ताप्लेजुङको पाथिभरा मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ। पाथिभरा क्षेत्र विकास समितिले शुक्रबार ९८ तोला सुन तथा ९२ किलो चाँदी रिफाइन गर्न थालिएको जानकारी दिएको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ९८ तोला ४१ लाल सुन तथा ९२ किलो ६ सय ५० ग्राम चाँदी रिफाइन गर्न थालिएको हो। ८६ तोला ९० लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको समितिले गत बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।
पाथिभरा सुन चाँदी कला व्यवसायी संघको संयोजनामा स्थानीय सुनचाँदी व्यवसायीमार्फत सुन तथा चाँदीलाई रिफाइन गर्न थालिएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका अध्यक्ष रक्की थेबेले रिफाइन गरिएका सुन चाँदीलाई समितिको निर्णयअनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिए।
समितिले शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ। संकलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा रिफाइन गर्ने गर्दै आएको छ।
पाथिभरा मन्दिरबाट संकलित ६ हजार पाँच सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समेत पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ।
प्रकाशित: २० पुस २०८० ०५:४१ शुक्रबार