७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

भारतबाट दुध आयात हुँदैः चितवनका किसानले गरे विरोध

राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न सिफारिस गरेपछि चितवनका किसानले विरोध गरेका छन्। चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले कुनै अध्ययन नै नगरी भारतबाट दूध ल्याउन लागेको आरोप लगाए। ‘राष्ट्रिय दुग्ध विकास बोर्डले १ लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात सिफारिस गरिएको भन्ने आएको छ’, भरतपुरमा पत्रकार सम्मेलन गर्दै बगालेले भने, ‘यो किसानका लागि दुःखद् विषय हो। दूधको आवश्यकता बढेको हो भने अध्ययन गर्न जरुरी छ। आयात गर्नुभन्दा उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्छ।’

बगालेले नेपाललाई आवश्यक पर्ने दूध स्वदेशमै हुने बताए। उनले किसानले बेच्दै आएको दूधको मूल्य घटाउनका लागि भारतबाट आयात गर्न लागेको जिकिर गरे। दूधको बजार घटेको अवस्थामा भारतबाट आयात गर्न खोज्नु दुःखद् विषय रहेको उनले बताए। ‘यतिखेर चितवन मिल्क उद्योगकै ४० हजार लिटर पाउडर दूध बिक्री भएको छैन। दही, पनिरलगायतका दुग्धजन्य पदार्थको अवस्था पनि उस्तै छ’, उनले भने, ‘बजार घटेको अवस्थामा किसानलाई समस्या पर्ने गरी बाहिरी मुलुकबाट ल्याउन पाइँदैन।’ आयात गर्नुभन्दा उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने किसानको माग छ। दूध उत्पादनको आवश्यक तथ्यांकसमेत नेपाल सरकारसँग छैन।

अहिले चितवनबाट राष्ट्रिय दुग्ध विकास बोर्डमा २० प्रतिशत कम दूध जाने गरेको छ। दुग्ध विकास संस्थान (डीडीसी) ले सहकारीलाई समयमै भुक्तानि नदिँदा निजी उद्योगलाई बेच्दै आएका छन्। ‘अहिले डीडीसीले पर्याप्त मात्रामा दूध नपाएको भन्ने छ। किसानले भुक्तानी नपाएर हो’,उनले भने, ‘समयमै भुक्तानी गरे चितवनका किसान डीडीसीलाई नै दूध बेच्न तयार छन्।’ चितवनबाट दैनिक १५ हजार लिटर दूध डीडीसीले लैजाँदै आएको छ। यसअघि ५० हजार लिटर दूध जाने गरेको उनले बताए। उनका अनुसार ३० वटा सहकारीबाट डीडीसीले दूध खरिद गर्छ, तर चार महिनादेखि उनीहरूलाई भुक्तानी दिइएको छैन। बगालेका अनुसार डीडीसीले एउटा सहकारीलाई १५ देखि २० लाख रूपैयाँसम्म भुक्तानी गर्न बाँकी छ।

गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी दैनिक परिमाणात्मक बन्देजसहित आयात खोलिएको थियो। अहिले पनि दूध अभाव भएको डीडीसीको भनाइ छ। मन्त्रालयमा डेरी उद्योगहरूले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गर्दै निवेदन दिएका थिए।

दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ भने तुरुन्तै दूधको आयात खुलाइहाल्नुपर्ने पक्षमा छन्। किसानले भने ग्रामीण भेगसम्म पुगेर दूध संकलन गर्न नै उद्योगहरूले जाँगर नगर्दा यस्तो अवस्था आएको बताउँदै आएका छन्। चितवनमा दैनिक साढे तीन लाख लिटर दुध उत्पादन हुँदै आएको छ। यहाँबाट बाहिरी जिल्लामा साढे २ लाख लिटर जाने गरेको छ।

पछिल्लो समय अधिकांश सहकारीले निजी उद्योगलाई नै दूध दिन थालेका छन्। १५ हजार लिटर मात्र डीडीसीले लैजाने गरेको छ। तीन महिनाअघि दूधको मूल्यसमेत बढेको छ। किसानले चार फ्याट र ८ एफएनएस भएको दूधलाई प्रतिलिटर ६५ रूपैयाँमा बेच्दै आएका छन्। उपभोग मूल्य भने १ सय ३० रूपैयाँ रहेको छ। अध्ययन नै नगरी भारतबाट दूध आयात गरेमा किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: २३ वैशाख २०८० ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App