१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

तिलोत्तमाको नीति तथा कार्यक्रम: भुमि बैंक स्थापना गर्ने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ।

शनिबार नगर सभाको तेस्रो अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले  आर्थिक वर्ष ०८०/०८१ को नीति कार्यक्रम प्रस्तुत गरेका हुन। १ सय ५५ बुँदामा समेटिएको नीति कार्यक्रम शनिबारकै नगर सभाले पारित गरेको छ।

’समृद्ध नगर खुसी नगरवासी’ को लक्ष्य अनुरूप नीति कार्यक्रमले नगरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासकालागि स्पष्ट  खाका निर्धारण गरिएको नगर प्रमुख खाँणले बताए।

नगरको विकास र समृद्धिकालागि कृषि, पशुपालन, रोजगारी, पर्यटनलाई जोड दिँदै खेतबारीमा उत्पादन हात हातमा अनुदानको नीति लिइएको छ। प्रमुख बालीहरूमा देखा पर्ने रोगहरुको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र विशेषज्ञ सहितको बाली उपचार शिविर संचालन गरिने उल्लेख छ। वाली बिमा कार्यक्रम संचालन गर्ने भनिएको छ।

नगरपालिकामा एक भूमि बैंक स्थापना गर्ने नीति कार्यक्रममा उल्लेख छ।  सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरी उक्त जग्गामा वैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह, युवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघ संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेती तथा अन्य कृषिजन्य उत्पादन का लागि प्रोत्साहन गर्ने, सामूहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरूलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने नीति कार्यक्रममा समेटिएको छ।

मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन  गर्ने भनिएको छ। विभिन्न सुपर मार्केटहरु सँग सम्झौता गरी उक्त बजारहरुमा तिलोत्तमाको उत्पादन बिक्री वितरणको व्यवस्था गरिएको नगर प्रमुख खाँणले बताए।

पशु सेवालाई प्रभावकारी बनाउन “भेट एम्बुलेन्स” सेवा संचालन  गर्ने, “लम्पी स्किन” रोग विरुद्धको खोप नगर क्षेत्रभित्र रहेका सम्पूर्ण गाईहरूमा निःशुल्क उपलब्ध गराउने नीति कार्यक्रममा उल्लेख छ।

नगरपालिका क्षेत्रभित्रको सिक्सलेन सडक अन्तर्गत उपयुक्त स्थानमा विद्युतीय सवारी चार्ज गर्नको लागि चार्जिङ्ग स्टेशन स्थापना गरी संचालन गर्ने, आगामी दिनमा नगरपालिकाले खरिद गर्ने गाडीहरु अनिवार्य रुपमा विद्युतीय गाडी हुनुपर्ने भनिएको छ।

उज्यालो तिलोत्तमा अभियान अन्तर्गत १७ वटै वडाका प्रमुख रणनैतिक स्थानहरुमा मिनी –मास्ट बत्ती जडान गर्ने, नगरका भित्री सडकमा स्ट्रिट लाइट जडान गरिने। शंकरपुर चोक देखि नगर कार्यपालिका कार्यालयसम्म लागि निःशुल्क ई– रिक्साको व्यवस्था र नगर बस सञ्चालनको नीति लिइएको छ।

सिँचाइमा लगानी, खेतबारीमा पानी” अभियान अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सोह, छत्तिस सिँचाइ प्रणाली लगायतका सामुदायिक सिँचाइ प्रणालीहरुको मर्मत, सुधार, तथा सबलीकरण गर्ने भनिएको छ। तिलोत्तमा मा कार्यरत पत्रकारहरुको क्षमता विकासका कार्यक्रमहरू संचालन गर्ने भनिएको छ।

नगरसँग जनताको आशः व्यवस्थित र सरल नक्सा पास” घर नक्साको कार्यका लागि फरक फरक २० वटा नक्साको डिजाइन नगरपालिका आफैले तयार गरी नगरवासीलाई निःशुल्क प्रदान गर्ने उल्लेख छ।

नो हर्न नगरपालिका, वातावरणमैत्री स्थानीय शासन कार्यक्रम, छाडा चौपाया व्यवस्थापनका लागि पशु दर्ता तथा व्यवस्थापन प्रणाली, गुट्खाजन्य पदार्थ बेचबिखन नियन्त्रण र फोहोर मैला वर्गीकरण” को कार्यलाई कडाईका साथ कार्यान्वयन गर्ने नीति लिइएको छ।

प्रकाशित: ९ असार २०८० १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App