१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री कार्यालयबाटै ढुंगानाले दिएको सुन तस्करीको सूचना गृह र भन्सारले वास्ता गरेनन्

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना गत असार १२ गते महानिर्देशक भएर विभागमा हाजिर भएका हुन्। यसअघि सहसचिव ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहालको सिंहदरबारस्थित सचिवालयमा थिए। उनलाई त्यति बेला नै ‘सुन तस्करी हुदैछ है’ भन्ने सूचना आएको थियो।

सहसचिव हुँदै उनले सुन तस्करी हुन लागेको सूचना गृह मन्त्रालय, भन्सार विभाग, विमानस्थल भन्सार कार्यालय र त्यस मातहतका निकायलाई जानकारी दिएका थिए। उनको जिकिर र आग्रह थियो, ‘सुन तस्करी रोक्ने।’ यो सबै कुरा असार १२ गते अघि भएको हो।

तर त्यति बेला उनले दिएको सूचनालाई कसैले वास्तै गरेनन्। त्यति बेला न सुन बरामद भयो न त कुनै व्यक्ति पक्राउ परे। प्राप्त सूचना अनुसार संभवत सुन तस्करी त्यति बेला देखिनै भइरह्यो भन्ने अनुमान गर्न सकिन्छ।

अर्कातिर करिब १ सय किलो सुन तस्करी गरेर ल्याएको आयातकर्ता कम्पनी ‘रेडी ट्रेडर्स प्रालि’ तीन महिना अघि मात्र दर्ता भएको थियो। यसले दर्ता लगत्तै जेठबाटै कारोबार सुरु गरेको बताइएको छ। तत्कालीन सहसचिव तथा हालका महानिर्देशक ढुंगानालाई पनि सुन तस्करी हुँदैछ भन्ने सूचना लगभग त्यति बेलादेखि नै आइरहेको थियो।

ढुंगानाले आफूलाई आएको सबै सूचना सरोकारवाला निकाय गृह मन्त्रालय, भन्सार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र मातहतका लागि दिएकै थिए। तर उनको अपेक्षा विपरीत कुनै पनि निकाय त्यति बेला ‘एक्सन’ मा गएनन्। 

आखिर किन गएनन् उल्लेखित निकाय एक्सनमा ? यही हो, सबैभन्दा पेचिलो प्रश्न जसले सुन तस्करीको भित्री रूप छर्लङ्ग पार्छ।

पछि संयोगले असार १२ गते ढुंगाना राजश्व अनुसन्धान विभागकै महानिर्देशक भएर गए। उनले पुरानो र नयाँ“ सूचनाको आधारमा आफ्नो विभागको सक्रियता बढाए। उनलाई आएको सूचना पुष्टि हुने गरी मङ्गलवार साँझसम्म विमानस्थलमा ठुलो परिणाममा सुन आएको पत्ता लाग्यो र अप्रेसन सुरु भयो।  

बुधबार साँझ त्रिभुवन भन्सार कार्यालयबाट भन्सार पास गराएर काठमाडौँ खाल्डोमा छिराउन थालिएको करिब १ सय किलो सुन राजश्वको टोलीले बरामद गर्यो। बुधबार साँझदेखि अहिलेसम्म सुन तस्करीमा संलग्न भएको आशङ्कामा १० जना पक्राउ परिसकेका छन्।

ढुंगाना महानिर्देशक भएपछि पछिल्लो पटक तस्करले हङकङबाट काठमाडौँ सुन ल्याए पनि यसमा कोको संलग्न छन् र यति ठुलो परिमाणको सुन कसले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको महानिर्देशक ढुंगानाले बताउँछन्।

‘अनुसन्धान भइरहेको छ। मान्छे पक्राउ गर्ने र अनुसन्धान गर्ने काम भइरहेको छ’, उनले नागरिकसँग भने। ढुंगानाले सुन तस्करीमा राजनीतिक संलग्नता भए नभएको अनुसन्धानबाटै खुल्ने जानकारी दिए। 

नेपालमा दैनिक जसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्। पछिल्लो पटक भारत लैजाने तयारीमा रहेको करिब सय किलो सुन बुधवार काठमाडौँको सिनामंगलबाट बरामद भए पनि राजनीतिको जलप लगाइएका कारण यसका वास्तविक खेलाडी पत्ता लाग्ने सम्भावना न्यून छ।

विगतदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर तेस्रो मुलुकबाट अवैध रूपमा ल्याइने सुन भारत जाने गरेको छ। सुन तस्करी खुला सत्य भए पनि मौसमी रूपमा मात्र चर्चामा आउँछ। यस पटकको सुन बरामद पनि संयोग मात्र हो वा नियोजित, अझै खुलिसकेको छैन। 

हङकङबाट काठमाडौँस्थित रेडी ट्रेडर्सका नाममा उक्त सुन ल्याइएको थियो। सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको बताइए पनि उनी को हुन् भन्नेबारे अन्योल छ। सुन तस्करीमा संलग्न सङ्गठित गिरोहमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ। सुरक्षा अधिकारीहरू पनि राजनीतिक संरक्षण र सहयोगबिना यति धेरै परिमाणमा सुन तस्करी गर्न सक्ने हिम्मत कोही कसैमा नहुने दाबी गर्छन्।

यो पनि पढ्नुहोस्

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

प्रकाशित: ५ श्रावण २०८० ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App