८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सुरु

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ। नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा यही जेठ २९ र ३० गते राजधानीमा हुन लागेको हो।

सन् २०२१ मा विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा समेत तत्कालीन प्रधानमन्त्रीले सो अभियानमा विश्वसँग सहकार्य गर्ने भनेर प्रतिवद्धता गरेका थिए। नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको समग्र अवस्था नसुधारिकन देशको सर्वांगीण विकास हुन नसक्ने कुरामा समेत दुई मत छैन।

नवौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलन तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ का अध्यक्ष अतुल उपाध्यायका अनुसार नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न सम्मेलनले सघाउ पुर्‍याउँछ।

‘नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको अवस्थामा थप सुदृढीकरण गर्न गरिँदैछ,’ उनले भने ‘नेपालमा अवस्थित परम्परागत एवं ग्रामीण प्रविधिको प्रवद्र्धन गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ। नेपालको समग्र खाद्य इको सिस्टमको दिगो विकास गरिनेछ।’ आयोजकका अनुसार सम्मेलनले देश तथा विदेशमा रहेका वैज्ञानिक एवं अनुसन्धानकर्ताहरूको शोधपत्र, छलफल, प्राविधिक प्रदर्शनी लगायतबाट प्राप्त वैज्ञानिक निष्कर्षबाट सिर्जित हुने काठमाडौं घोषणा पत्र प्रकाशन गर्ने लक्ष्य रहेको छ।

सो घोषणा पत्र आवश्यकता अनुसार प्रधानमन्त्रीको कार्यालय लगायत विभिन्न मन्त्रालय एवं निकाय, नीति निर्माता, निजीक्षेत्र, संयुक्त राष्ट्र संघका निकाय, विकास साझेदार संस्था एवं सम्पूर्ण सरोकारवाला माझ पैरवी तथा जन चेतना अभिवृद्धिमूलक कार्यक्रमहरू गर्नका लागि प्रयोग गरिने छ। कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालबाट उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App