२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘एकै पटक ब्रेक लगाए अर्थतन्त्र दुर्घटनामा’

ढकाल नेतृत्वको महासंघका सय दिन

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्य समितिले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ। महासंघको गत चैत २८ र २९ गते सम्पन्न ५७ औं वार्षिक साधारणसभाबाट ढकालको नेतृत्वमा नयाँ समिति बनेको थियो।

ढकालले आफ्नो एक सय दिन पूरा भएको अवसरमा बिहीवार आयोजना गरेको कार्यक्रममा अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। सबै मिलेर मात्र अर्थतन्त्रका समस्या समाधान हुने बताए। ‘अर्थतन्त्रका समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक छ,’ ढकालले भने, ‘एकै पटक कडाइ गरे अर्थतन्त्र दुर्घटनामा पर्छ।’

राष्ट्र बैंक र बैंकहरूले व्यवसायीहरूप्रति कडाइ गरेकोमा भने उनले असन्तुष्टि जनाए। ‘समस्यामा रहेका व्यवसायीलाई ऋण दुरूपयोग गरेको भनेर थप मान मर्दन गर्न मिल्छ? अहिले आएर एकैपटक ब्रेक लगाउन मिल्छ? यसले दुर्घटना हुन्छ’ ढकालले भने।

ऋण लिने मात्र दोषी नभएको भन्दै ढकालले केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत ध्यानाकर्षण गराए। ‘के ऋण लिने मान्छे मात्रै दोषी हो त? बैंक वित्तीय संस्थाले पनि त ऋण दिएकै हुन्। केन्द्रीय बैंकले किन त्यति बेलै सजग बनाएन,’ ढकालले प्रतिप्रश्न गर्दै भने, ‘अनुगमन किन गरेन?’

सरकारले पुँजीगत खर्च गर्न नसकेकोमा पनि उनले प्रश्न गरे। ‘समस्या सबैका कारणबाट सिर्जना भएको हो,’ उनले भने, ‘अनि यसको मार निजी क्षेत्रलाई मात्र पार्न मिल्छ?’

निजी क्षेत्रलाई आफ्नो ऋण व्यवस्थापनका लागि समय दिन आवश्यक रहेको उनले बताए। निजीक्षेत्रलाई अगाडि बढाउन सरकार र नेपाल राष्ट्र बैंकले सहयोग गर्न आवश्यक रहेको ढकालकाे माग थियाे।

प्रकाशित: १९ श्रावण २०८० ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App