३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

फाइल तस्वीर

मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजीक्षेत्रबीच सहकार्यमा जोड दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य विषयक छलफलमा वक्ताहरूले उक्त धारणा राखेका हुन्। परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजीक्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए। विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने धारणा राखे।

सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरूले आफ्नो दायरा बिस्तार गरी निजीक्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए।

कार्यक्रममा मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिनुहुँदै आर्थिक कूटनीति बिस्तारका लागि बहुपक्षीय निकायहरूसँगको सहकार्य पनि आवश्यक रहेको बताए।

श्रम सचिव केवल भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भन्नुपर्ने सुझाव दिए। अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति बिस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए। वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्वपूर्ण रहने बताए। पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका रहेको धारणा राखे। संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिए।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरूको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरूले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए। नवनियुक्त राजदूतहरूको तर्फबाट बोल्नु हुँदै थाइल्याण्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजीक्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजीक्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भई सुझाव दिनुपर्ने धारणा राखे।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए। महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघ र नियोगहरूको निरन्तर सहकार्य रहने बताए।

सरकारले हालै फ्रान्सका लागि सुधिर भट्टराई, थाइल्याण्डका लागि धनबहादुर वली, युएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ।

प्रकाशित: १८ भाद्र २०८० ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App