२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिम्रिक एयरको उडानमा रोक, बदनियतपूर्ण तरिकाले अफवाह फैलाइयो-सिम्रिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरण र विभिन्न विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको उडानमा साउन २६ गतेदेखि रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

कमजोर वित्तीय अवस्थाका कारण सिम्रिकको उडानमा रोक लगाउनु परेको बताउँदै सूचना अधिकारी भूलले भने, ‘सिम्रिकको वित्तीय अवस्था ज्यादै कमजोर छ। प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता चुक्ता गर्न पटक पटक भने पनि चुक्ता नगरेपछि उडानमा रोक लगाइएको हो।’

 उनले थपे ‘कमजोर वित्तीय अवस्थाका कारण कम्पनीले आफ्ना कर्मचारीलाई पारिश्रमिक दिन नसक्ने अवस्था छ। यसले उडान सुरक्षामा खतरा उत्पन्न हुन्छ। त्यसैले पनि प्राधिकरणले सिम्रिकको उडानमा रोक लगाएको हो।’

भूलका अनुसार सिम्रिक एयरले ३४ वटा उड्डयन कार्यालयका ५५ लाखभन्दा बढी बक्यौता रकम तिर्नुपर्नेछ। सिम्रिक एयरले प्राधिकरणको ४६ लाख रूपैयाँ बक्यौता रकम तिर्न बाँकी रहेको उनले बताए।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २७ लाख ९३ हजार रूपैयाँ, लुक्लाको तेन्जिङ हिलारी उड्डयन कार्यालयलाई १५ लाख ७२ हजार रूपैयाँ, सिमकोट विमानस्थलमा १ लाख ५८ हजार, रामेछाप उड्डयन कार्यालयको ९७ हजार रूपैयाँ बक्यौता रकम तिर्न बाँकी छ।

सबैभन्दा कम बक्यौता रकम चन्द्रगढी र रारा उड्डयन कार्यालयको छ। चन्द्रगढीमा १ सय ३५ रूपैयाँ र रारामा २ सय २० रूपैयाँ बक्यौता रकम तिर्नु रहेको प्राधिकरणले जनाएको छ।

  सिम्रिक एयरको २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टरलाई प्राधिकरणले उडानमा रोक लगाएको हो। कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रूपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आश्वस्त पार्न सके मात्र पुनः उडानको अनुमति दिने सूचना अधिकारी भूलले बताए।

यता सिम्रिक एयर लिमिटेडले बदनीयतपूर्ण तरिकाले अफवाह फैलाएको जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत २१ गते सात दिनको समय सीमा दिएको पत्र २४ गते प्राप्त भएको र हरहिसाब राफसाफ गर्न हिसाब रुजु गर्ने कार्य भैरहेको अवस्थामा पूर्वाग्रही ढंगले उडानमा रोक लगाएको जनाएको छ।

हवाई सेवा जस्तो संवेदनशील संस्थाको मानमर्दन गर्ने नियोजित षडयन्त्र स्वरूप झुटो अभियोग लगाएको कम्पनीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App