२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एयलाइन्स: आउँदा ८४ यात्रु, फर्किदा रित्तै

औपचारिक रुपमा संचालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको व्यावसायिक जहाज अवतरण गरेको छ। यात्रुसहित विमानस्थलमा अवतरण गरेको जहाज फर्किदा भने रित्तै गएको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवरण गरेको हो।  

पोखरामा आगामि शुक्रबार र शनिबार हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागि हुन आउने पाहुनालाई लिएर जहाज पोखरा आएको हो। १५८ सिट क्षमताको एयरबस–३१९ जहाजमा ८४ जना यात्रु रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले जानकारी दिईन। सुवेदीका अनुसार जहाज ११ बजे पोखराबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौं जाँदा भने जहाजमा कोहीपनि यात्रु थिएनन।  

‘छेन्दु–पोखरा चार्टर्ड उडान हो। चार्टर्ड उडानमा एकतर्फी वा दुइतर्फी यात्रु हुन सक्छन। तर, यो उडानमा एकतर्फी मात्र यात्रु थिए। पोखराबाट काठमाडौं जाँदा भने कोही यात्रु थिएनन,’ उनले भनिन। काठमाडौं गएको जहाजले नियमित उडान अनुसार यात्रु लिएर छेन्दु जाने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बताएको छ। व्यावसायिक रुपमा संचालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण भएपनि पोखराबाट अन्तर्राष्ट्रिय उडानको भने अझै टुंगो छैन। प्रवक्ता सुवेदीले भनिन, ‘अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन।’

पहिलो टोलीलाई भव्य स्वागत  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण भएको खुसीयालीमा जहाजमा आएका यात्रु र उच्चपदस्थ पाहुनालाई यहाँ भव्य स्वागत गरिएको छ। पोखरा आएका चिनियाँ पाहुनाको स्वागतमा यहाँका मुख्य सडकमा होर्डिङबोर्डहरु झुन्ड्याइएको छ। पाहुनाको स्वागतार्थ विमानस्थलमा भव्य कार्यक्रम गरिएको थियो।

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय गन्तव्यबाट जहाज आएपछि पोखरेली खुसी भएका छन्। पर्यटन व्यावसायीले नियमित उडान हुन सके पोखरामा थप विदेशी पाहुना भिœयाउन सकिने बताए। पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलो चार्टर्ड उडान भएपनि अब नियमित उडानका लागि पहल हुनुपर्ने बताउँछन्। चिनियाँ पाहुुनाप्रति पोखरेली पर्यटन क्षेत्र बढी आशावादी रहेको भन्दै चिनियाँ हवाई कम्पनिले आगामि दिनमा पोखरामा थप चार्टर्ड उडान राख्ने अपेक्षा रहेको उनले बताए। ‘आगामि दिनमा पनि चिनियाँ हवाई कम्पनिले पोखरामा चार्टर्ड उडान राख्न सक्ने भए। अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ,’ उनले भने, ‘अब दोश्रो उडान कहिले भन्ने यकिन नभएपनि यो सुरुवातले सुखद् सन्देश प्रवाह गरेको छ।’  

नियमति उडानका लागि सरकारलाई निरन्तर दवाव आवश्यक रहेको उनले बताए। ‘सरकारलाई दवाव नदिएसम्म हुँदैन। यो नै पूर्ण होईन, तर सुरुवात हो। अन्तर्राष्ट्रिय गन्तव्यबाट जहाज आउने ढोका खुलेको छ। तर, निरन्तरका लागि थप प्रयास हुनुपर्छ,’ उनले भने, ‘चिनियाँ र भारतीय हवाई कम्पनिलाई पोखरा आउन सहज छ। दुइ छिमेकी मुलुकका हवाई कम्पनिले नियमित उडान राख्ने हो भने त्यसले पोखराको पर्यटनमा लाभ दिन्छ।’ पोखराको यो विमानस्थलबाट अहिले आन्तरिक उडान भने नियमित नै भईरहेको छ।

चीनबाट आएको जहाजका यात्रुलाई पोखरामा स्वागत गर्दै पर्यटन मन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गरेको र अब नियमित उडानका लागि थप पहल आवश्यक रहेको बताए। ‘सुरुवात हुनु आफैमा राम्रो हो। यसलाई थप नियमित बनाउनु झनै महत्वपूर्ण हुन्छ,’ उनले भने।

प्रकाशित: ६ असार २०८० ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App