१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलन गर्दै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ। 

आगामी २०८१ वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने गरी तयारी अघि बढाएको छ। नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रचार गर्न र विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि लगानी सम्मेलन गर्न लागिएको हो। 

सम्मेलन तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। समितिको सदस्य सचिवमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट रहेका छन्।

सम्मेलन तयारीको समन्वयको काम लगानी बोर्डले गर्ने भएको छ। त्यसैगरी, मुख्य समितिको संयोजकत्वमा समन्वयन समिति बनेको छ। लगानी बोर्डले सम्मेलनका लागि तयारी अघि बढाएको छ। सरकारले यसअघि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो। लगानी सम्मेलनमा विकास साझेदार, मित्र राष्ट्र, विदेशी लगानीकर्तालाई आमन्त्रण गरिनेछ।

अर्थमन्त्री महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए।

‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं,’ आइतबार अर्थमन्त्रालयमा निर्देशक समितिको पहिलो बैठकपछि मन्त्री महतले भने ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं।’

सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको मन्त्री महतले बताए। ‘सरकारले दुईपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ,’ महतले भने। लगानी सम्मेलनको तयारी स्वरूप आइतबार सरोकारवालासँग छलफल भएको छ। निर्देशक समितिको पहिलो बैठकमा पर्यटन मन्त्री सुदन किराँतीले ऐन कानुन र काम गर्ने शैली नै बाधक भएको बताए।

सम्मेलनको तयारीको समय निकै कम भएकाले रातदिन खटेर काम गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताए। सरकारले दिने सुविधाबारे बढी तयारी गर्नुपर्ने वाणिज्य सचिव नारायण दुवाडीले जोड दिए।

लगानी बोर्डका पूर्वअध्यक्ष राधेश पन्तले सम्मेलन रिजल्ट ओरियन्टेड हुनुपर्नेमा जोड दिए। तत्काल १० वटा समस्या समाधान गर्न, लगानी बोर्डलाई बलियो बनाउन, स्थायी कर्मचारीको व्यवस्था गर्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलन गर्नुभन्दा अगाडि पहिला सानो सम्मेलन गर्न आग्रह गरे। उनले नेपालमा बिप्पाबारे विदेशी लगानीकर्ताको चासो र मध्यपूर्वलाई प्राथमिकतामा नराखेकाले त्यसतर्फ चासो दिन आग्रह गरे।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका वाचाहरू पूरा नभएको बताए। नेपाल चेम्बर अफ कमर्श उपाध्यक्ष कमलेश अग्रवालले के–के गर्न सक्छौं त्यो पनि तयारी गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक स्रोतलाई सदुपयोग गर्नेतर्फ केन्द्रित हुन जोड दिए।

प्रकाशित: १० मंसिर २०८० ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App