७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कोभेन्ट्री नेपाली समाज युकेद्वारा भूकम्प पीडितलाई सहयोग

नेपालमा जन्मेर बेलायतको कोभेन्ट्रीलाई कर्म थलो बनाएका नेपालीहरूले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई विभिन्न सामग्री प्रदान गरेका छन्।

कोभेन्ट्री नेपाली समाज युकेले भूकम्पमा परेर घरबारविहीन भएका करिब तीन सय जनालाई ब्लांकेट, विद्यार्थीलाई स्विटर, झोला, पत्रकारलाई ज्याकेट लगायतका सामग्री प्रदान गरेको हो।

भूकम्पले घर भत्किएर पाल तथा छाप्रोमा रात बिताइरहेका भेरी नगरपालिकाका पीडितलाई न्यानोका लागि ब्लांकेट उपलब्ध गराइएको छ। जाजरकोटका प्रदेश सांसद राजिव विक्रम शाहले कोभेन्ट्री नेपाली समाज युकेले पठाएका ब्लांकेट पीडित परिवारलाई हस्तान्तरण गरेका थिए।

आफ्नो जन्मभूमिमा दुःख परेको बेला विदेशमा बस्ने नेपालीसँग सहयोग संकलन गरेर राहत सामग्री पठाएको कोभेन्ट्री नेपाली समाज युकेका अध्यक्ष सन्तोष पौडेलले बताए।

अधिकांश राहात सामग्री राजमार्ग आसपास र सदरमुकाम नजिक वितरण गरिरहेको अवस्थामा दुर्गमक्षेत्रमा आएर राहात वितरण गरेको भन्दै भेरी नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष कालीबहादुर ओलीले धन्यवाद दिए।

 चिसोको समयमा पालमा बसिरहेका पीडितलाई सहयोग पुगोस् भनेर ब्लांकेट, स्विटर लगायतका सामग्री प्रदान गरेको कोभेन्ट्री नेपाली समाज युकेका सचिव बाबुराम भुसालले बताए।

विद्यार्थीहरू एकसरो कपडा लगाएर पालमुनी बसिरहेको अवस्थामा विजय प्रावि भेरी नगरपालिका जाजरकोटका ६५ विद्यार्थीलाई स्विटर प्रदान गरिएको छ। जाडोमा स्विटरले विद्यार्थीलाई चिसोबाट बच्न सघाउ पुग्ने विजय प्रावि जाजरकोटकी प्रधानाध्यापक शोभा सिंहले बताइन्।

जाजरकोटकै त्रिभुवन उच्च माविमा अध्ययनरत भूकम्प पीडित विद्यार्थीलाई ६५ थान झोला वितरण गरिएको छ।

त्यसैगरी, सञ्चारको माध्यमबाट योगदान पुर्‍याएका जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडित ५० पत्रकारलाई कोभेन्ट्री नेपाली समाज युकेको सहयोगमा न्यायो ज्याकेट प्रदान गरिएको छ।

प्रकाशित: १५ पुस २०८० ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App