१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

लचिलो मौद्रिक नीतिले नेप्सेमा सर्किट ब्रेकर

१११ अङ्कले नेप्सेमा उछाल

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

राष्ट्र बैङ्कले सेयर बजार सम्बन्धी लचिलो नीतिगत व्यवस्था गरेसँगै आइतबार नेप्से परिसूचकमा तीन पटकसम्म सकारात्मक सर्किट ब्रेकर लागेर सेयर कारोबार निर्धारित समयभन्दा साढे दुई घण्टा अगावै सेयर कारोबार बन्द भएको छ। सामान्यतया सेयर कारोबार बिहान ११ बजेदेखि ३ बजेसम्म हुने गर्छ।

यस अघि अहिले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको सीमा १५० प्रतिशत र ५० लाखभन्दा कमको एक सय  प्रतिशत जोखिम भार रहेको थियो। तर, राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत ५० लाखभन्दा बढीको कर्जाको जोखिम भार १२५ प्रतिशत जोखिम भार कायम गरेको छ। नेप्से परिसूचक आइतबार कारोबार  ६ प्रतिशत अर्थात १११ अङ्कले बढेर उछाल आएको छ।

आइतबार नेप्से परिसूचक १११.२० अङ्कले बढेर १९६३.९८ विन्दुमा पुगेको छ। कारोबार खुलेको छोटो समयमा नै ६ प्रतिशतले नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार बन्द भएको हो। आइतबार एक करोड ३६ लाख  ७ हजार ६ सय १५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ४८ लाख २ हजार २ सय ३९ रुपैयाँको सेयर कारोबार भयो। आइतबार २२७ कम्पनीको सेयर बढ्यो भने २ कम्पनीको  सेयर घट्यो। एक कम्पनीको सेयर स्थिर रह्यो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेन्सेटिभ सूचक २१.४६ अङ्कले बढ्यो। त्यसैगरी फ्लोट सूचक ७.८६ अंक र सेन्सेटिभ फ्लोट सूचक ७.४६ अङ्कले बढ्यो। नेप्सेका १३ उपसूचक मध्ये आइतबार १३ वटै उपसूचक बढ्यो। सबैभन्दा धेरै बढ्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक ५५३.३५ अङ्कले बढ्यो। त्यसैगरी निर्जीवनबीमातर्फको सेयर पनि ५२७.५४ अङ्कले बढ्यो। होटेल तथा पर्यटनतर्फको उपसूचक पनि ३३७.१९ अङ्कले बढ्यो भने विकास बैङ्कतर्फको उपसूचक पनि २३८.७१ अङ्कले बढ्यो। माइक्रोफाइनान्सतर्फको उपसूचक पनि १८४.१७ अङ्कले बढ्यो।

आइतबार ५ वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। १० प्रतिशतको दरले बढ्ने कम्पनीमा रिलान्यस फाइनान्स कम्पनी, जोशी हाइड्रोपावर कम्पनी,राप्ती हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्सन कम्पनी, सुभम पावर कम्पनी कालीञ्चोक दर्शन कम्पनी रह्यो। आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ रह्यो। सो कम्पनीको सेयर १.९७ प्रतिशतले घटेको छ। एनआईविएल ग्रोर्थ फण्डको सेयर पनि १.८५ अङ्कले घट्यो।

सेयरबजारमा यस्तो अवस्थामा सर्किट ब्रेकर सर्किट ब्रेकर लाग्ने गर्छ

धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ अनुसार निरन्तर कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचक निम्न तीन अवस्थामा सर्किट ब्रेकर लगाइने व्यवस्था छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ अनुसार निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र नेप्से परिसूचक तीन प्रतिशतले घटी वा बढी भएमा पन्ध्र मिनेटका लागि कारोबार स्थगन गर्ने गरिन्छ।  नियमावली अनुसार नै निरन्तर कारोबार सुरु भएको दुई घण्टा भित्र नेप्से परिसूचक चार प्रतिशतले घटी वा बढी भएमा तीस मिनेटका लागि कारोबार स्थगन गर्ने गरिन्छ।

नियमावली अनुसार  निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक पाँच प्रतिशतले घटी वा बढी भएमा सो पश्चात् सो दिनको कारोबार बन्द गर्ने गरिन्छ। आइतबार तीन पटक नै सर्किट लागेर ६ प्रतिशत बढेपछि सेयर कारोबार स्थगित भएको हो। ‘कुनै सङ्गठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितो पत्रको मूल्यमा दश प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुने छैन।

प्रकाशित: २४ मंसिर २०८० ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App