७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चाडपर्वमा बिजुली आपूर्ति नियमित गराउन मन्त्रीको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं, तिहार,नेपाल संवत्, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

मन्त्री बस्नेतले बुधबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई लगायत काठमाडौं उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखहरूलाई मन्त्री बस्नेतले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहज रूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्।

‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस्। वर्षदिनभरि राम्रो काम गरे पनि चाड पर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन। काम नगरे सरह नै हुन्छ। त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस्,’ मन्त्री बस्नेतले भने ‘पूर्ण रूपमा जिम्मेवार भएर काम गर्नुस्।’

चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढीभन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए। चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने भन्दै प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भने, ‘सकेसम्म बिजुली खेर जान नदिनुस्।’

मन्त्री बस्नेतले प्राधिकरणका नो लाइट सेन्टरहरूलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने बित्तिकै फोन उठ्ने प्रबन्ध गर्न र कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुत टोली व्यवस्थापन गर्न आग्रह गरे। मन्त्री बस्नेत  प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत रहेका छन्।

सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमाराखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ घण्टा नै परिचालन हुने गरी काठमाडौं उपत्यका र शहरीक्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए। उनले चाडपर्वको समयमा आफैं नियमित रूपमा वितरण केन्द्रहरूको अनुगमन, निरीक्षणका लागि निस्कने जानकारी दिँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गर्ने बताए।

चाडपर्वको समयमा उद्योग प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले बिजुलीको माग कम हुने भएको हुँदा केही बिजुली खेर जाने अवस्था रहेको उहाँको भनाइ छ । ‘सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौं।  

प्रकाशित: २ कार्तिक २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App