१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

धनगढीका सडकमा साइकल लेन

सानादेखि ठूला सवारीसाधनको ओहोरदोहोरले व्यस्त सडकमा साइकल यात्रा गाह्रो मात्र नभई जोखिमयुक्त हुने गर्छ। तर धनगढीको ६ लेन सडकमा अब साइकल यात्रीले व्यस्त सडकको बिचबाट साइकल कुदाउनुपर्ने छैन।

साइकल यात्रीका समस्यालाई ध्यानमा राख्दै धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ। शनिबारदेखि ६ लेन सडकमा साइकल लेन सञ्चालन भएको हो। शनिबार बिहान धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले हरियो झन्डा देखाएर उद्घाटन गरेपछि नगर प्रमुख गोपाल हमाललगायतले साइकल लेनमा साइकल चलाएका थिए।

धनगढी उपमहानगर क्षेत्रभित्र पर्ने कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा उपमहानगरले साइकल लेन निर्माण गरेको हो। गेटादेखि अत्तरियासम्मको ६ लेन सडक गोदावरी नगरपालिकाभित्र पर्छ।

धनगढी उपमहानगरले ठेक्का आह्वान गरेर कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म ७.१४ किलोमिटर दायाँ र ७.१४ किलोमिटर बायाँ सडकका दुवैतिर साइकल लेन निर्माण गरेको हो। ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँ लागतमा साइकल लेन निर्माण गरिएको जनाइएको छ।

‘व्यस्त सडकमा साइकल चलाउने ठाउँ हुँदैन, साइकल यात्रीको पनि सडकमा हक छ भनेर उनीहरूका लागि छुट्टै लेन निर्माण गरेर ठाउँ दिएका हौं’, नगर प्रमुख हमालले भने। 

छुट्टै साइकल लेन बनाउँदा साइकल यात्रीको सम्मान हुनुका साथै दुर्घटना पनि कम हुने उनको भनाइ छ। पर्यावरण, सडक सुरक्षा र साइकल यात्रीको सम्मानका लागि ६ लेन निर्माण गरिएको र क्रमिक रूपमा अन्य सडकमा पनि साइकल लेन बनाउँदै लगिने उनले बताए।

छुट्टै साइकल लेन बनाएपछि स्थानीय खुसी भएका छन्। ‘साइकल चलाउन सडकमा ठाउँ मिल्दैनथ्यो, ठूला गाडीबाट जोगिएर साइकलमा यात्रा गर्न धेरै जोखिम थियो’, स्थानीय पुष्पा शर्माले भनिन्, ‘धनगढी उपमहानगरपालिकाले छुट्टै साइकल लेन बनाएर धेरै राम्रो गरेको छ।’

प्रकाशित: २१ पुस २०८० १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App