दशकौँसम्म इरानी संस्थापनको शान्त र व्यावहारिक अनुहारका रूपमा चिनिएका अली लारीजानी अहिले इरानको सबैभन्दा ठूलो संकटको सारथि बनेका छन्। १८ औँ शताब्दीका जर्मन दार्शनिक इम्यानुएल कान्टमाथि पुस्तक लेख्ने र पश्चिमाहरूसँग आणविक सम्झौता गर्ने यी ६७ वर्षीय नेताको स्वर अहिले बदलिएको छ।
शनिबार अमेरिका-इजरायली हवाई आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी र आईआरजीसी कमान्डर मोहम्मद पाकपुरको मृत्यु भएपछि लारीजानीले आक्रामक सन्देश दिएका छन्।
उनले सरकारी टेलिभिजन र सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, ‘अमेरिका र इजरायलले इरानको मुटुमा आगो लगाएका छन्, अब हामी उनीहरूको मुटु जलाउनेछौँ। सियोनी अपराधी र निर्लज्ज अमेरिकीहरूलाई उनीहरूको कार्यमा पछुतो हुनेछ।’
लारीजानीले इरानी राष्ट्रले अन्तर्राष्ट्रिय उत्पीडकहरूलाई अविस्मरणीय पाठ सिकाउने वाचा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘इजरायली पासो’ मा फसेको आरोप लगाउने उनी अहिले खामेनीपछिको इरान सञ्चालन गर्ने तीन सदस्यीय संक्रमणकालीन परिषद्को महत्वपूर्ण हिस्सा हुन्।
को हुन् लारीजानी?
सन् १९५८ मा इराकको नजफमा जन्मेका लारीजानी इरानको अत्यन्त प्रभावशाली राजवंशका सदस्य हुन्, जसलाई सन् २००९ मा टाइम पत्रिकाले ‘इरानका केनेडी’ भनेको थियो। उनका बुबा प्रमुख धार्मिक विद्वान थिए भने भाइहरूले न्यायपालिका र विशेषज्ञ सभा जस्ता शक्तिशाली निकायमा उच्च पद सम्हालेका छन्। लारीजानीको शिक्षा र पृष्ठभूमि पनि रोचक छ। उनले गणित र कम्प्युटर विज्ञानमा स्नातक तथा पश्चिमी दर्शनमा डक्टरेट (पीएचडी) गरेका छन्।
सन् १९३० को दशकमा उनका पिता आयातुलला मिर्जा हाशेम अमोली तत्कालीन इरानी शासक रेजा शाह पहलवीको धार्मिक वर्गप्रतिको कडा दमन र राजनीतिक तनावका कारण इरान छोडेर इराकको नजफ सरेका थिए। नजफ त्यस समयमा शिया इस्लामको प्रमुख शैक्षिक केन्द्र थियो, जहाँ उनको परिवारले करिब तीन दशक बितायो।
यही प्रवासका क्रममा अली लारीजानीको जन्म भयो। त्यसपछि सन् १९६० को दशकमा उनको परिवार पुन: इरान फर्कियो। इरान फर्किएपछि उनका पिता देशका सम्मानित धार्मिक नेताहरूमध्ये एक बने भने अली लारीजानीले इरानमै आफ्नो शिक्षा र राजनीतिक यात्रा अगाडि बढाए।
सन् १९७९ को क्रान्तिपछि उनी आईआरजीसीमा सामेल भएका थिए। उनले संस्कृति मन्त्री, राज्य प्रसारक (आईआरईबी) को प्रमुख र लगातार तीन कार्यकाल संसदको सभामुखका रूपमा काम गरिसकेका छन्। लारीजानी सन् २००५ मा प्रमुख आणविक वार्ताकार समेत थिए। सन् २०२१ र २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन खोज्दा उनलाई अभिभावक परिषद्ले अयोग्य घोषित गरिदिएको थियो। तर, अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेश्कियानले उनलाई पुनः सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव नियुक्त गरेपछि उनी शक्तिशाली रूपमा फर्किएका हुन्।
यसअघि अमेरिकासँगको अप्रत्यक्ष वार्ता र कूटनीतिमा विश्वास गर्ने लारीजानीको शैली फेब्रुअरी २८ (शनिबार) को हवाई आक्रमणपछि पूर्ण रूपमा फेरिएको छ। उनले अमेरिकासँग नयाँ वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्दै भनेका छन्, ‘नेतृत्वको हत्याले इरान अस्थिर हुन्छ भन्ने भ्रम नपाले हुन्छ। हामी अमेरिका र इजरायललाई उनीहरूले पहिले कहिल्यै अनुभव नगरेको शक्तिले जवाफ दिनेछौँ।’ एजेन्सी
प्रकाशित: १९ फाल्गुन २०८२ १३:०५ मंगलबार





