१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुन्तलाले चल्दैछ किसानको रोजिरोटी

स्याङ्जाको गल्याङ नगरपालिका ७, सिरौंसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन्। मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौंसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो।

सुन्तला पकेट सञ्चालक समिति सिरौंसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौंसामा अघिल्लो वर्ष दुई करोड रुपैयाँको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए।

विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ। यहाँको सुन्तला पकेट क्षेत्रमा ६० कृषक छन्। यहाँ उत्पादित सुन्तला काठमाडौं, बुटवल, पोखरा, कावासोती, इटहरी, धादिङ, इनरुवामा निर्यात हुने गरेको छ।

कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा र बाली संरक्षण कार्यालय पोखराले सिरौंसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउविजनमा सहयोग गर्दै आएको छ। ती निकायले पक्की ट्यांकी, प्लास्टिक ट्यांकी, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन्। यहाँ सुन्तला आईपिएम पाठशालासमेत सञ्चालनमा छ।

यहाँका ९० प्रतिशत कृषकको मुख्य पेसा नै सुन्तला उत्पादन हो। ‘सिरौंसाका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ’, उनले भने, ‘यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवा विदेश छाडेर सुन्तला खेतीतर्फ लागेका छन्।’ 

उनले गल्याङ नगरपालिकाले सुन्तला उत्पादक कृषकलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुुनासो गरे। यहाँ उत्पादित सुन्तला एक क्विन्टल बराबरको सुन्तला सात हजार रुपैयाँसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ग्रेडिङका आधारमा प्रतिकिलो ५० देखि ८० रुपैयाँमा खरिद गर्ने गर्छन्।

‘सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्शलगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ छ’, भण्डारीले भने, ‘सिँचाइ अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइ सुविधा भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो।’ उनले जिल्लामै सिरौंसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको गुनासो गरे।

‘यहाँका कृषकले व्यक्तिगत रूपमा सुन्तला बिक्री गर्दै आएका छन्। बजारको एकरुपता छैन, जसका कारण धेरै किसान ठेकेदार र व्यापारीबाट ठगिँदै आएका छन्’, अध्यक्ष भण्डारीले भने, ‘सबै गाउँलेको घर खर्च सुन्तला बेचेरै चलेको छ। सुन्तला व्यवसायमा लाग्ने किसान उत्साहित छन्। सुन्तला बेचेको रकमले छोराछोरी पढाउन सहयोग पुर्‍याएको छ।’

अध्यक्ष भण्डारीले व्यक्तिगत रूपमा यस वर्ष २५ लाख रुपैयाँको सुन्तला उत्पादन गरेको दाबी गरे। ‘अघिल्लो वर्ष २२ लाख रुपैयाँको सुन्तला बिक्री गरेको थिएँ’, उनले भने, ‘यो वर्ष मौसम अनकूलताका कारण गाउँमै सुन्तला उत्पादन बढेको छ। आशा छ राम्रो मूल्य पाउने छौं।’ 

उनले स्यानीय बजार गल्याङमा सबैको सुन्तला एकैपटक पुग्दा बिक्रीमा समस्या हुने, किसानसँग सस्तोमा किनेर व्यापारीले महँगोमा बिक्री गरिदिने, उधारो लगेकाले समयमै रकम फिर्ता नगर्नेजस्ता समस्याबाट आफूहरू पीडित बनेको दुुखेसो पोखे।

सुन्तला पकेट सञ्चालक समिति सिरौंसाका सचिव हरिप्रसाद भण्डारीले सुन्तला उत्पादन अन्य खेतीभन्दा १९ गुना आम्दानी दिने व्यवसाय भएको दाबी गर्दै किसानको आवश्यकताका आधारमा सरकारको सहयोग प्राप्त भएमा देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण सहयोग पुुग्ने बताए।

उनको सुन्तला बगैँचामा ६ सय सुन्तलाका बोट छन्। तीमध्ये चार सय बोटले उत्पादन दिने गरेका छन्। उनले अघिल्लो वर्ष सुन्तला बेचेर आठ लाख रकम आम्दानी गरे भने यो वर्ष १२ लाखको सुन्तला बिक्री हुने अनुमान गरेका छन्। उनले पनि यस वर्ष सुन्तला उत्पादन राम्रो भएकाले कृषक थप खुसी छाएको बताए।

यस्तै सिरौंसाकै देवीप्रसाद भण्डारीले २० वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। उनले ४० वर्षअघि परम्परागत रूपमा सुन्तला लगाएका थिए। सुन्तला बिक्री हुँदै जान थालेपछि उनले सुन्तला खेतीलाई व्यावसायिक रुप दिएका हुन्।

अघिल्लो वर्ष १९ लाख रुपैयाँको सुन्तला बिक्री गरेका उनले यस वर्ष भने १७ लाखको मात्र सुन्तला बिक्री हुने अनुमान गरेका छन्। पुराना बोट मासेर नयाँ लगाएका कारणले यो वर्ष उनको बगैंंचामा सुन्तला उत्पादनमा गिरावट आएको कविराज भण्डारीले बताए। 

उनले काउली, बन्दा, अकबरे खुर्सानीलगायतका तरकारी बिक्री गरेर वार्षिक तीन लाख बिक्री गर्दै आउनुभएको दाबीसमेत गरे। देवीप्रसादको बगैंचामा तीन हजार नयाँ पुराना, फल लाग्ने नलाग्ने सुन्तलाका बोट छन्।

यसैगरी मिलिजुली सुन्तला पकेट सञ्चालक समितिका अध्यक्ष युवराज सापकोटाले ७० घरधुरीका किसानले एक करोड मूल्यबराबरको सुन्तला उत्पादन भएको दाबी गरे। उनले अघिल्लो वर्ष पनि ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको दाबी गरे। सापकोटाले बर्सेनि मनहरी र सिरौंसामा ठेकेदारले किसानलाई ठग्ने गरेको गुनासो गरे।

‘ठेकेदारसँग ठूलो परिणममा सुन्तला लैजाने सम्झौता हुन्छ। ठेकेदारले फलानो दिनमा आउँछु भनेर सुन्तला टिप्न लगाउँछन्। हामी सुन्तला टिप्छौं’, उनले भने, ‘आधा मात्र पैसा लिएर ठेकेदार आउँछ। सुन्तला नलैजा भनौं भने टिपिसकेको सुन्तला बिग्रने डर लैजाभन्दा ठगिने डर’, अध्यक्ष सापकोटाले सात वर्षको अवधिमा करिब १५ ठेकेदारले सुन्तलाको आधा पैसा मात्र तिरेर बेपत्ता भएको बताए।

प्रकाशित: १८ मंसिर २०८० ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App