१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘ई ड्राइभ नेपाल’ एप सञ्चालनमा

नेपालमा विद्युतीय सवारी साधनलाई लक्षित गरी राइड सेयरिङ एप ई ड्राइभ नेपाल सञ्चालन गरिएको छ। इड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रूपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट शुक्रबारदेखि सेवा शुभारम्भ गरेको हो। अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओटिपी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकाले ई ड्राइभ नेपाल एपमा सेवाग्राहीको आकर्षण हुने दाबी कम्पनीले गरेको छ।

प्रतिनिधिसभाका सांसद महेश बर्तौला, बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईं र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार संयुक्त रूपमा ई ड्राइभ एप र ट्याक्सी सेवाको उद्घाटन गरेका हुन्।

सांसद बर्तौलाले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगले नेपालको विद्युत्को खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रूपैयाँ विदेसिनबाट जोगिने बताए।

राष्ट्रिय सभागृहमा उद्घाटन गरेसँगै ५२ वटा नयाँ इलेक्ट्रिक ट्याक्सीले टुँडिखेलको परिक्रमा समेत गरिएको थियो। कम्पनी आफैंले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।

साथै इ ड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशः जोडिँदै जाने कम्पनीले जनाएको छ। ‘सेवाग्राहीलाई सुविधासहित सुरक्षित रूपमा गन्तव्यमा पु‍र्‍याउनु ई ड्राइभ नेपालको उद्देश्य हो। साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशी विदेसिनबाट जोगाउनु ई ड्राइभ नेपालको अभियान हुनेछ’, ई ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने। ई ड्राइभ एपको भाडा अन्य सवारी सेवाभन्दा सस्तो र निकै सुरक्षित रहेको दाबी कम्पनीको छ।

ई ड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ। जसले सेवाग्राही र चालकबीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ। त्यसैगरी ई ड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बिमा सुविधा प्राप्त गर्नेछन्। त्यस्तै ई ट्याक्सीमा जिपिएस जडान गरिएको छ। सवारी साधनको सम्पूर्ण नियन्त्रण इ ड्राइभ कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क सघाउनेछ।

त्यस्तै कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ स्थापना गरेको छ। जसमा पार्किङ लटसहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरूलाई विस्थापित गर्दै ई ट्याक्सीलाई सरकारले बढावा दिनुपर्ने बताए।

प्रकाशित: २६ कार्तिक २०८० ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App