१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायमा सुधार नआए पनि पर्यटक आगमनमा नयाँ रेकर्ड

फाइल तस्बिर

पछिल्लो समय मुलुकमा पर्यटकका आगमनमा उल्लेख्य वृद्धि भइरहेको छ। मुलुकमा पर्यटन आगमनको उल्लेख्य वृद्धिसँगै अक्टोबर महिनामा पर्यटक आगमनको संख्याले नयाँ रेकर्ड राखेको छ। सन् २०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या इतिहासमै सबैभन्दा धेरै हो।

पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए। सन् २०१९ अक्टोबर महिनामा रेकर्डलाई यस वर्षको अक्टोबर महिनामा मुलुक भित्रिएका पर्यटकको संख्याले तोडेको छ।

पर्यटक आउने उच्च महिना भएको र यसै महिना अन्तर्राष्ट्रिय सम्मेलन पनि भएकोले उल्लेख्य मात्रामा मुलुकमा पर्यटक भित्रिएको बोर्डका निर्देशक मनिराज लामिछानेले बताए। उनले भने,‘यो महिना पर्यटक आउने मुख्य सिजन पनि हो त्यसैले पनि संख्या धेरै भयो।’ उनले थपे, ‘उच्च सिजनसँगै गैर आवासीय नेपालीका भेला तथा जमघटले पनि यो संख्या बढ्न थप योगदान पुग्यो।’ 

अटम (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) महिना पर्यटक आउने उच्च सिजन र यही अक्टोबर १७ गतेदेखी २० गतेसम्म भएको गैर आवासीय अन्तर्राष्ट्रिय सम्मेलनले पनि यस महिनामा पर्यटकको संख्यामा वृद्धि भएको हो।

गएको तिन महिनाको तथ्याङ्क हेर्ने हो भने पनि पर्यटक आगमनको संख्या क्रमिक रूपमा उकालो लागेको छ। गत जुलाई महिनामा ५७ हजार ७ सय २६ जना पर्यटक मुलुक भित्रिएका थिए। यस्तै सन् २०१९ को जुलाईमा ५८ हजार ८ सय ११ जना पर्यटक मुलुक भित्रिएका थिए। संख्यात्मक हिसाबले कोभिड पछि ९८.२ प्रतिशतले पर्यटक आगमनको पुनरुत्थान भएको थियो।

गत अगष्टमा ६७ हजार १ सय ५३ जना पर्यटक हवाई मार्गबाट मुलुक भित्रिएका थिए। सन् २०१९ को अगष्टमा हवाई मार्गबाट मुलुकमा पर्यटक भित्रिनेको संख्या ७३ हजार ८ सय १६ जना रहेको थियो। अगष्टमा कोभिड पछि ९०. ९८ प्रतिशतले पर्यटक आगमनमा पुनरुत्थान भएको थियो।

यस्तै सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए। जबकि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६ सय ४ जना पर्यटक हवाई मार्गबाट मुलुक भित्रिएका थिए। यो संख्या सन् २०१९ को तुलनामा ९८.२८ प्रतिशतले पर्यटक आगमनमा पुनरुत्थान भएको हो।

सन् २०१९ देखी हालसम्म आइपुग्दा पर्यटक आगमनको संख्या उत्साहजनक रूपमा लिनु पर्ने निर्देशक लामिछानेले बताए। अगस्ट महिनामा ९०ं.९८ प्रतिशतले पुनरुत्थान भएको पर्यटक आगमन सेप्टेम्बर महिनामा ९८.२८ प्रतिशतले पुनरुत्थान भएको थियो। र क्रमिक रूपले बढिरहेको पर्यटक आगमनमा अगस्ट महिनामा भने नयाँ रेकर्ड राखेको छ। अगस्ट महिनामा सन् २०१९ को तुलनामा १ सय ३ प्रतिशत भन्दा बढी रहेको छ।

कोभिड महामारी, रसिया–युक्रेन युद्ध  पछिल्लो समय भइरहेको इजरायल र हमासबीचको युद्धले नेपालको पर्यटन क्षेत्रलाई पनि असर पारेको जनाउँदै निर्देशक लामिछानेले भने, ‘विभिन्न समस्याका बाबजुद पनि जुन संख्यामा मुलुकमा पर्यटक भित्रिँदै छ त्यो उत्साहजनक छ।’

बोर्डका अनुसार सदैझै यस महिना पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन्। भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन्। भारतपछि अमेरिका दोस्रो स्थानमा रहेको छ। अमेरिकाबाट यस महिनामा १४ हजार ८ सय ७९ जना पर्यटक नेपाल भित्रिएका छन्।

यस्तै तेस्रो स्थानमा बेलायत रहेको छ। बेलायतबाट ८ हजार २ सय १७ जना पर्यटक नेपाल भित्रिएका छन्। यस्तै चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक नेपाल भित्रिएका छन्।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक आगमनको लक्ष्य राखेको छ। सोहीअनुसार यस वर्षको १० महिनाको अवधिमा झण्डै ९ लाख पर्यटक मुलुक भित्रिसकेको बोर्डको तथ्याङ्कले देखाएको  छ। निर्देशक लामिछानेले मुलुकमा पर्यटकको उल्लेख्य आगमनले पर्यटन व्यवसायमा व्यवसायीहरूले सोचेअनुरूपको सुधार हाल नदेखीएपनि क्रमिक रूपमा सुधार आएको बताए। उनले कोभिड अघि भन्दा हालको पर्यटन पूर्वाधारको विकासमा धेरै अगाडी पुगिसकेको भएको कारण पनि व्यवसायीहरूले सोचेअनुरूपको पुनरुत्थान पाउन नसकेको बताउँदै भने, ‘कोभिड पछि पर्यटन पूर्वाधारको निकै भइसकेको छ। हामीसँग थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो। तर नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेका छैनौ। यस्तै यावत समस्याहरू छन्। तर पर्यटकहरूको आगमन उत्साहजनक छ। अरू कुराहरूपनि बिस्तारै सुधार हुँदै जान्छ।’

प्रकाशित: १६ कार्तिक २०८० ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App