भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सम्झौता भएको नेपाल आयल निगमले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवं ग्यास मन्त्री हर्दिप सिंह पुरीले हस्ताक्षर गरे। सम्झौता पत्रमा दुई पाइपलाइन र झापाको टर्मिनल भारतको लगानी र चितवनको लोडरमा ग्रीन फिल्ड टर्मिनल नेपाल आयल निगमको लगानीमा निर्माण गर्ने उल्लेख छ। यो टर्मिनल निर्माणमा इन्डियन आयल कर्पोरेसनले प्राविधिक सहयोग गर्नेछ।
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।
भारतसँगको सम्झौताले इन्धन आपूर्तिमा व्यवस्थित गर्न सघाउ पुग्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए। ‘पाइपलाइन बनेपछि ढुवानीमा खर्च हुँदै आएको अर्बौं रूपैयाँ जोगिन्छ,’ थानीले भने, ‘भण्डारण स्थल निर्माणले इन्धन आपूर्तिमा सहज हुन्छ।’
कुल २६ अर्ब ९३ करोड रूपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ। दुई देशबीच सम्झौता भएपछि यी सबै परियोजनाको निर्माण भने भारत सरकार स्वामित्वको आइओसीले गर्नेछ।
नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ। प्रतिवेदन सन् २०२१ मा तयार गरिएकाले मूल्यवृद्धिसँगै लागत बढ्ने अनुमान छ। अमलेखगन्जदेखि लोथरसम्मको ६२ किलोमिटर लामो पाइपलाइन निर्माण लागत २७४ करोड भारु छ।
चितवनको ग्रिनफिल्ड टर्मिनल निर्माणको लागत ६१८ करोड भारु छ। यो टर्मिनल निर्माण खर्च निगमले बेहोर्नेछ। त्यसैगरी ५० किलोमिटर लामो सिलगुढी–झापा पाइपलाइनको लागत २८८ करोड भारु र झापाको टर्मिनल निर्माण लागत ५०२ करोड भारु छ।
नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ।
यी परियोजनाको आइओसी र निगमले संयुक्त रूपमा अध्ययन गरेका थिए। झापाको इन्धन भण्डारण टर्मिनलको क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता १ लाख ३ हजार १५० किलोलिटर हुनेछ। निगमको समेत लगानीमा आइओसीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेपछि अहिले भारतबाट पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ।
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि चल्दै आए पनि २०७६ भदौ २४ गतेदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनमा आएको हो। पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा दर्जनौं फाइदा देखिएपछि निगमले नयाँ पाइपलाइन परियोजना निर्माण गर्न लागेको हो।
पाइपलाइन निर्माणले ढुवानी भाडा बचत हुनुका साथै नेपालमा आउने पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्छ। पाइपलाइनबाट ल्याउँदा पेट्रोलियम पदार्थ सस्तो हुने, चोरी, चुहावट र मिसावटमा समस्या हुँदैन। तेल ट्यांकर हिँड्दाको ट्राफिक जामको समस्यासमेत हल हुनेछ भने वातावरण प्रदूषणसमेत घट्ने विज्ञहरू बताउँछन्।
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि चल्दै आए पनि २०७६ भदौ २४ गतेदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनमा आएको हो।
सिलगुढी–झापा पाइपलाइनले पूर्वी नेपाल र त्यसमा पनि कोसी प्रदेशमा आपूर्ति व्यवस्थापन गर्न सहज हुन्छ। अहिले सञ्चालनमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले मुलुकको माग धान्न नसक्ने भएपछि निगमले पूर्वी भागलाई समेट्ने गरी यो पाइपलाइन निर्माण गर्न लागेको हो।
सिलगुढी–झापा पाइपलाइनमा करिब ३५ किलोमिटर भाग भारत र १५ किलोमिटर भाग नेपालमा पर्छ। भारतले पाइपलाइन निर्माण गरेर आफ्नो धेरै भूभागमा आपूर्तिको व्यवस्था गरिसकेको छ। पाइपलाइन सिलगुढीसम्म पनि जोडिइसकेकाले झापासम्म थप विस्तार गर्न सहज भएको निगमका अधिकारी बताउँछन्।
प्रकाशित: १९ जेष्ठ २०८० ०२:०९ शुक्रबार