१ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

चितवनको मत्स्य विकास केन्द्र भण्डाराले उत्पादन गरेको माछाका भुराप्रति किसान आकर्षित भएका छन्।कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो।

यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले बताए।कार्यालयले सिल्भर कार्प, बिगहेड कार्प, ग्रोसकार्प, रहु, नैनी, भ्याकुर, पङ्गासियस र टिलापिया जातका माछाका भुरा उत्पादन र वितरण गर्ने गरेको छ।

गत वर्ष कार्यालयले भुरा र माछा बेचेर ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको उनले बताए।उनका अनुसार कार्यालयबाट गत वर्ष छ सय ५०  किसान लाभान्वित भएका छन्।

बागमती प्रदेशको १३ जिल्ला कार्य क्षेत्र रहेको कार्यालयबाट बागमती प्रदेशसँगै अन्य प्रदेशका किसानले पनि सेवा लिने गरेका छन्। उच्च गुणस्तरका हुने भएकाले यहाँ माछाका भुरा लिन नवलपुर, गोरखा, बारा, पर्सा लगायतका जिल्लाबाट पनि कृषक आउने गरेका छन्।

कार्यालयले फ्राइ जातको २५ पैसा र फिङरिङको ७५ पैसा प्रतिभुरा लिने गरेको छ। केन्द्रमा ३६ पोखरी निर्माण गरिएको छ। यसमा माउ पोखरी छ रहेका छन्। अरू सबै नर्सरी पोखरी हुन्। कार्यालयले खाने माछा समेत उत्पादन गरेर बेच्दै आइरहेको छ। वार्षिक एकदेखि दुई टन माछा कार्यालयले बेच्दै आइरहेको मत्स्य विकास अधिकृत डा.गणेश अधिकारीले बताए।

उनले कार्यालयले पछिल्लो समय माछा बिक्रीभन्दा भुरा उत्पादनमा जोड दिएको बताए।केन्द्रलाई शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लगिएको उनको भनाइ छ। कार्यालयले कृषकलाई माछासम्बन्धी तालिम र परामर्श सेवासमेत दिंदै आएको छ। 

प्रकाशित: २८ श्रावण २०८० ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App