१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री रोजगार कार्यक्रम : जमुनाहरूको बाँच्ने आधार

प्रधानमन्त्री कार्यक्रम अन्तर्गत भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीको सडक सरसफाइमा जुटेका महिलाहरु।

भक्तपुरको सूर्य मढीकी जमुना दुवालको तीन जनाको परिवार छ, आफू र दुई छोराहरू।सात र १७ वर्षका दुई छोराहरू सानै उमेरका भएकाले दुवै जना स्कुलमा अध्ययनरत छन्। श्रीमानको भने चार वर्ष अगाडि नै मृत्यु भइसकेको छ। यस कारण उनको परिवारको आम्दानीको मुख्य आधार नै जमुना एक्लै हुन्।

 तर पनि उनको केही रोजगारी थिएन। सामान्य लेखपढ मात्रै गरेकी उनले कहीँ रोजगारी पाउने कुरा पनि भएन। त्यसो भएकोले छोराहरूको पढाई खर्चका लागि मात्रै होइन, विहान बेलुकीको छाक टार्नसमेत हम्मे हम्मे थियो उनको परिवारलाई। तर अहिले उनलाई अलि सहज भएको छ।किनकि उनले वर्षमा एक सय दिन भने पनि रोजगारी पाएकी छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत। प्रधानमन्त्री रोजगारी कार्यक्रम नै मेरो बाच्ने आधार भयो, उनले नागरिकसँग भनिन्, नभए हामी तीन जनाको परिवार भोक भोकै मर्नुपर्ने हुन्थ्यौँ। उनले अहिले भक्तपुर नगरपालिका वडा नं ८ अन्तर्गत वडामा मजदुरीको काम पाएकी छन्। यही काम उनको परिवारको लागि बाँच्ने आधार बन्यो। 

जमुना भन्दा खास फरक छैन, सोही वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने अर्की महिला सरस्वती गाइजूको पनि। उनको परिवारमा आफू, श्रीमान्, ससाना दुई छोरीहरू र एक छोरा गरी पाँंचजनाको परिवार छ। तर कमाउने कोही पनि छैनन्। श्रीमान् त छन् तर सामान्य लेखपढ मात्रै भएकाले रोजगारी छैन। दुई छोरी र एक छोरा स्कुल पढ्दै छन्। यही कारण उनको लागि पनि बाँच्ने आधार बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम। यसरी नै यही वडामा रहेका जमुना, सरस्वती, रविना बोहजू, लक्ष्मीश्वरी सैंजूजस्तै दस जना महिलाहरूको बाँच्ने आधार बनेको छ प्रधानमन्त्री रोजगारी कार्यक्रम।

यस वडामा जस्तै संघीय सरकारबाट सञ्चालित यो कार्यक्रम बेरोजगार, अति विपन्न र असहाय परिवारको जीवन उकास्नका लागि वरदान बनेको छ, जुन भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म सञ्चालित छन्। छाक टार्न निकै समस्या थियो, उनीहरूको सामूहिक भनाई थियो, यो कार्यक्रमको माध्यमबाट हामीलाई निकै सहज भयो। त्यसैको पैसाले दैनिक साँझ बिहान छाक टार्न निकै सहज भएको उनीहरूको भनाई हो। उनीहरु यो कार्यक्रम सय दिन मात्र नभई धेरै भए राम्रो हुने बताउँछन्।

नगरपालिकाले जनाए अनुसार प्रत्येक वर्ष बेरोजगारहरूको सूचीकृत गर्नका लागि निवेदन आह्वान हुने गर्दछ। र सूचीकृत सूचीमा रहेकाहरूलाई मापदण्डका आधारमा काम दिने गरिन्छ। त्यसपछि वडाले समस्या भएका परिवारका सदस्यहरूलाई रोजगारी दिने गरिन्छ। त्यस अनुसार नै केन्द्रबाट आएको बजेटका आधारमा लाभग्राही छनोट गरेर योजना निर्धारण गरेर काम अघि बढाइन्छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो चौडा गर्ने, मर्मत गर्ने, सरसफाई गर्ने लगायतका धेरै काम हुने गर्दछन्। यसले वडामा विकास पनि हुने र वडाको गुजारा चलाउन गाह्रो हुनेहरूले गुजारा पनि चलाउन पाइने गर्दछ।

रोजगार सेवा केन्द्र भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारी रामप्रसाद बोहजूका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकामा विभिन्न योजनाहरू सम्पन्न भइसकेका छन्। केही योजनाहरू सम्पन्न हुने क्रममा छन्। यी योजनाले नगरकै करिब ५१ जनालाई कुल पाँच हजार एक सय दिन रोजगारी उपलब्ध गराए बापत ज्याला र कार्यक्रम खर्चबापत ४१ लाख रुपैयाँ खर्च गरेको उनले जनाए। उनका अनुसार अधिकांश योजनाहरू सरसफाई तथा सम्पदा संरक्षणमै केन्द्रित छन्। यसबाट जीवित सङ्ग्रहालयलाई थप जीवन्तता दिन सहयोग पुगेको छ भने रोजगार कार्यक्रम गरिबको लागि गरिखाने कार्यक्रम बनेको छ।

प्रकाशित: १९ मंसिर २०८० १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App