२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लम्पी स्किनः हल फुट्यो, रोपाई रोकियो

गोरखाको गण्डकी गाउँपालिका–२ का गोकर्णप्रसाद पन्तको गोठमा एकहल बलिया गोरु थिए। तर, लम्पी स्किनले एउटा गोरु मर्‍यो। रोपाईको बेला एउटा गोरु मरेपछि पन्त चिन्तित छन्। गोठमा एक्लिएको अर्काे गोरुका लागि हल जुटाउन पन्त यतायती धाइरहेका छन्। तर, भनेजस्तो जोडी कतै भेटाउन सकेका छैनन्।

वर्षमा ८०–८५ मुरि धान फल्ने खेत पन्तको छ। त्यही खेत रोप्ने बेला गोरुको हल छुट्टिएको छ। हल जुराउन प्रयास गरे पनि उनले खोजेजस्तो अर्को गोरु भेटाएकै छैनन्। ‘हलको बलियो मध्येको गोरु मर्‍यो, रोपाईको चटारोको बेला गोरु मरेपछि कामै रोकिएको छ,’ पन्तले भने, ‘असल गोरु नै मर्‍यो, रोपाईको बेला मार परेको छ।’ उनका अनुसार बिरामी परेको ११ औं दिनमा गोरु मरेको थियो।

पन्तले पालेको त्यो गोरु यतिसम्मको बलियो थियो की जुधाई प्रतियोगितामा चारठाउँमा जितेर यो वर्षमात्र ४० हजार रुपैयाँ आम्दानी दिलाएको थियो। ‘निकै नै बलियो र इमान्दार पशु थियो। धेरैले किन्न पनि मागेका थिए, तर, मैले निकै नै स्याहारसुसार गरेर पालेको थिए, तर, बिरामी भएर म¥यो,’ उनले भने, ‘सबैखेतमा ट्रयाक्टर चल्दैन, ट्रयाक्टर चलेपनि पानीको भेल छोपेर रोपाई गर्नुपर्छ। त्यसैले गोरुको विकल्प छैन।’ गोरु किन्न गाउँ चहारेपनि अन्यत्र पनि पशु बिरामी रहेकोले किन्न नपाएको उनले बताए।

गोरखाका पन्तजस्ता धेरै किसान यो बेला गोरु मरेर चिन्तित छन्। यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु मरेपछि किसान भने चिन्तामा छन्।

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गइरहेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका सूचना अधिकारी डा. राजेश चौधरीका अनुसार प्रदेशको मनाङमा मात्र अहिलेसम्म पशुमा लम्पी स्किल रोग देखिएको छैन। मुस्ताङका २ र मनाङका ४ गरी ६ वटाबाहेक प्रदेशका बाँकी (७९) स्थानीय तहमा पशुमा यो रोग देखिएको छ। चौधरीका अनुसार प्रदेशभर अहिलेसम्म ३० हजार ६ सय ५३ पशु बिरामी परेका छन्। ती मध्ये ७४१ वटाको ज्यान गइसकेको छ।

मरेकामध्ये सबैभन्दा बढी ३०१ गोरु, २३९ गाई, १६ भैंसी र अरु पाडा पाडी तथा बाच्छाबाच्छी रहेका छन् । ‘मरेका गोरु सबै जोत्न योग्य उमेरका हुन्। रोपाईको बेला अहिले धमाधम गोरु मरेका कारण किसानलाई समस्या परेको छ,’ चौधरीले भने, ‘यही बेला यो रोग अधिक फैलिएको छ। सबैतिरका किसानको खेत रोपाई नै प्रभावित भएको छ।’

उनका अनुसार बिरामी परेको बेला गोरुलाई आरामको साटो जोत्न लगेकोले पनि धेरै मरेका हुन। यो रोग लागेका बिरामी पशुलाई आराम गराउनुपर्नेमा रोपाईमा जोत्न लगेपछि झनै थलिएर धमाधम मरिरहेको उनले बताए। ‘बिरामी भएको बेला पौष्टिक आहार खुवाएर आराम गराउनुपर्ने बेला झनै काममा लगाइएको छ। जोताइमा परेका गोरु मरिरहेका छन्,’ उनले भने, ‘कतिपय ठाउँमा त रोपाई नै प्रभावित भएको छ।’

उनका अनुसार अझैपनि ११ हजार ४ सय गोरु बिरामी छन्। नेपालमा पछिल्लो तीनवर्षदेखि पशुमा लम्पी स्किनको रोग देखिन थालेको थियो। यो वर्ष बढी क्षति भएको उनले बताए। गत वैशाखदेखि पशुमा यो रोग देखिन थालेकोमा असारको यो बेला झनै प्रकोप फैलिएको सूचना अधिकारी चौधरीले बताए। ‘जतिबेला रोपाईको मारामार छ, त्यहीबेला बढी पशु बिरामी परेका छन्, त्यसले पनि क्षति थपिएको हो,’ उनले भने। निर्देशनालयका अनुसार सबैभन्दा बढी गोरखामा १५५, बागलुङमा १२१, कास्की र म्याग्दीमा १२० का दरले पशु मरिसकेका छन्। 

जिल्ला पशुसेवा कार्यालय गोरखाकी प्रमुख डा. प्रमिला कुमालले पनि रोपाईका बेला किसानलाई नै मार पर्नेगरि यो बेला पशुमा लम्पी स्किन रोग देखिएको बताईन। ‘रोपाईको बेला किसानलाई मार परेको छ। पशु कसरी जोगाउने भनेर किसान आत्तिएका छन्,’ उनले भनिन, ‘वर्षभरि खाने अन्न उत्पादन नै प्रभावित हुनेगरि अहिले पशुमा क्षति भईरहेको छ।’ उनमा अनुसार गाई, गोरु वा भैँसी कुनैपनि पशु मरेमा अहिले सरकारले क्षतिपूर्ति दिएको छैन। आवश्यकता अनुसार खोप मात्र दिएको उनले सुनाइन।

निर्देशनालयका सूचना अधिकारी चौधरीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँछ। शरीरका टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिन्छन्। गिर्खा फुटेर घाउ नै बन्छ। पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ। बिरामी पशुको गर्भ तुहिने तथा बाँझोपना पनि देखिन सक्ने उनले बताए। लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट यो रोग पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ।  

उनका अनुसार यो रोगको खास उपचार छैन। प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार मात्र गर्ने हो। ‘बिरामीलाई खोप लगाउन मिल्दैन। रोग संक्रमित क्षेत्रका स्वस्थ पशुलाई मात्र खोप लगाइदिने हो,’ उनले भने, ‘ज्वरो आए औषधि खुवाउने, गिर्खा फुटेर घाउ भउमा मलहम लगाउने र आराम गराउँदै रुचि अनुसारको दानापानी खुवाउनु नै उपचार हो।’ यो बेला गोरुलाई रोपाईमा नलगाउने हो भने क्षति कम हुन सक्ने उनले बताए। ‘रोग देखिएको भोलिपल्टदेखि उपचार गर्ने र आराम गराउँदै पशुको रुचि अनुसारको दाना खुवाउने हो भने छिटो निको हुन्छ,’ उनले भने।

चौधरीका अनुसार गण्डकी प्रदेशका ३३ हजार ४ सय ८४ वटा पशुमा यो रोग विरुद्धको खोप लगाइ सकिएको छ। प्रदेश सरकारले रोगको रोग थामका लागि खोप खरिद गर्ने गरी एक करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए। प्रदेशमा करिब नौ लाख पशु भए पनि ती सबैलाई अहिले नै यो खोप आवश्यक नपरेको तर, प्रभावित क्षेत्र हेरेर पशुलाई खोप लगाइरहेको बताए। ‘प्रदेशका ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म ७९ वटामा रोग फैलिएकोले आवश्यकता अनुसार खोप दिने हो,’ उनले भने।

पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाई गोरुमा बढी देखिन्छ । पहिला अफ्रिकामा सीमित रहेको यो रोग सन् २०१२ पन मध्यपूर्व, दक्षिण पूर्वी युरो, रसिया, काजकिस्तान, हुँदै बंगलादेश, भारत हुँदै नेपाल प्रवेश गरेको थियो।

प्रकाशित: २० असार २०८० १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App