१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पहिलोपटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’

१३ सय माला र २ क्विन्टल खुद्रा फूल

नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्। कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाएका हुन्। 

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरेको किसान गोविन्द बास्तोलाले जानकारी दिए। ‘हामीले आठ सय सयपत्री र पाँच सय मखमली फूलका माला पठाएका छौँ। खुद्रा सयपत्री फूल दुई क्विन्टल निर्यात गरेका छौँ,’ बास्तोलाले भने ‘चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलो पटक हो।’ उनका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ। उनले अन्य देशबाट पनि फूलको माग आएको बताए।

‘अहिले हङकङ निर्यात गरेका छौँ’ उनले भने ‘बिस्तारै अन्य देशमा पनि निर्यात गर्छाै।’ विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए। ‘हामीले गतबर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ। माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ,’ उनले भने ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ।’

नेपालमा सयपत्री फूलको खपत नभएर उनीहरूले विदेश निर्यात गरेका हैनन्। सरकारले फूल खेती प्रवर्द्धनका लागि दबाब दिन विदेश पठाउन लागिएको उनले बताए। तीन भाइले तिहार लक्षित सयपत्री फुल तीन बिघामा खेती गरेका छन्। बाह्र हजार माला र आठ क्विन्टल खुद्रा फूल उत्पादन हुने उनीहरूको अनुमान छ। यसबाट १५ लाख आम्दानी हुने अमितले बताए। अन्य बालीभन्दा फूल खेतीबाट राम्रो आम्दानी हुने उनले बताए। 

‘अन्यखेतीमा उत्पादन र लागत एउटै हुन आउँछ,’ उनले भने ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ।’ उनीहरूले फूल खेती गर्न थालेको चार बर्ष भयो। कोरोना महामारीबाट फूल खेती थालेका तीन दाजुभाइले अर्कैको जग्गा भाडामा लिएर खेती गरेका हुन्। कलकत्तादेखि एक लाखको बीउ ल्याएर उनीहरूले तीन बिगाहामा खेती गरेका छन्।

सयपत्रीका दुई जात टेनिस बल र कलकट्टे फूल हङकङ निर्यात गरिएको छ। कार्तिक २४ गते राति काठमाडौँबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए। हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए। 

‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु। सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ,’ उनले भने ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिंगापुर मलेसिया, दुबई कतारबाट समेत माग आएको छ।’ उनले नेपाली फूल विदेश लैजाँदा फाइदा नहुने बताए। उनले किसानलाई प्रोत्साहन गर्नका लागि निर्यात गर्न लागेको बताए। 

यहाँबाट आइस बक्समा प्रिकुलिङ गरेर जहाज मार्फत फूल विदेश पठाउने उनले बताए। चितवनमा यस वर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढी छन्। कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए।

‘गत आर्थिक वर्षदेखि फूल खेती प्रवर्द्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ। एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहिछ हामीले ५० प्रतिशत अनुदान दिएका छौँ,’ उनले भने ‘यसबर्ष सात बिगाहा क्षेत्रफलको बिरुवामा ५० प्रतिशत अनुदान दिएका छौँ।’ अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए।

उनका अनुसार कालिका नगरपालिकामा नौ बिगाहा क्षेत्रफलमा फूल खेती गरिएको छ। चितवनमा ५० बिघामा फूल खेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने किसान करिब १०० जनाको हाराहारीमा छन्।

प्रकाशित: २४ कार्तिक २०८० ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App