१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लक्ष्मणपुर बाँध समस्याको समाधान खोज्न सांसदको माग

बाँकेको सीमावर्ती क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध  भत्काउन सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बाँकेका प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल, डा. धवलशम्शेर राणा र लक्ष्मी तिवारीले लक्ष्मणपुर बाँध भत्काउन माग गरेका हुन्।

लक्ष्मणपुर बाँधले नरैनापुर र डुडुवाका अधिकांश जनता डुवानको समस्यामा परेको सांसद ढकालले बताए। ‘यस विषयमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा छलफल भयो भएन ? भयो भने कस्तो छलफल भयो बाँकेवासीलाई जवाफ दिनुपर्छ,’ उनले भने।

‘आजभन्दा २८ वर्ष अघि २८ बुँदे माग राखेर हिंसात्मक युद्ध भएको थियो। त्यो युद्धमा १७ हजारले बलिदान गरेका थिए। अर्बौका भौतिक संरचना तहसनहस भएका थिए। ती बुँदामध्ये नौवटा भारतसँग सम्बन्धित थिए,’ उनले भने। प्रधानमन्त्री भारत जाँदा आफैंले पेस गरेका नौवटाका बुँदा किन छलफल गर्न सक्नु भएन भन्दै उनले प्रधानमन्त्री दाहालसँग जवाफ माग गरे।

बाँकेको सीमावर्ती क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध  भत्काउन सांसदहरूले माग गरेका छन्।

यस्तै सांसद राणाले डुडुवा गाउँपालिकाका तीनवटा वडा भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधले हरेक वर्ष डुवानमा पर्ने गरेको बताए। ‘ती वडाका लागि भारतले डिपीआर बनाइसकेको थियो। यसपालिको प्रधानमन्त्रीको भ्रमणमा डिपीआर बन्नेमा आशावादी थियौं,’ उनले भने, ‘तर त्यो हुन सकेन। फेरि बाँकेको डुडुवाका तीनवटा वडा डुब्ने भएकाले सरकारले दीर्घकालीन समाधान खोज्नुपर्छ।’

यस्तै भैरहवा र नेपालगञ्जबाट उड्ने एयर रुट दिएकोमा नागरिक विश्वस्त नरहेको राणाको भनाइ छ। ‘कहिलेसम्म जहाज उड्छन्। हामीलाई झुक्याएको हो कि भनेर आशंका छ,’ उनले भने।

सांसद तिवारीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न गरिन्, ‘बाँकेका नागरिक वर्षौंदेखि डुबानमा परिरहेका छन्। लक्ष्मणपुर बाँध नबनेर सास्ती हुने गरेको छ। सधैं अनुगमनमा मात्र जाने काम भएको छ। अस्ती मैले मन्त्रालयमा गएर बुझ्दाखेरि अनुगमनमा जान्छौं भन्नुहुन्छ। त्यो बन्नेचाहिँ कहिले हो? भत्किने कहिले हो?’ उनले प्रधानमन्त्री दाहाललाई प्रश्न गरिन्, ‘बाँके हजुरकी सौतेनी आमाको सन्तान हो र?’

बाँकेको नेपालगञ्जमा अहिले १७ वर्षको नाबालिकलाई २१ वर्षको केटाले लिएर गएको छ। यसको पनि छिटोभन्दा छिटो खोजी गर्नुपर्ने कहिले गरिन्छ? उनले भनिन्।

यस्तै प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले लक्ष्मणपुरमा बाँध बाँधेर भारतले सिँचाइ गरिरहेको र नेपाललाई घाटा भइरहेको बताए। भारतले बाँध बाँध्दा सिँचाइ गर्न नसकिएको अवस्थाको समाधान गर्न माग गरेका छन्। ‘प्रधानमन्त्री अघिल्लोपटक भारत जाँदा पनि कुरा भएको थियो। बाँध बाँध्न पाइन्न भन्ने हामीले सुनेका थियौं। भ्रमणको बेला केके कुरा भयो, भारतसँग,’ उनले भने।

उक्त समस्या समाधान गर्न राप्ती डाइभर्सनका लागि बजेट माग्दा पनि बजेटबाट हटाइएको भन्दै उनले गुनासो समेत व्यक्त गरे। यसको शीघ्र समाधान गर्नुपर्ने उनको माग छ। लक्ष्मणपुर बाँधको विषयमा गम्भीररूपमा कुराकानी भएको र भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए।

बाँकेको नेपालगञ्जमा अहिले १७ वर्षको नाबालिकलाई २१ वर्षको केटाले लिएर गएको छ। यसको पनि छिटोभन्दा छिटो खोजी गर्नुपर्ने कहिले गरिन्छ? उनले भनिन्।

भारतले बाँकेको राप्ती नदीमा सन् १९८१ मा बाँध बाँध्न सुरु गरेको थियो। उक्त बाँध सन् १९८५ मा निर्माण सम्पन्न भयो। राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण भएदेखि विरोध हुँदै आएको छ। त्यहाँ २५ किलोमिटर लामो बाँध निर्माण गरिएको छ। उक्त तटबन्ध अन्तर्राष्ट्रिय कानुनविपरीत निर्माण भएको छ भनेर विरोध हुँदै आएको छ।

यसमा बाँकेका तत्कालीन पाँचवटा गाविस होलिया, बेतहनी, फत्तेपुर, गंगापुर र मटैहियामा डुबान र कटान पटान समस्यामा छन्। जुन बर्सेनि बढ्दो क्रममा छ। यसबाट १५ हजार बढी बासिन्दा हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन् तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिइएको छैन। त्यसले नेपालका साविक पाँचवटा गाविसका ३३ गाउँलाई नै डुबाउने काम गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०८० ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App