२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सुरु भयो पर्यटक रमाउने सिजन (फोटोसहित)

अन्नपूर्ण इको भिलेज रिसोर्ट परिसरमा बिहानीपख योगा गर्दै पर्यटक।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यति बेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन्। रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन्। उनीहरु हरेक दिन बिहानैदेखि योगामा व्यस्त हुन्छन्। रिसोर्टको खुला र घाँसे मैदानमा हिमालतिर फर्केर योगा गर्छन्। केही समय गाउँ डुल्छन। बचेखुचेको समय पोखरा र आसपासका ठाउँ र हिमाल हेरेर दिन बिताउँछन्।

पर्यटन व्यावसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ। अबका तीनमहिना (सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यावसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन्। यतिबेला पोखराबाट उत्तिसारो हिमाल खुलेको नदेखिएपनि आसपासका ग्रामिण र उच्च भेगबाट भने हिमाली श्रृंखला सहजै देख्न सकिन्छ। पर्यटन व्यावसायीले यो सिजनसँग निकै नै अपेक्षा पनि गर्छन। अघिल्ला सिजनमा झैं पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यावसायी बसिरहेका छन्।  

अन्नपूर्ण आधारशिवीर (एबिसी) तस्बिरः नागरिक

व्यावसायीका अनुसार मौसम अनुकुल हुने हुँदा यो बेला विदेशी पाहुना नेपाल घुम्न रुचाउँछन्। नेपालमा हुने साहसिक गतिविधिमा रमाउने ती पाहुनाको चाहना हुन्छ। पदयात्रादेखि प्याराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट, बेलुन जस्ता गतिविधिमा रम्ने ती पाहुनाको चाहना हुन्छ। अबका तीन महिना नेपालमा साहसिक गतिविधिमा रमाउने पाहुना आउने गरेको व्यावसायी बताउँछन्।

‘यो बेला पोखराबाट खुलेको मौसम उत्तिसारो नदेखिएपनि अस्तामबाट बिहानै हिमाल खुलेको देखिन्छ। यहाँ आएका पाहुना योगा गरेर समय कटाउँछन्। खुलेको हिमाल हेर्दै योगामा रमाउन पाउँदा पाहुना खुसी छन,’ अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारी भन्छन, ‘पर्यटनको सिजन सुरु भएको छ। हुन त कोभिडअघिको जस्तो ठुलो आकारको पाहुना आगमन त छैन। तरपनि यो सिजनमा अरुबेला भन्दा पक्कै बढी आउनेछन्। सिजन सुरु भएकोले पाहुनाको केही चहलपहल पनि सुरु भएको छ।’

प्रकृतिलाई नियाल्दै रमाउन पाउँदा यो बेला भित्रिएका पाहुना निकै नै खुसी हुने गरेको उनले सुनाए। ‘न त जाडो, न अधिक गर्मि, त्यसमाथि पनि बिहानै खुलेको हिमाल र हरिया डाँडाकाँडा हेर्दै योगा गर्न पाउँदा पाहुना निकै नै खुसी छन,’ उनले भने, ‘पोखरा सहरका होटलमा त बरु उत्तिसारो पाहुनाको आगमन छैन। तर हामीलाई भने आगामि नोभेम्बरदेखि डिसेम्बरसम्मका लागि पाहुना अभाव छैन।’ १६ कोठाको ३२ जना क्षमताको रिसोर्टमा आगामि केही समयका लागि पाहुना आउने तयारी रहेको उनले बताए।

अर्काे पर्यटकीय गाउँ घान्द्रुकका पर्यटन व्यावसायी किसम गुरुङ पनि अक्टोबरदेखि डिसेम्बरसम्मका लागि पाहुनाको बुकिङ राम्रो रहेको बताउँछन। सिजन सुरु भएसँगै विदेशी पाहुनाको सोधपुछ बढेको पनि उनले बताए। घान्द्रुक अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशविन्दुमा पर्छ। यहाँ विदेशी बाहेक आन्तरिक पाहुना पनि पर्याप्त जान्छन।

 ‘अबको समय विदेशीको मात्र नभई आन्तरिकको पनि हो। चाँडबाँड सुरु भएकोले पनि पाहुना आउने अपेक्षा छ। मौसमले साथ दिने हो भने यो पटक दसैं–तिहारको छेकोमा पर्याप्त आन्तरिक पाहुना आउने अपेक्षा छ,’ उनले भने, ‘पोखराका ठुला होटलमा बरु पाहुनाको उत्तिसारो सोधपुछ छैन। तर, ग्रामिण क्षेत्रमा भने सिजनको आगमन सुखद हुने अपेक्षा छ । अहिलेसम्मको बुकिङले पनि त्यही संकेत दिएको छ।’

होटलको बुकिङ मात्र सुरु नभई पर्यटक आगमनको सिजन सुरु भएको भन्दै पर्यटकीय गतिविधि बढाउने अरु प्रडक्टले पनि आफ्नो सेवा थप गरेका छन्। वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु भएको छ। पोखराको पर्यटन क्षेत्रको आकर्षक प्रडक्ट मानिएको बेलुनको उडान साहसिक पर्यटकले रुचाउने गर्छन। हट एयर बेलुन संचालक बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेका अनुसार विहीबारबाट पोखरामा बेलुन उडान सुरु भएको छ।  

पोखराको आकाशमा उडिरहेको हट एयर बेलुन।

‘साहसिक पर्यटकले रुचाएको प्रडक्ट हो। वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकियो, अब फेरि सुरु भएको छ,’ बाडेले भने, ‘पर्यटकीय सिजन पनि सुरु भएको छ । मौसम खुल्न थालेको छ। यो बेला पाहुना आउने अपेक्षा छ।’ यसअघि एउटा मात्र बेलुन उडाएको कम्पनिले अबको सिजनमा दुइवटा बेलुन उडाउने तयारी पनि थालेको उनले बताए। ‘८ र ६ जना पर्यटक अट्ने बेलुन हामीसँग छन, तिनै बेलुनमा राखेर पाहुनालाई पोखराको आकाशमा सयर गराउँछौं,’ उनले भने, ‘पाहुना बढ्नासाथ उडानमा समस्या हुँदैन।’

हट एयर बेलुनमा उड्ने पर्यटकले पोखराको दृश्यावलोकन गर्छन । करिब ६ हजार फिट माथिसम्म बेलुन सयर गर्दा माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव मन्दिर, सराङकोट मान्द्रेढुंगाबाट उडेका प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए।  

एबिसी क्षेत्रको पदयात्रामा रहेका विदेशी।

पर्यटकीय सिजन सुरु भएको भन्दै यती एयरले समेत पोखराका लागि रात्री उडान सुरु गरेको छ। आइतबारदेखि यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्री उडान सुरु गरेको छ। यतीका प्रवक्ता सुदर्शन बर्ताैला भन्छन, ‘पर्यटकीय सिजन सुरु भयो, त्यसले गर्दा आन्तरिक र बाह्य दुवैखाले यात्रु बढ्ने अपेक्षा सहित उडान थपेका हौ।’

यती एयरलाइन्सले पोखराका लागि आवश्यकता अनुसार रात्री उडान थप्न सक्ने पनि उनले बताए । ‘पोखरासम्मको स्थलमार्ग पनि निकै नै झन्झटिलो छ। त्यसबाहेक पर्यटकीय सिजन सुरु पनि भएको छ। आन्तरिक र विदेशी यात्रु बढ्ने अपेक्षा सहित रात्री उडान सुरु गरेका हौ,’ यतीका प्रवक्ता बर्ताैला भन्छन, ‘पोखराका लागि हाम्रो प्राथमिकता रात्री उडानमा छ।’

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार अक्टोबरदेखि पदयात्राका लागि उपयुक्त समय मानिन्छ। ‘अक्टोबर–डिसेम्बर नेपालको पर्यटनका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो बेला पदयात्रामा बढी पाहुना जान्छन,’ सापकोटा भन्छन, ‘मौसम निकै नै उपयुक्त हुन्छ। त्यसबाहेक यहीबेला नेपालमा चाँडबाँड पर्ने भएकोले पनि विदेशीहरुले नेपाली संस्कृति बुझ्ने मौका पनि पाउँछन्।’ उनका अनुसार मार्च–मे पनि पर्यटकीय सिजन नै हो। तर, अहिलेजस्तो त्यो सिजनमा बढी पाहुँना आउँदैनन।  

अन्नपूर्ण इको भिलेज रिसोर्ट परिसरमा बिहानीपख योगा गर्दै पर्यटक।

सापकोटाका अनुासार यो बेला मौसम निकै नै राम्रो छ। पानी पनि कम पर्ने, हिमाल खुल्ने, जाडो र गर्मि अधिक नहुने भएकोले मौसम अनुकुल मानिन्छ। पोखरा उत्तिसारो नखुलिसकेपनि मौसममा सुधार हुँदै जाँदा अब पर्यटकीय गतिविधि पनि बढ्दै जान्छन। हिमाल पनि खुल्दै जान्छ। ‘मौसम सुधार हुँदै जाने भएकोले नेपाल घुमघामको उपयुक्त समय यो बेला हो,’ सापकोटा भन्छन, ‘आन्तरिक पाहुनाका लागि पनि यो बेला उपयुक्त समय मानिन्छ। किनकी आन्तरिक पाहुनाले यो बेला चाँडबाँडका कारण केही बढी दिन बिदा पाउने भएकोले पनि पर्यटकीय गतिविधि बढ्छन्।’

उनका अनुसार अहिलेको समय भने पदयात्राका लागि झनै उपयुक्त हो। मार्च–मे को समय हिमाल आरोहणको समय मानिन्छ। ‘हुन त कोभिडअघिको जस्तो पाहुना आगमन छैन। तरपनि पर्यटकीय सिजन सुरु भएको छ। केही सोधपुछ पनि आइरहेको छ,’ सापकोटाले भने, ‘पदयात्राका लागि उपयुक्त समय भएकोले पनि साहसिक गतिविधिमा रम्ने पाहुना यो बेला नेपाल आउँछन। हामी तिनै साहसिक पाहुनाको पर्खाइमा छौं।’

प्रकाशित: १ आश्विन २०८० १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App