१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा

पोखरा घुम्न आएका विदेशी पर्यटक। फाइल तस्बिरः उमेश पुन/नागरिक

सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र सन् २०१९ पछि पहिलो पटक यो आकारमा उक्लेको हो।  

बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको बताए। ‘डिसेम्बरको अझै केहीदिन बाँकी छ । तर, तीनदिन अघि नै सरकारी लक्ष्य पुरा भएको छ। सन् २०१९ पछिको यो नै सबैभन्दा बढी आगमन हो,’ लामिछानले भने, ‘यसले पर्यटन क्षेत्रमा उत्साह थपेको छ।’

कोरोना संक्रमणले गर्दा अघिल्ला वर्षसम्म विदेशी पाहुनाको आगमनमा प्रभाव परेको थियो। यसअघि सबैभन्दा बढी सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। २०२२ मा यो आकार ६ लाख १४ हजार १ सय ४८ थियो। सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०२० मा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या २ लाख ३० हजार ८५ थियो।

‘कोरोनाले सिथिल बनाएको पर्यटन क्षेत्र छोटो समयमै रिकभर भएको छ। अझै राम्रोसँग बजारीकरण गर्न पाएको भए यो वर्ष आगमन अझै केही बढ्ने थियो,’ लामिछानेले भने। लामिछानेका अनुसार पछिल्ला केही महिना बजारीकरण सुस्त भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भौतिक उपस्थितिमै बजारीकरण गर्न नपाउँदा आगमन अझै बढाउने अवसर गुमेको उनले सुनाए।

‘सहजै र भौतिक उपस्थितिमै बजारीकरण गर्न पाएको भए लक्ष्य भन्दा अझै ३ प्रतिशत पाहुना थपिन्थे,’ उनले भने, ‘तर, नयाँ आर्थिक वर्षपछि भौतिक उपस्थितिमा बजारीकरण नभएको हो। अनलाइनमार्फत मात्रै बजारीकरण भयो।’ अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धि बोर्डको कार्यविधि स्वीकृत नहुँदा भौतिक उपस्थितिमा बजारीकरण हुन नसकेको उनले बताए।  

पोखरा र भैरहवामा संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएको भए यो वर्षको आगमन आकार झनै माथि उक्लिने अवस्था रहेको उनले बताए। ‘अन्तर्राष्ट्रियस्तरमा भएका केही द्वन्द्वका कारण पनि पर्यटन क्षेत्र प्रभावित नभएको होईन, तर, यो वर्ष सरकारले राखेको लक्ष्य पुरा भएको छ,’ उनले भने, ‘भारतीय र चिनियाँ पर्यटक भिœयाउने गरिने केही गतिविधि भएका पनि हुन्। तर, सबैतिर सोचे अनुसार बजारीकरण भएन। तर, अनलाईनमार्फत गरिएको बजारीकरणले पनि सरकारी लक्ष्य पुरा भएको छ।’

यो वर्ष सबैभन्दा बढी भारतीय पाहुना आएको उनले बताए। उनका अनुसार सन् २०२३ मा नेपाल भित्रिएका मध्ये सबैभन्दा बढी ३० प्रतिशत हिस्सा भारतीय पाहुनाको थियो । खासमा भारतीय पाहुनाको नेपाल भित्रिने आकार २० प्रतिशत हाराहारीमा भएपनि यो वर्ष भारतीय आगमन निकै नै बढेको पनि उनले बताए।  

उनका अनुसार सन् २०१९ मा नेपाल भित्रिएका भारतीय पाहुनाको संख्या २ लाख ५४ हजार थियो, तर, अहिले ३ लाख भन्दा नाघिसकेको छ। त्यस्तै २०१९ मा अमेरिकन पर्यटकको संख्या ९३ हजार थियो, तर, यो वर्ष एकलाख हाराहारीमा भित्रिएका छन्।  ‘अमेरिकन, चिनियाँ लगायतका मुलुकबाट पनि पाहुनाको आगमन बढेको छ,’ उनले भने, ‘सबैजसो मुलुकबाट पाहुना आगमन थपिँदा सरकारी लक्ष्य पुरा गर्न सहज भएको हो। त्यसबाहेक हवाई सञ्जाल बिस्तारले पनि पाहुना भित्रिन सघाएको छ।  

प्रकाशित: ११ पुस २०८० ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App