२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी भन्छन्: तथ्यांकमा पाहुना बढे पनि आम्दानी बढेन

ड्रागन बोट रेस फेस्टिभलमा पोखरा आएका चिनियाँ पर्यटक। तस्बिरः उमेश पुन/नागरिक

सन् २०२३ को अहिलेसम्म (जनवरी–जुन) नेपालमा ४ लाख ७६ हजार ४ सय ८१ जना विदेशी पाहुना भित्रिए। पछिल्लो जुन महिनामा मात्र भित्रिने विदेशी पाहुनाको संख्या ७२ हजार २ सय ५० छ। नेपाल भित्रिएका यी सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन्।

नेपालमा सन् २०१९ मा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएका थिए। सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष (२०१९) को जुन महिनामा नेपालमा ७४ हजार ८ सय ८३ जना विदेशी पाहुना भित्रिएका थिए। त्यसपछिका वर्षमा भने कोरोना भाइरस संक्रमणले गर्दा आगमन निकै नै ओरालो लागेको थियो।  

कोरोनाले गर्दा निकै नै खस्केको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिने क्रममा झन्डै २०१९ कै हाराहारीमा पाहुना भिœयाउन थालेको छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन, ‘पर्यटन बजारले हरेक महिनामा गति बढाईरहेको छ। २०१९ को जुन महिनाको तुलनामा यो जुन महिनामा पर्यटन आगमनमा ९६.४८ प्रतिशत ‘रिकभर’ भइसकेको छ। यो निकै नै राम्रो हो।’

कोरोना संक्रमणले गर्दा २०२० को जुन महिनाको आगमन जम्मा १०२ थियो। त्यस्तै २०२१ को जुन महिनाको आगमन संख्या ११ सय ८७ र २०२२ को जुन महिनाको आगमन ४६ हजार ९ सय ५७ थियो । ‘आगमनमा सुधार भईरहेको छ। कोरोनाले शुन्यमा झारेको आगमनले छोटो समयमै गति लिएको छ। यो राम्रो सुधार हो,’ लामिछानेले भने, ‘नेपालमा यो वर्ष  विदेशी पर्यटक आगमन प्रतिमहिना औषतमा ७९ हजार नाघेको छ।’  

नेपालमा गत जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३, मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका थिए। सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य यसअघि नै सार्वजनिक गरिसकेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको थियो।  

अहिलेको आगमनमा समस्या नथपिने हो भने सरकारको त्यो लक्ष्य पुरा गर्न समस्या नरहेको बोर्डका निर्देशक लामिछाने बताउँछन्। ‘पर्यटक भित्रिने अझै मुख्य सिजन बाँकी छ । कोरोना संक्रमण अघिकै आकारमा पाहुना भित्रिन थालेका पनि छन्। त्यसबाहेक विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम पनि भईरहेकोले सरकारी लक्ष्य पुरा गर्न सक्नेमा ढुक्क छौं,’ उनले भने, ‘आगमि सिजन राम्रो हुने हो भने पाहुना भित्रयाउने सरकारी लक्ष्य पुरा हुनेछ।’

सबैभन्दा बढी भारतीय

जुन महिनामा नेपाल भित्रिनेमध्ये सबैभन्दा बढी भारतीय पाहुना छन्। जुनमा ३८ हजार ८ सय ४५ जना भारतीय पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। स्थलमार्गबाट भित्रिने भारतीय पाहुनाको संख्या भने कतै तथ्यांक राखिँदैन। पोखराका पर्यटन व्यावसायीले योपटकको अफसिजनलाई भारतीय पाहुनाको आगमनले थेगेको बताउँदै आएका छन्। गर्मि हुने भएकोले यो बेला भारतीय पाहुना बढी मात्रामा नेपाल भित्रिने गरेका छन्।  

जुन महिनामा धेरै पर्यटक भित्रिने मध्ये दोश्रो नम्बरमा रहेको अमेरिकाका पाहुनाको संख्या ८ हजार ४ सय ७० रहेको छ। तेश्रो नम्बरमा चिनियाँ पाहुनाको संख्या ४ हजार ३ सय ४३ रहेको बोर्डको तथ्यांक छ। गत जनवरीमा नेपालमा जम्मा १४ सय ३६ जना चिनियाँ पाहुना भित्रिएका थिए। त्यो आकार फेब्रुअरीमा २२ सय ६६, मार्चमा २६ सय ३५, अप्रिलमा ४ हजार ७ सय ७० र मे महिनामा ४ हजार ६ सय ६७ जना थियो।  

कोरोना संक्रमण फैलिएपछि चिनियाँ पाहुनालाई चीनले घुमघाममा रोक लगाउँदै आएकोमा गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिएको थियो। पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। ‘चिनियाँ पाहुनाको आगमनले गति लिने अपेक्षा छ । अहिले अफ सिजन पनि हो,’ लामिछानेले भने।

चिनियाँ पाहुनाबाट ठुलो आश गरेको पोखराको पर्यटन क्षेत्र त्यसलाई बल पुग्नेगरि केहीदिन अघि फेवातालमा नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल हुँदा थप चिनियाँ पाहुना भित्रिने अपेक्षामा छ। दक्षिण एशियामै पहिलोपटक पोखरा फेवातालमा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ भएको थियो। यही फेस्टिभलका लागि भनेर चीनको छेन्दुबाट सिचुआन एयरलाईन्सको चार्टर्ड जहाज समेत पोखरा ल्याईएको थियो। औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको थियो । जहाजमा बोट रेसका प्रतिश्पर्धी सहित चिनियाँ पाहुना आएका थिए।  

पाहुनाको आकार बढ्यो, आम्दानी खुम्चियो

नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘सिमित होटलले कमाएका छन। सबैको आम्दानी एकैखालको छैन। कतिपयले पर्याप्त पाहुना पाउँदा केहीमा सुनसानको अवस्था छ। त्यसले गर्दा मध्यम र साना आकारका होटललाई केही गाह्रो हो।’ उनका अनुसार आन्तरिक र भारतीया पाहुना पर्याप्त आकारमा पाउने व्यावसायीलाई उत्तिसारो कठिन छैन। तर, तेश्रो मुलकुका पाहुना मात्र बस्ने होटलले भने कमाउन नसकेको उनले बताए।  

‘तेश्रो मुलुकका पाहुना निकै नै कम छन । भारतीय र आन्तरिक पाहुना ठिकै छन,’ उनले भने, ‘भारतीय पनि सस्तो पाहुना छन। त्यसबाहेक व्यावसायीको संख्या बढिरहँदा पाहुना बाँढिन पुग्दा पनि आम्दानी घटेको हो।’ उनका अनुसार अहिले सिमित व्यावसायीले मात्र कमाएका छन्। धेरैजसो नोक्सानमा छन। त्यसबाहेक पर्यटक आफैले खर्च कटौती गर्दा पनि व्यावसायीको कमाई घटेको उनले बताए।  बोर्डका निर्देशक लामिछानेले पर्यटक बढेकोले आम्दानी घटेको नभई व्यावसायी थपिँदा ब्यापार बाँढिएको हुनसक्ने बताए। ‘पर्यटक बढेपछि आम्दानी घट्ने कुरै भएन। बरु, व्यावसायी थपिएकोले पाहुना बाँढिएको हुनसक्छ,’ उनले भने।  

प्रकाशित: १७ असार २०८० ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App