छ।

यस स्टलमा स्विटर, टोपीलगायतका सामग्री प्रदर्शनका लागि राखिएका छन्। अल्लोबाट निर्मित कपडा पनि राखिएको छ। ‘महिलाहरूले निर्माण गरेर बनाएका कपडा राखेका छौं,’ ती उद्योग सञ्चालक निमा पुनले भनिन्, ‘स्थानीय उत्पादनलाई दर्शकले मन पराइदिँदा अझ बढी हौसला प्रदान भएको छ।’

सीप भए पनि कतिपय महिला उद्योगतर्फ आउन नसकेको भन्दै उनले भनिन्, ‘महिला सिपका खानी हुन्, त्यसैले उनीहरूको सिपलाई बजारीकरणसँगै व्यावसायिक बनाउन जरुरी छ।’ महिलालाई आत्मनिर्भर बनाउन पनि उनीहरूको सिप पहिचान गरी व्यावसायिक बनाउनु आवश्यक रहेको उनले बताइन्।  

प्रयोगविहीन (खेर गएका) सिसाका बोतलबाट दिव्या टन्डन र बिनी टन्डनले बनाएका स्विट होम डेकोरका सामग्रीले महिलाको सीपलाई थप प्रस्फुटन गरेको छ। उनीहरूले कलात्मक ढंगले आफ्ना सामग्रीलाई सिँगारेर प्रदर्शनीमा राखेका छन्।

‘तालिमपश्चात् होम डेकोरका सामग्री बनाउन लागेको छु’, उनले भनिन्, ‘बजारमा पाइने आयातितभन्दा हामीले बनाएका सामान बलियो र सुन्दर भएकाले अवलोकनकर्ताको रोजाइमा परेका छन्।’ यसबाट राम्रो आम्दानी हुने उनको भनाइ छ। सो मेलामा महिलाहरूले घर सजावट, परिकार, लत्ताकपडासँगै पहिरन, शृंगारलगायतका सामग्री राखेका छन्।  

हरेक पालिकामा महिला उद्यमी ग्राम निर्माण गर्नुपर्ने महिला उद्यमी महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले बताइन्। स्थानीय सरकारले महिला उद्यमी ग्राम निर्माण गरे महिलाहरू थप व्यावसायिक बन्न सहयोग पुग्ने उनको भनाइ छ।

‘महिलाहरू अहिले आर्थिकोपार्जनका लागि सिपमा केन्द्रित छन्,’ उनले नागरिकसँग भनिन्, ‘विदेश गएर पसिना बगाउनु भन्दा थोरै लगानीमा स्वदेशमै मनग्गे आम्दानी गर्न सकिन्छ।’  

स्थानीय उत्पादन र महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सो प्रदर्शनी गरिएको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीकी संयोजक रेवती सिंहले बताइन्। 

यस्ता खालका प्रदर्शनीले महिलालाई उद्यमतर्फ थप आकर्षित गर्ने बताउँदै उनले भनिन्, ‘महिलाले उत्पादन गरेका सामान बजारीकरण गर्न सहयोग पुर्‍याउने र महिलालाई आर्थिकरूपमा सक्षम बनाउने पनि हो ।’ पुस २४ देखि सुरु भएको सो प्रदर्शनी यही २८ गतेसम्म सञ्चालन हुनेछ। यहाँ ६५ भन्दा बढी स्टल छन्।

प्रकाशित: २९ पुस २०८० ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App