२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन दिवस मनाईरहँदा व्यवसायीलाई लागेन सिजन

बुधबार पर्यटन दिवस

पोखरामा रमाउँदै विदेशी पाहुना। फाइल तस्बिरः नागरिक

पर्यटन व्यावसायीका अनुसार यो बेला पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। मुख्य सिजनको यो समयमा केहीवर्ष अघिसम्म व्यावसायीलाई उत्तिसारो फुर्सद हुँदैनथ्यो। आन्तरिक तथा बाह्य पाहुनालाई आतिथ्यता दिँदै व्यावसायीलाई व्यस्त बनाउँथ्यो। होटलको बुकिङ उच्च भईसक्थ्यो। आएका पाहुनालाई व्यवस्थापन गर्नु, पाहुनाको रुची बमोजिम खानपिनको बन्दोबस्त मिलाउनु पर्दा व्यावसायीलाई समय बितेको पत्तै हुँदैनथ्यो।  

तर, योपटक भने पोखराको पर्यटन क्षेत्र आतिथ्यताको ती सबै गतिविधिबाट पर छ। पाहुना नहुँदा व्यावसायी फुर्सदिला बनेका छन। नत होटल बुकिङको चटारो, न पाहुना व्यवस्थापनको चिन्ता, पर्यटन व्यावसायी यो बेला फुर्सदै फुर्सदमा रहेको बताउँछन्। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन, ‘बास्तवमा यो बेला पर्यटन व्यावसायीको कमाउने बेला हो, तर, यो पटक त्यो माहोल छैन। व्यवासायीलाई काम नै पुगेको छैन। सिजनको चटारो भएन।’

पाहुना नहुँदा पोखराको पर्यटन क्षेत्र सुनसान छ। व्यावसायीलाई फुर्सदै फुर्सद रहेको उनले बताए। ‘यो व्यावसायीलाई व्यस्त बनाउने समय हो। तर, यो पटक व्यावसायीलाई कामै पुगेन,’ भट्टराई भन्छन, ‘पाहुना हुन्थे भने बुकिङ र व्यवस्थापनको झन्झट आइपर्दथ्यो, तर, ती काम अहिले गर्नुपरेन।’  

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइँदैछ। विश्व पर्यटन दिवस मनाईरहँदा चमक छरिसक्ने पर्यटन क्षेत्र यो बेला निराशाको चाङमा डुबेको उनले बताए। ‘सरकारले बेलैमा पर्यटन क्षेत्रलाई नसोच्ने हो भने पर्यटन क्षेत्रको लगानी अझै डुब्नेछ,’ रेबान अध्यक्ष भट्टराई भन्छन, ‘व्यावसायी बिस्थापित हुने क्रममा छन्। आम्दानी नहुँदा व्यावसाय धान्न हम्मेहम्मे छ।’

यो बेला पाहुना कम हुनुमा पोखरेली व्यावसायीले खासगरि बिस्तार भईरहेको पृथ्वी राजमार्गलाई दोष दिन्छन। राजमार्गको झन्झटिलो यात्राले गर्दा पर्यटकहरु पोखरा आउन छाडेर अन्यत्र डाईभर्ट भएको व्यावसायीको गुनासो छ। विदेशी मात्र नभई आन्तरिक पाहुना पनि नआएको उनीहरुको भनाई छ। ‘तीजताकाको बिदामा एकजना आन्तरिक पाहुना पनि होटलमा आएनन,’ चारतारेस्तरको होटल संचालन गरिरहेका एकजना व्यावसायीले भने, ‘पहिलापहिला साप्ताहिक बिदाले समेत पोखराम आन्तरिक पाहुना तान्ने गरेको थियो। तर, अहिले आन्तरिक पाहुना पनि आउन छाडे।’ विदेशी पाहुना आउन छाड्नुमा धेरै कारण रहेपनि आन्तरिक पाहुना नआउनुमा राजमार्ग बिस्तारले निम्त्याएको झन्झट रहेको ती व्यावसायीले बताए।  

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइँदैछ। विश्व पर्यटन दिवस मनाईरहँदा चमक छरिसक्ने पर्यटन क्षेत्र यो बेला निराशाको चाङमा डुबेको व्यावसायीले बताएका छन। सरकारले बेलैमा पर्यटन क्षेत्रलाई नसोच्ने हो भने पर्यटन क्षेत्रको लगानी अझै डुब्ने चिन्ता व्यावसायीको छ। 

कोभिड संक्रमण सुरु भएपछि पोखरामा विदेशी पाहुना आउन कम हुन थालेका थिए। त्यो आगमनमा बिस्तारै सुधार हुँदै गएको पनि थियो। तर, राजमार्ग बिस्तार सुरु भएपछि पोखरामा आन्तरिक पाहुनाको आगमन पनि एकाएक घटेको व्यावसायीको भनाई छ। ‘राजमार्ग नै अहिलेका लागि मुख्य बाधक बनेको छ। पाहुना पटक्कै हिड्नै चाहेनन। सबैको पहुँचमा हवाई यातायात हुँदैन,’ ती व्यावसायीले भने, ‘हवाई यातायात पनि महंगो बनेको छ। जसले गर्दा पाहुनालाई पोखरा ल्याउन कठिन हुँदै गएको छ।’  

व्यावसायीका अनुसार यो बेला पदयात्राको समय हो। मौसम उपयुक्त हुने भएकोले आन्तरिक र विदेशी पाहुना पदयात्राका लागि आउने गरेका थिए। अक्टोवर र नोभेम्बर पदयात्राको सबैभन्दा उपयुक्त समय भएपनि त्यो अनुसार पाहुनाको आगमनको संकेत नदेखिएको व्यावसायी बताउँछन्। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘पदयात्राको उपयुक्त समयमा पनि पाहुना आउने संकेत छैन। सेप्टेम्बरमै पाहुना आगमन बढ्नुपर्ने हो। अक्टोवरमा केही पाहुना थपिनेगरि सोधपुछ छ । तर, त्यो आकार नै पर्याप्त होइन।’

पदयात्राको मुख्य सिजनमा पनि अग्रिम बुकिङ ५० प्रतिशतको हाराहारीमा नरहेको उनले बताए। ‘विश्व पर्यटन दिवस मनाइरहँदा पर्यटन क्षेत्रमा देखिनुपर्ने उत्साह छैन,’ उनले भने, ‘व्यावसायीले निराशाबीच पर्यटन दिवसलाई मनाईरहेका छन्।’ पर्यटन दिवसकै पूर्वसन्ध्यामा टानले मंगलबार फेवाताल सिरानको खण्डमा एकदिन पदयात्रा संचालन गरेको थियो।

व्यावसायीका अनुसार यो बेला पर्यटकको आगमन निकै नै उचाईमा पुग्नुपर्ने हो। यो बेला बुकिङ पनि उत्साहजन आउनुपर्ने हो। तर, त्यो अनुसार हुन नसकेको उनीहरुको भनाई छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘सामान्य अवस्थामा पनि यो बेलामा कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्ने हो। तर, अहिले त २० प्रतिशत पनि नाघ्न सकेन।’  कोरोना संक्रमण पछिको प्रभाव, आर्थिक मन्दी, विभिन्न मुलुकबीचको द्वन्द्व, नेपालले हवाई चाप थेग्न नसक्नु लगायतका कारणले पाहुना आगमनमा उत्साही बनाउन नसकेको उनले बताए। 

‘काठमाडौंमा केही विदेशी पर्यटक भएपनि पोखरामा आएनन। यो वर्ष त आन्तरिक पाहुना पनि पोखरा आउन सकेनन। पोखरामा जाउँ भन्ने अवस्था रहेन। बाटोका कारण आन्तरिक घटेका छन्,’ उनले भने, ‘विदेशी पनि पर्याप्त भित्रिएका होईनन। नेपालसम्मको हवाई सेवा महंगो हुँदा विदेशी पनि आउन सकेनन।’

कोरोना संक्रमणले गर्दा अघिल्ला वर्ष विदेशी आगमन प्रभावित भएपनि आन्तरिक पाहुनाको गतिविधि भने चलायमान थियो। तर, अहिले पोखराले आन्तरिक पाहुना चलायमान पनि बनाउन नसकेको पराजुली बताउँछन। ‘सेप्टेम्बरमा होटल अकुपेन्सी २० प्रतिशत भन्दा माथि जान सकेन। अक्टोबर मध्यसम्म पनि खासै राम्र्रो छैन,’ पराजुली भन्छन, ‘अक्टोवर मध्यदेखि नोभेम्बर अन्तिमसम्म पनि केही राम्रो छ, त्यो बेला ७० प्रतिशत हाराहारीमा अकुपेन्सी उक्लिनेमा आशावादी छौ। त्यो बेला नेपाली पाहुनाको पनि आउजाउ बढ्छ। तर, नियमित पाहुना आउने अवस्था छैन।’  

सिजनको बेलामा पनि पाहुना नभित्रिएपछि व्यावसायीलाई सिजनको चटारो समेत नभएको उनले बताए। सिजनको यो बेला ९० प्रतिशत पाहुना लिएर बस्नुपर्ने व्यावसायी फुर्सदिला हुनुपरेको उनले बताए।  

पर्यटन दिवस मनाउने तयारी

पाहुना आगमन कमजोर रहँदाको अवस्थामा पनि व्यावसायीले विश्व पर्यटन दिवसलाई भन्ने भव्य बनाउने तयारी गरेका छन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विश्व पर्यटन दिवसका अवसरमा बुधबार बेलुकी लेकसाइडमा मिनी सडक महोत्सव गर्ने तयारी भएको छ।  

त्यस्तै बुधबार नै पर्यटक बस चढेर पोखरा ओर्लिने र पहिलो उडानबाट पोखरा आउने विदेशी पाहुनालाई पनि स्वागत गर्ने तयारी व्यावसायीको रहेको छ। टानले यसै अवसरमा मंगलबार एकदिने पदयात्रा संचालन गरिसकेको अध्यक्ष श्रेष्ठले बताए। नेपाल र भारतका टुर अपरेटर, संचारकर्मीलाई पोखरा ल्याएर पर्यटकीय गतिविधिमा सहभागि र छलफल गराउने तयारी रहेको पनि उनले बताए। ‘भारतीय पर्यटकलाई पोखरा भिœयाउन सहज हुनेगरि बोर्डर क्षेत्रका टुर अपरेटर र संचारमाध्यमलाई पोखरा ल्याउने तयारी छ,’ श्रेष्ठले भने।  

प्रकाशित: ९ आश्विन २०८० १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App