७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

काठमाडौं – नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ।
यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ।

‘क्यान्सरको औषधि उत्पादन किन नेपालमै गर्न खोजिएको हो भनेर प्रश्न गरेका थियौं,’ उद्योग विभागका निर्देशक खगेन्द्र बस्नेतले भने, ‘नेपालमा क्यान्सर प्रतिरोधी औषधिको माग उच्च रहेको जवाफ भारतीय लगानीकर्ताबाट पायौं।’

विभागबाट गत वर्ष डिसेम्बर तेस्रो हप्ता कम्पनीलाई दिएको लगानी अनुमतिमा ३५ करोड ११ लाख रुपैयाँ लगानीबाट वार्षिक एक लाख ५० हजार बक्सका दरले कुल चार लाख बक्स क्यान्सरप्रतिरोधी ट्याब्लेट र क्याप्सुल उत्पादन गर्ने उल्लेख छ।
‘उनीहरुको भनाइमा हालको मागअनुसार क्यान्सरका लागि प्रयोग हुने औषधि उत्पादन गर्न आर्थिक हिसाबले नेपालमा सम्भव छ,’ बस्नेतले भने, ‘सामाजिक हिसाबले यो औषधिको खपत बढ्दै जानु नेपालका लागि दुःखद् खबर भए पनि लगानी आउनु सकारात्मक पक्ष हो ।’ कम्पनीले ८८ जनालाई प्रत्यक्ष रोजगारी दिने बताएको छ।

स्वदेशी औषधि उत्पादकहरुले भने क्यान्सर प्रतिरोधी औषधि उत्पादन स्वदेशी मागका लागि मात्र हुन नसक्ने आशंका व्यक्त गरेका छन् । भारतीय कम्पनीले निर्यात गर्ने लक्ष्यका साथ लगानी गर्न लागेको हुन सक्ने उनीहरुको भनाइ छ।

नेपालमा मुटु, मिर्गौलालगायत घातक रोगका औषधि उत्पादन हुँदैन । विभागका अनुसार वार्षिक साढे १६ अर्ब रुपैयाँ बराबरको औषधि स्वदेशमा उत्पादन हुन्छ । यो कुल खपतको ४६ प्रतिशत हो । १९ अर्ब ४५ करोड रुपैयाँ बराबरको औषधि आयात हुन्छ, जसमा ५२ प्रतिशत भारतबाट हुने आयातले ओगट्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा.अन्जनीकुमार झाका अनुसार पछिल्लो समय नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेको छ । क्यान्सर अस्पताल र अन्य अस्पतालहरुमा यसको उपचार सेवा उपलब्ध छ।

अचेल गरीब र आदिवासी समुदायका क्यान्सर बिरामीलाई सरकारले उपचारका लागि एक लाख रुपैयाँ अनुदान दिन्छ । देउराली जनता फार्मस्युटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्माले क्यान्सरको औषधि उत्पादनमा विदेशी लगानीको स्वागत गरे । तर, विश्वमा त्यस्ता औषधिहरु व्यापकरुपमा नियन्त्रित भएकोले नेपालबाट तिनको स्वतन्त्र प्रवाहको सम्भावना नहुने हुँदा नेपाली उत्पादकले तत्कालै त्यस्तो उद्योग स्थापना गर्न सम्भव नभएको तीतो यथार्थ रहेको उनले बताए।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App