१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री दाहाल भन्छन्: चीन भ्रमणमा जाँदा पोखरा एयरपोर्टमा उडान गर्नेबारे ‘ब्रेक थ्रु’ हुनेछ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका केहीदिन अघि अवतरण गरेको सिचुआन एयरलाइन्सको जहाज। तस्बिरः उमेश पुन/नागरिक

औपचारिक रुपमा संचालनमा आएको ६ महिना बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि सुरु हुने भन्नेमा पनि अहिलेसम्म टुंगो पनि लागिसकेको छैन।

केही दिन अघि चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे बाहेक नियमित उडानको कुनै तयारी छैन। पोखरामा हुने एक कार्यक्रममा सहभागी हुने चिनियाँ पाहुना ल्याउनका लागि सिचुआउनको जहाज चार्टर गरेर पोखरा ल्याइएको थियो। यो नै पहिलो अन्तर्राष्ट्रिय उडानको पोखरा अवतरण थियो।

पोखराले अपेक्षा गरे अनुसार नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका व्यवसायी चिन्तित छन्। विमानस्थल प्रति निकै नै आशावादी रहेको पर्यटन क्षेत्र नियमित अन्तर्राष्ट्रिय उडानको तयारी नदेख्दा झनै बढी चिन्तित छ। व्यवसायीले विमानस्थल उद्घाटनको पहिलो दिन (२०२३ जनवरी १) देखि नै अन्तर्राष्ट्रिय उडानको माग र पहल गर्न सरकारसँग अनुरोध गर्दै  आएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान हुनेबारे आफू आशावादी रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले नै विमानस्थल उद्घाटन गरेका थिए।  प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा विभिन्न सहरबाट सिधा पोखरासम्म उडान गर्नका लागि प्रयास गर्ने उनले बताए।

‘भारत भ्रमणका बेलामा पनि हवाई उडानबारे कुरा भएको हो। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्नेबारे कुरा भइरहेको छ। भारतले एयर रुट दिनुपर्छ भन्नेमा पहिलो पटक गम्भीर भारत भ्रमणमा छलफल भएको हो,’ पत्रकारहरुसँग प्रधानमन्त्री दाहालले भने, ‘अहिले पनि लो अल्टिच्यूडका जहाज आउजाउ गर्न सक्ने भए पनि हाई अल्टिच्यूडका जहाजका लागि अलि तयारी गर्नुपर्छ। हवाई रुट दिनेबारे गम्भीर रुपमा छलफल भएको छ।’

त्यस्तै चीन भ्रमणमा जाँदा पनि आफूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेबारे छलफल गर्ने प्रधानमन्त्री दाहालले बताए। ‘चीनका विभिन्न सहरबाट पोखरामा सिधा हवाई उडान हुनेबारे प्राविधिक छलफल गरेका छौ। चीनका धेरै सहरबाट पोखरासम्म हवाईजहाज आउजाउ गर्नेमा म आशावादी र उत्साही छु,’ प्रधानमन्त्री दाहालले भने, ‘अब चीन जाँदा हवाई उडानबारे गम्भीर छलफल हुनेछ।’  

प्रधानमन्त्री दाहालले नै पोखराका व्यवसायीसँगको भेटघाटमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैँले विशेष पहल गर्ने बताएका थिए। ‘म छिट्टै चीन भ्रमणमा जाँदै छु, त्यहाँ पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे ‘ब्रेक थ्रु’ नै हुनेवाला छ,’ पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले, ‘भारत भ्रमणमा जाँदा पनि कुरा भएको छ। अन्तर्राष्ट्रिय उडान पक्का हुन्छ।’ उनले मुस्ताङको कोरला नाका संचालनबारे पनि सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक पूर्वाधार निर्माण लगायतका काम हुने जानकारी गराए।

प्रधानमन्त्रीसँगको भेटघाटको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका  पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेष खालका कार्यक्रम ल्याउन सुझाएका थिए। बजारमा भारतीय रुपैयाँको विनिमय दर नै घटेको जानकारी गराउँदै मुल्मीले यो समस्या लामो समय रहे थप समस्या बढ्न सक्ने बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालनको लागि नेपालको पूर्वतिर भएका हवाई रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलंका एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा मुल्मीको जोड थियो।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान, उत्तरगंगा जलविद्युत परियोजना निर्माण, प्रसारण लाइनको उचित व्यवस्थापनको माग गरेका थिए। कार्कीले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

‘यति बेला निजी क्षेत्रको मनोबल खस्केको छ। कर्जामा बढेको ब्याजदर, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जित मन्दीका कारण व्यवसायबाट पलायन हुने क्रम बढेको छ,’ उनले भने, ‘हामी सरकारबाट देखिने र अनुभूति हुने गरी निजी क्षेत्रको मनोबल बढाउने खालको घोषणाको अपेक्षामा छौं।’ कार्कीले पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउने, कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्य पहाडी राजमार्ग निर्माणलाई गति दिन माग गरे।  

प्रकाशित: १६ असार २०८० ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App