१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तिहारमा पर्यटकलाई स्वागत गर्न तयार 'सौराहा'

पर्यटकीय नगरी चितवनको सौराहा पर्यटकलाई स्वागत गर्न तयार छ। चाडवाडको बेला होस् या फुर्सदको समय निकालेर घुम्न मन पराउनेहरूका लागि सौराहा राम्रो गन्तव्य मानिन्छ। पर्यटकलाई ध्यानमा राखेर चितवन राष्ट्रिय निकुञ्ज तिहारको समया पनि खुल्ला रहने भएको छ।  

निकुञ्ज घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै तिहारको दिनमा नियमित जस्तै खुल्ला राखिने चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। ‘अघिल्ला वर्ष पनि तिहारको दिनमा पर्यटकीय गतिविधि सुचारु गरेका थियौँ। अहिले पनि गछौँ,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने ‘चाडपर्व त झन् पर्यटक आउने समय हो।’  

निकुञ्ज प्रवेशको टिकट काट्न कर्मचारी तयारी अवस्थामा नै रहेको उनले जानकारी दिए। तिहारको दिनमा पनि निकुञ्ज भित्र हात्ती, जीप र डुङ्गा सफारी गर्न सकिने उनले बताए। उनका अनुसार, निकुञ्ज भित्र चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना समेत बनाइएको छ।  

‘चाडपर्वमा विभिन्न गतिविधिहरु हुने सम्भावना हुन्छ। यो बेला विशेष हाइअलट भएर बस्नुपर्ने हुन्छ,’ उनले भने, ‘नदी तथा पैदलबाट गस्ती बढाउँदै लगेका छौँ।’ निकुञ्जको ६७ सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा विशेष गरी हात्ती तथा जिप सफारीबाट वन्यजन्तु हेर्न बढी पर्यटक आउने गर्दछन्। यहाँ सौराहा, पर्साढाप, मेघौली, माडी, कुजौली, अमलटाँडी सुखीबारबाट जीप सफारी हुने गर्दछ। यी सबै स्थानमा खुल्ला बिहानदेखि बेलुकासम्म खुल्ला नै रहने बताइएको छ।  

सौराहाका होटल व्यवसायीले पनि तिहार लक्षित छुट्का प्याकेज ल्याएका छन्। उनीहरुले २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए। ‘संघको तर्फबाट छुट्को व्यवस्था ल्याएका छैनौँ। व्यवसायीले आफ्नो व्यवसाय प्रर्वद्धनका गर्न २५ प्रतिशतसम्म डिस्काउटका प्याकेज ल्याउनुभएको छ,’ उनले भने ‘टिकाको दिनमा पनि होटल सञ्चालन हुनेछन् ।’ सौराहामा यतिबेला पर्यटकको संख्यासमेत बढ्दै गएको उनले बताए।

सौराहामा यतिवेला ६५ प्रतिशत पर्यटक आएका छन्। ‘सौराहाको पर्यटक राख्ने क्षमता सात हजारको हो। अहिले पाँच हजारको हाराहारीमा पर्यटक छन्,’ क्षेत्रीय होटल संघ सौराहा निवर्तमान अध्यक्ष दिपक भट्टराईले भने ‘आएका मध्ये ८० प्रतिशत होटलमा नै बस्छन्।’ यतिखेर युरोप, चाइना, भारतका पर्यटक सौराहामा बढी छन्।  

सौराहामा दशैँको बिदामा पनि पर्यटकको संख्या अत्याधिक थियो। दसैँको बिदाको १५ दिनको बिचमा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए। भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको थियो।  

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सख्या बढेपछि हात्ती, जीप र डुङ्गा सफारी चलायमान भएका छन्। चितनव राष्ट्रिय निकुञ्जमा पर्यटकहरु एक सिंगे गैँडा, घडियाल गोही, बाघ, भालु, जरायो, हात्ती, लगायतका जंगली जरायो तथा चराचुरुङ्गी हेर्न आउने गर्दछन्।  

प्रकाशित: २३ कार्तिक २०८० ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App