१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिजनमै चिनीमा कालोबजारी

काठमाडौं-उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने सिजनमै व्यापारीले भाउ बढाएर कालोबजारी गरेका छन्। चिनी कम उत्पादन भएको र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्टक सकिन लागेको सुइँको पाएपछि व्यापारीले एकाएक भाउ बढाएका हुन्।

चिनीको भाउ बढाएर किलोको ९० रुपैयाँ पु¥याएका छन्। यो वर्ष उखु उत्पादन घटेर चिनी उत्पादन कम हुने भएपछि चिनीको भाउ किलोमै नौ रुपैयाँम्म वृद्धि गरेका हुन्। कर्पोरेसनले अहिलेसम्म चिनी होलसेल मूल्य ७८ रुपैयाँ ५० पैसा र खुद्रा मूल्य ८१ रुपैयाँमा बेचिरहेको छ।

चिनी उद्योगले उखु क्रसिङ गरेर चिनी उत्पादन गरिरहेको अवस्थामा चिनीको भाउ बढ्नु अस्वभाविक मानिन्छ । कर्पोरेसनसँग स्टक चिनी सकिएको र उत्पादनमा भारी गिरावट भएपछि मौका छोपेका हुन् । मागको आधारमा उत्पादन र आयात नभए पनि व्यापारीले उपभोक्तालाई ठग्ने गरेका छन् ।

नेपाल चिनी उद्योग संघले यो वर्ष करिब एक लाख २९ हजार मेट्रिक टन चिनी उत्पादन हुने जनाएको छ। यहाँ वार्षिक करिब दुई लाख ३० हजार मेट्रिक टन चिनी खपत हुन्छ ।

स्टक सकिएपछि बजार मूल्य नियन्त्रण गर्न कर्पोरेसनले करिब ५० हजार मेट्रिक टन चिनी विदेशबाट खरिदको व्यवस्था मिलाइदिन आपूर्ति र अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । ‘करिब एक लाख मेट्रिक टन चिनी आयात गर्नुपर्ने देखिन्छ,’ साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले भने, ‘चिनी उत्पादन घट्नासाथ बजारमा चिनीको भाउ बढ्यो ।’

बजारलाई सन्तुलन गर्न करिब ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउन प्रस्ताव गरिएको उनले बताए। ‘हामीसँग चिनी नभएपछि उखु क्रसिङकै सिजनमा चिनीको भाउ बढेको छ,’ झाले भने, ‘समयमै खरिद गर्न सकिएन भने उपभोक्ताले अझै चर्को मूल्य तिर्नुपर्ने बाध्यता हुन सक्छ ।’ झाका अनुसार अब कर्पोरेसनसँग करिब एक हजार पाँच सय मेट्रिक टनमात्र चिनी छ ।

बजारमा मूल्य नियन्त्रण गर्न एक प्रतिशत भन्सार लाग्ने गरी चिनी आयात गर्न दिन सरकारलाई अनुरोध गरिएको कर्पोरेसनका सह–महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘सहुलियतमा चिनी ल्याएर मूल्य नियन्त्रण गर्न सहुलियतको चिनी ल्याउन पहल सुरु गरेका छौं,’ भण्डारीले भने, ‘अर्थ मन्त्रालयबाट अनुमति आउनासाथ खरिद गर्छौं ।’

बजारमा चिनी अभाव हुन नदिन करिब पाँच अर्ब रुपैयाँका चिनी किन्न कर्पोरेसनले प्रक्रिया अघि बढाए पनि फाइल अर्थमा अड्केर बसेको छ । अर्थका अधिकारीको हेलचेक्र्याइँले चिनी आयातमा ढिलाइ हुने आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । ‘हामीले फाइल अर्थ मन्त्रालयमा पठाएका छौं,’ ती अधिकारीले भने, ‘तुरुन्त चिनी खरिद नगरे व्यापारीले भाउ अझै बढाउने निश्चित छ ।’

सरकारले अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरेको उपभोक्ताको आरोप छ । चिनी आधारभूत आवश्यकताको वस्तु भएकाले व्यापारीले मनपरी मूल्य लिन नपाउने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘अति आवश्यक वस्तुमा राज्यका निकायले निगरानी नगर्दा व्यापारीले मनपरी मूल्य लिने गरेका छन्,’ उनले भने, ‘प्रभावकारी अनुमगन नहुँदा यस्तो समस्या पटक–पटक दोहोरिन्छ ।’

ठूला व्यापारीको कारण बजारमा चिनीको भाउ बढेको बिक्रेता बताउँछन् । सरकारी तयारी फितलो भएकाले बजारमा कालोबजारी हुने गरेको नेपाल व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । ‘साल्ट ट्रेडिङमा चिनी सकिन थाल्नासाथ ठूला व्यापारीले भाउ बढाउँछन्,’ उनले भने, ‘यसमा सरकारी अधिकारीको पनि लापरबाही छ।’ चिनी खरिदमा भन्सार छुट पाउने साल्ट ट्रेडिङले चिनी किन्न ढिला गर्न नहुने उनले बताए। आपूर्ति र अर्थ मन्त्रालयले पनि कति चिनी चाहिन्छ भनेर बजारको अध्ययन गर्नुपर्ने बज्राचार्यले बताए। ‘समयमै चाहिने जति चिनी नझिकाउँदा हरेक वर्ष यस्तो समस्या दोहोरिन्छ,’ उनले भने।

आपूर्ति मन्त्रालयले भने चिनी आयात गरी बजारको सन्तुलन गर्न पहल गरिरहेको जनाएको छ । ‘चिनी ल्याउने प्रक्रियाको लागि सहजीकरण गरिरहेका छौं,’ आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्य श्रेष्ठले भने, ‘चिनीमा कालोबजारी गर्नेलाई अनुगमन गरेर कारबाही गर्छौं।’

चिनी उद्योगीले कार्टेलिङ गर्न सक्ने भन्दै सरकारले विगतदेखिनै एक प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न दिएपछि कर्पोरेसनले ल्याएर बेच्ने गरेको छ । उत्पादन घटेको बहानामा उद्योगीले कृत्रिम अभाव सिर्जना गरी भाउ बढाउने गरेका छन् । नेपालमा चिनीका १३ उद्योग रहे पनि बजार माग थेग्ने गरी उत्पादन गर्न सक्दैनन् । मुुलुकको रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलवस्तु, कञ्चनपुरका किसानले उखु खेती गर्दै आएका छन्।

 

प्रकाशित: २६ माघ २०७३ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App