१६ चैत्र २०८० शुक्रबार
अर्थ

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुँदै

काठमाडौं- हिमाली क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा चौथोपटक पर्वतीय महोत्सव गर्न लागेको हो ।
विश्व पर्यटनमा हिमाली क्षेत्रको आकर्षण र जन–जीविका प्रस्तुत गर्ने उद्देश्यले महोत्सव गर्न लागेको महोत्सवका निर्देशक कौशल गुरुङले जानकारी दिए । ‘अहिले गर्न लागेको महोत्सव चौथो हो । यस वर्ष विगतको तुलनामा सभ्य र भव्य बनाउने तयारी छ । पर्वतीय पर्यटनलाई व्यवस्थित ढंगले प्रवद्र्धन गर्दैछौं,’ उनले भने, ‘यो कुनै रमाइलो मेला होइन । पर्यटनसँग जोडिएको साहसिक पर्यटन विद्या भएका कारण विभिन्न क्लस्टरमा कार्यक्रम तय भएको छ ।’
संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले एनएमले पनि यसै दिन विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आएको गुरुङको भनाइ छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले मंसिर २५ र २६ गते पोखरामा पोहोरको तुलनामा विल्कुलै ऐतिहासिक पर्वतारोहण महोत्सव मनाउने तयारी गरेको बताए । ‘एनएमएकै पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा पर्वतीय क्षेत्रको प्रत्यक्ष अनुभव गराउने योजना बनाएका छौं । यहाँ हिमालको दैनिकी, हिमाल आरोहीसँग भएका घटनाहरु प्रतिबिम्बित हुन्छ,’ उनले भने, ‘महोत्सवले नेपालको हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास छ ।’
सगरमाथाका आरोहीसँग प्रत्यक्ष अन्तक्र्रिया, जलवायु परिवर्तनको असरबारे जानकारी दिने व्यवस्था महोत्सवमा मिलाइने लामाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपालको पर्वतीय पर्यटन क्षेत्रको विषयमा विभिन्न मुलुकका पर्वतीय क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।
महोत्सवमा हिमाली क्षेत्रमा प्रयोग भएका र अनुसन्धान गरिएका प्रविधि, ज्ञान र अन्वेषण अवलोकन गर्न पाइने छ ।
पोखरामा पर्वतारोहण महोत्सव हुने भएका कारण त्यहाँस्थित स्थानीय निकाय, पर्यटनसँग सम्बन्धित विभिन्न च्याप्टरबीच समन्वय गरी कार्यक्रमको तयारी भइरहेको एनएमएले जनाएको छ ।
महोत्सवसमा प्रदर्शनीका लागि संग्रहालयभित्रै स्टल बनाइने छ । त्यहाँ विभिन्न हिमाली क्षेत्रका संस्कृति र कलाकौशल प्रदर्शन गरिनेछ ।
यस्तै नयाँ पुस्ता र रुचि भएका हिमाल आरोहीलाई ‘क्लाम्बिङ वाल‘मा प्रतिस्पर्धा गराइनेछ । हिमाल आरोहण गर्न चाहनेको लागि यो खेल पूर्वतयारीको अभ्यास हुने एनएमए अध्यक्ष लामाको भनाइ छ ।
मौलिक रुपमा खेलिने छेलो (ढुंगा) हान्ने खेल पनि महोत्सवमा समावेश गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकबीच मैत्रीपूर्ण सम्बन्धका लागि उक्त खेल प्रतियोगिता राखिएको हो । महोत्सवमा कर्णाली क्षेत्रका सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिनेछ ।
यस्तै, नेपालमा हराउँदै गएको धनुष बाण खेलसमेत महोत्सवमा राखिएको छ । यस खेलका लागि छुट्टै समिति बनाएको छ । पर्यटकीय क्षेत्र पोखरामा उक्त महोत्सव हुने भएका कारण अन्तर्राष्ट्रिय पर्यटकको बाक्लो उपस्थिति रहने आयोजकको अनुमान छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App