७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्र मन्दीबारे संवेदनशील हुन आवश्यक’

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्बित गरेको छ। कार्यालयका अनुसार यस वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। यससँगै पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको छ।

उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजीक्षेत्र संकुचित हुँदै गएको संकेत हो। नेपाल उद्योग वाणिज्य महासंघले एक वर्षदेखि अन्तराष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ। ‘सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोतर्फ महासंघ गम्भीर ध्यानाकर्षण गराउँदछ’, महासंघद्वारा प्रेस विज्ञप्तिमा भनिएको छ।

महासंघले यस अवस्थामा सरकार र नेपाल राष्ट्र बैंक सम्वेदनशील हुनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरेको छ। महासंघका अनुसार अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्नेछ। उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक रहेको हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौती गरी पुँजीगत खर्च बढाउन महासंघ आग्रह गर्दछ।

यसैगरी निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्न सुझाब दिएको छ। त्यसैगरी केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरी ब्याजदर घटाउन पहल गर्न पनि भनेको छ। यस अतिरिक्त पुराना ऋणीहरूले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरूको खराब कर्जासमेत करिब चार प्रतिशत पुगिसकेकाले कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरणको सुविधा दिइनुपर्ने सुुझाव महासंघको छ।

महासंघका अनुसार नौ महिना यता लगातार सात प्रतिशतभन्दा बढी मूल्य वृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ। निजीक्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत सँगसँगै प्रभावित भइरहेकाले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिदै जानेतर्फ ध्यानाकर्षण गराउँदै महासंघ, सरकार र केन्द्रीय बैंकको संवेदनशीलताका लागि पुनः आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ।  

प्रकाशित: २२ वैशाख २०८० ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App