२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

एसियाली विकास बैङ्कद्वारा सहरी पूर्वाधारको लागि २२ अर्बको आर्थिक प्याकेज स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा जलवायुमैत्री र प्रकोप प्रतिरोधी सहरी पूर्वाधार निर्माण गर्नका लागि २१ अर्ब ९२ करोड रुपैयाँ (१६ करोड ६० लाख अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ।

एडिबीले दिगो पर्यटन प्रवर्द्धन र स्थानीय बासिन्दाहरूको गुणस्तरीय जीवनयापनलाई सहज गराउनको लागि भन्दै झण्डै २२ अर्ब रुपैयाँ बराबरको आर्थिक प्याकेज  नेपालका लागि स्वीकृत गरेको हो।

एडिबीले सो आर्थिक प्याकेज अन्तर्गतको रकम सहरी क्षेत्रको जीवनयापन सुधार लगायतका परियोजनामा खर्चिन सकिने जनाएको छ। सो परियोजना अन्तर्गत देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना,सिद्धार्थनगर,तिलोत्तमा नगरपालिका, जनकपुर उपमहानगरपालिका, पोखरा महानगरपालिका लगायतका सहरी क्षेत्रमा जलवायुमैत्री संरचना र प्रकोपसँग जुध्ने खालका संरचना निर्माण गरिने भएको छ।

एडिबीले यो परियोजना अन्तर्गत १५० किलोमिटर लामो पानी निकास गर्ने ढल निर्माण गर्नेछ। त्यसैगरी एक सय किलोमिटर सडक पुनर्निर्माण गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी ४५ किलोमिटर फुटपाथ बालबालिका, महिला र अपाङ्गमैत्री  तयार पार्ने योजना रहेको छ। यसको साथसाथै साइकल लेनले पनि हिँडडुल गर्नका लागि सहज वातावरण तयार पर्नेछ।

एडिबीका वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले सहरी क्षेत्रमा निर्माण गरिने परियोजना निर्माणले सहरी क्षेत्रमा आधारभूत सेवा प्रवाह गर्नका लागि धेरै प्रभावकारी हुने बताए। ‘यो परियोजनाले शहरी कोरिडोरहरूमा योजना र लगानी सुधार गर्न र दिगो आर्थिक वृद्धिलाई ड्राइभ गर्न सरकारको हालको राष्ट्रिय शहरी विकास रणनीतिलाई समर्थन गर्दछ।

यसले नगरपालिका प्रशासनलाई सुदृढ गर्न र आधारभूत सेवा प्रवाहमा सुधार गर्न नेपालसँग एडिबीको दीर्घकालीन संलग्नतालाई पनि जारी राखेको छ,’ सहरी विकास विज्ञ शर्माले भने ‘एडिबीको सहयोगले सम्बन्धित नगरपालिकाहरूलाई जलवायु अनुकूल शहरी पूर्वाधारको डिजाइन गर्न, पर्यटन सम्भावनाको विकास गर्न र उनीहरूको पूर्ण आर्थिक क्षमता र दिगो वृद्धि हासिल गर्न संस्थागत क्षमतालाई बलियो बनाउन मद्दत गर्नेछ,’ एडिबीले आयोजनाले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउन पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए।

एडिबीले यसले प्रत्येक परियोजना नगरपालिकामा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदा क्षेत्रलाई सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ।

त्यसैगरी सहरी क्षेत्रमा निर्माण गरिने पूर्वाधारले महिला तथा पिछडिएका समूहहरूको पहुँच र सामाजिक आर्थिक लाभका अवसरहरू बढाउन लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई थप सहज र प्रभावकारी सुविधा उपलब्ध गराउन सहयोग पुग्ने आशा गरिएको छ।

एडिबीका अनुसार यसले जैविक विविधता संरक्षण प्रवर्द्धन र सिद्धार्थनगर डाँडा नदी करिडोर लगायत हरियाली पार्क र खुला ठाउँहरू सहित सार्वजनिक क्षेत्रको सौन्दर्यकरण गर्नेछ। एडिबीको आर्थिक प्याकेजमा एसियाली विकास कोषबाट ६ मिलियन डलर अनुदान समेत समावेश गरिएको छ।

प्रकाशित: २८ मंसिर २०८० ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App