८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अर्थ

बुद्धचित्त बिक्न छाड्यो

काठमाडौं- सोनाम लामा थाङ्का कलाकार थिए । उनी थाङ्का लेखेरै महिनाको ४० हजार रुपैयाँ आम्दानी गर्थे जसबाट काठमाडौंमा चारजनाको परिवार पाल्दै आएका थिए । तर, तीन वर्षअघि काभ्रे तिमालका साथीले बुद्धचित्त मालामा लाखौं फाइदा हुने भनेपछि सोनामले बुद्धचित्त कारोबारमा ५ लाख रुपैयाँ लगानी गरे ।

पहिलो वर्ष सोचेभन्दा राम्रो व्यापार भएको उनी बताउँछन् । ‘दोस्रो वर्ष लगानी धेरै गरियो । बुद्धचित्त फल्न थालेपछि तिमाल गएर दिनरात रुख कुरेर बसियो । हेलिकोप्टरबाट काठमाडौंसम्म माला ल्याएँ,’ सोनामले आइतबार नागरिकसँग भने, ‘त्यो वर्ष सोचेजस्तो व्यापार गर्न सकिएन । जसोतसो लगानीसम्म उठाएँ । यो वर्ष त बुद्धचित्त मालाको व्यापार ठप्पै छ ।’

काभ्रे स्थायी घर भएका निमा तामाङले बुद्धचित्त मालाकै व्यापारबाट बौद्धमा पाँचतले घर बनाए । उनी यसअघि गलैंचा कारखानामा काम गर्थे । माला व्यापारकै कारण उनको दैनिकी एकाएक फेरियो । विभिन्न देश समेत घुम्ने अवसर मिल्यो ।

तर, दुई वर्ष अघिबाट चीन, दक्षिण कोरिया र भुटानमा बुद्धचित्त मालाको व्यापार खस्केपछि घरमै माला सुकाएर राखेको तामाङले बताए । ‘घरमा पाँच हजार माला यत्तिकै राखेका छौं । लगानी उठाउन नसक्दा चिन्तित छु,’ उनले भने ।

त्यसैगरी बौद्ध बस्ने दावा शेर्पा पाँच वर्षदेखि बुद्धचित्त मालाको व्यापार गर्दै आएका थिए । अहिले बुद्धचित्तको व्यापार शून्य भएको उनले बताए । ‘विगतमा पाँच हजारमा बिक्री हुने माला पाँच सयमा पनि बिक्री हुन छाडेको छ । ठूला व्यापारीमात्रै होइन साना लगानीकर्ता झन् डुबेका छन्,’ उनले भने, ‘साना व्यापारीले ऋण लिएर पनि माला किनेका छन् । व्यापार नभएपछि चुपचाप छौं ।’

काभ्रे तिमालआसपास व्यापारीहरूले हचुवाकै भरमा लाखौं रुपैयाँ दिएर बुद्धचित्तको रुख किन्ने गरेका थिए । त्यसपछि मात्रै बुद्धचित्त मालाको मूल्य अकासिएको थियो । मालाबाट टन्नै पैसा आउने भएपछि युवा रातभर सुरक्षाकर्मीकै रुपमा बोट कुरेर बस्ने गरेको स्थानीय रामलाल तामाङले बताए । ‘हामीले थोरै पैसा पाएका हुन्छौं, ठेकेदारले लाखौं कमाउँछ,’ उनले भने ।

माला व्यापारमा चिनियाँहरु अगाडि थिए । पछिल्लो समय चिनियाँ व्यापारीले माला किन्न छोडेका कारण व्यापारमा शून्यता छाएको व्यापारीको भनाइ छ । सबैभन्दा सानो गेडाबाट बनाइएको माला बढी महँगो हुन्छ । कुनै समय सात मिलिमिटरको १ सय ८ दानाको एउटै माला ५ लाख रुपैयाँभन्दा बढीमा बिक्री भएको व्यापारी मिङ्मार लामाको अनुभव छ । उनका अनुसार चार वर्षअघि चीनका व्यापारीले थोक मूल्यमा माला खरिद गर्दा काँचो गेडा धेरै परेपछि समस्या सुरु भएको थियो ।

‘काँचो मालाको गेडा सुकेपछि त्यसको महŒव कम हुन्छ । त्यसपछि व्यापारी माला किन्न आउनै छाडे । आए पनि छानेर लैजाने गरेका कारण व्यापार शून्यजस्तै भएको छ,’ उनले भने, ‘यो वर्ष स्थानीयले केही लाभ लिए पनि व्यापारीको करोडौं डुबेको छ ।’

केही वर्षअघिसम्म तीनदेखि सातमुखेसम्मको बुद्धचित्त मालाको भाउ प्रतिगोटा ४ लाख रुपैयाँसम्म थियो । त्यसैगरी दुईमुखे सात मिलिमिटरका १ सय ८ दानाको माला ५ लाख रुपैयाँसम्ममा बिक्री हुन्थ्यो ।

काभ्रेको तिमाल र रामेछाप आसपासमा बुद्धचित्त फल्छ । हेर्दा यो बयर वा हाडेबेडु जस्तो देखिन्छ । बुद्धचित्त काँडाको रुख हो । यो वैशाखदेखि फल्न थाल्छ । असार अन्तिम सातादेखि साउनको अन्त्यसम्म दाना टिप्ने समय हो ।

बुद्धचित्तको दाना टिपेपछि कतिपयले ढिकीमा कुटेर माला बनाउने दाना निकाल्छन् । उसिनेर बोक्रा माडेर फालेपछि पनि माला बनाउने दाना तयार हुन्छ । बोक्रा छोडाइएको दानालाई घाममा सुकाएपछि त्यसमा प्वाल छोड्ने काम हुन्छ ।

बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) मालालाई बौद्ध धर्म मान्ने तिब्बती र चिनियाँ समाजमा पवित्र मानिन्छ । परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा यसको बिरुवा पाइने स्थानीयको भनाइ छ । सुरुमा लामाहरुले मात्रै जप र ध्यानका लागि बुद्धचित्तको माला प्रयोग गर्थे । विस्तारै यसको प्रचारप्रसार भएपछि चीनको तिब्बतमा निर्यात भएको व्यापारी बताउँछन् । अहिले भारत, सिंगापुर, जापान, कोरियालगायत बौद्ध धर्मावलम्बी भएका देशमा बुद्धचित्त मालाको माग छ ।

पछिल्लो समय बुद्धचित्त मालाको व्यापार बढेपछि नर्सरी व्यवसायीले यसको बिरुवा समेत उत्पादन गरेका छन् । काठमाडौंको चक्रपथ, बूढानीलकण्ठ, नयाँबस्ती र काँडाघारीमा बुद्धचित्त बिरुवाको व्यावसायिक रुपमा उत्पादन भइरहेको छ । एउटा बिरुवाको ३ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

काभ्रेको तिमाल क्षेत्रका स्थानीयले मालासँगै बिरुवा उत्पादन गरेर बेच्छन् । बिरुवाबाटै धेरैले राम्रो आम्दानी गरेका छन् ।

गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वाद स्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई बुद्धचित्त माला दिएको जनविश्वास छ । वन मन्त्रालयले यसलाई काभ्रेको तिमाल क्षेत्रमामात्रै पाइने वनस्पति भनेको छ । बुद्धचित्तको बोटमा स–सानादाना फल्छ, यसलाई बौद्ध धर्मावलम्बीहरूले पवित्र मालाका रूपमा प्रयोग गर्ने गर्छन् ।

प्रकाशित: १३ भाद्र २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App