२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सडक विस्तारमा सहयोग गर्ने हेटौंडा उपमहानगरको निर्णय

नगर सभा बैठकमा सहभागी मेयर, उपमेयर लगायत।

डिभिजन सडक कार्यालय हेटौंडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुर क्षेत्रको सडक विस्तारको सूचना सार्वजनिक गरेसँगै हेटौंडा उपमहानगरपालिकाले यसमा सहयोग र सहजीकरण गर्ने निर्णय गरेको छ।

शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगर सभाको दोस्रो बैठकले हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि समन्वय, सहयोग र सहजीकरण गर्ने निर्णय गरेको हो।

सडक विस्तारको विषयमा मकवानपुरका प्रायः राजनीतिक दल अन्योल र मौन रहेको अवस्थामा उपमहानगरपालिकाको नगर सभाको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो।

हेटौंडा उपमहानगरको सौन्दर्य राम्रो बनाउँदै प्रदेशको राजधानी टिकाउनका लागि सडक विस्तारमा सहयोग गर्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। 

‘सडक विस्तार गर्ने विषयमा नगर सभाको बैठकमा उपस्थित सबैले यथास्थानबाट उठेर जोडदार ताली बजाएर समर्थन गर्ने गरेका छन्’, प्रवक्ता न्यौपानेले भने, ‘राजपत्रमा प्रकाशित भएको सडकको ‘राइट अफ वे’ अनुसारको निर्णय कार्यान्वयन गराउन र हेटौंडाको विकासका लागि सडक विस्तार गर्ने विषयमा ढिलो गर्न हुँदैन भन्नेमा सबैको एकमत रह्यो।’

डिभिजन सडक कार्यालय हेटौंडाले असार १० गते पुनः सडक क्षेत्रका अतिक्रमित घर टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको थियो। सडकको सूचनासँगै सडक विस्तारको विषय अहिले फेरि चर्चामा रहेको छ। सडक विस्तार नहुँदा हेटौंडा बजार क्षेत्रको विकासमा समेत समस्या हुँदै आएको उपमहानगरपालिकाको निष्कर्ष छ।

क्षतिपूर्ति र व्यवसायीको समस्या समाधानमा उपमहानगरपालिकाले आवश्यक समन्वय एवम् सहजीकरण गर्ने मेयर मीनाकुमारी लामाले बताइन्।

‘सडक विस्तारको विषयले बर्षौंदेखि यहाँका व्यवसायी तथा सर्वसाधारण आजित हुँदै आएका छन्। सडक विस्तार पनि हुन सकेको छैन। रोक्ने निर्णयमा पनि पुग्न सकिएको छैन’, उनले भनिन्, ‘पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर बाहेक चितवन र बारासम्म फराकिलो भैसकेको छ। मकवानपुरमा मात्र यो कार्य रोक्न पक्कै सम्भव नहोला। समग्र जिल्लाको विकासका लागि सडक विस्तार आवश्यक छ। यसमा आवश्यक सहयोग, समन्वय एवम् सहजीकरणका लागि उपमहानगरपालिका तयार छ।’ 

सर्वोच्च अदालतको मिति २०७८/९/१९ को उत्प्रेरण आदेश मार्फत् यस खण्डको सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ गज कायम भएको छ। सडक डिभिजन हेटौंडाले सडकको दायाँबायाँको घर टहरा ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ।

बजेट सर्वसम्मतिले पारित

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित भएको छ।

शनिबार भएको हेटौंडा उपमहानगरको १३ औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेट पारित गरेको हो।

असार २ गतेको नगर सभामा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरिएको थियो।

नगर सभाले आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सर्वसम्मत पारित गरेको प्रवक्ता सविन न्यौपानेले बताए।

प्रकाशित: १६ असार २०८० १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App