२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

केहदिन अघि पोखरामा प्याराग्लाइडिङ गर्दै चिनियाँ पर्यटक। फाइल तस्बिरः नागरिक

गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटायो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पारेको थियो। त्यसपछि चिनियाँको आगमनको आकार बढ्दै गएको व्यवसायीले बताएका छन्। कोरोना भाईरस संक्रमण सुरु भएपछि चिनियाँ पर्यटकको घुमघाम रोकिएको थियो। कोरोना मत्थर भएपछि बल्ल चीनले आफ्ना नागरिकको घुमघाम खुकुलो बनायो।  

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सहयोग र निर्माण कम्पनिले नै बनाएकोले चीनका कुनैपनि सहरलाई पोखरासम्म जोड्नेगरि उडानको पहल गरिदिन आग्रह गरेका बताए। ‘चीनले आफना पाहुनालाई नेपाल घुम्न जाउ त भनेको छ। तर, आउजाउ सहज छैन। चीनको कुनै एउटा सहरसँग हवाई सञ्जाल बिस्तार हुनेगरि पोखरालाई जोड्न सके थप चिनियाँ पाहुना भिœयाउन सकिनेमा आशावादी हौ,’ श्रेष्ठले भने, ‘चिनियाँ सहर र पोखरालाई सिधा हवाई उडान मार्फत जोड्ने हो भने त्यसले पोखराको पर्यटन क्षेत्रलाई निकै नै माथि उकास्नेछ।’

अहिले काठमाडौंसम्म जोड्नेगरि चीनको सिचुवान एयरलाइन, चाइना साउदर्न र एयर चाइनाले उडान गरिरहेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा संचालनमा आएपनि अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय उडान सुरु भएको छैन। त्यसैले पर्यटन व्यवसायीले चिनियाँ सहरलाई पोखरासम्म जोड्नेगरि हवाई उडानको पहल गरिदिन राजदुतमार्फत आग्रह गरेको श्रेष्ठले जानकारी दिए। 

‘कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्याप्त चिनियाँ पाहुनाको नेपाल आगमन जरुरी छ,’ उनले भने, ‘चिनियाँ पाहुना पर्याप्त मात्रामा भित्रिने हो भने त्यसले नेपालको अर्थतन्त्र उकासिनेमा आशावादी भएकोले हवाई उडानको पहल गर्न अनुरोध गरेका हौ।’

नेपालको पर्यटन क्षेत्रका लागि मित्रराष्ट्र चीन महत्वपूर्ण श्रोतबजार भएको व्यावसायीले बताउँदै आएका छन्। ‘पछिल्लो समय चीनले नेपाललाई घुमघामका लागि उपयुक्त गन्तव्य बनाएको र नेपाल भित्रिने चिनियाँ पर्यटकका लागि पोखरा पहिलो गन्तव्यको रुपमा रहेकोले पनि सिधा उडानको आवश्यकता महसुस गरेका हौ,’ श्रेष्ठले भने, ‘पोखराबाट चीनका विभिन्न सहरसम्म सिधा हवाई उडान हुने हो भने पर्यटक भिœयाउन निकै नै सहज हुने थियो। चिनियाँ पर्यटकले अत्यधिक रुचाएको सहर पोखरामा सिधै ओर्लिन पाउँदा आगमनको आकार पनि बढ्ने अपेक्षा हो।’  

व्यावसायीले चीनको बेइजिङ, छेन्दु, ग्वाङजाउ, कुन्मिङ, संघाईसम्म पोखरालाई सिधा हवाईमार्गबाट जोड्ने पहल गरिदिन राजदुतमार्फत आग्रह गरेका थिए। व्यावसायीको प्रस्तावमा नेपालका लागि चिनियाँ राजदुत चेन सङ ले सिधा उडानका लागि सक्दो पहल गर्ने वचन दिएको श्रेष्ठले बताए। त्यसबाहेक नेपालस्थित चिनियाँ दुतावासले आयोजना गर्ने ड्रागन बोट रेस पनि योपटक पोखरामा आयोजना गर्ने प्रतिवद्धता व्यावसायीले गरेका छन। आगामि जुन २२ र २३ मा ड्रागन बोट रेस पोखरामा आयोजना गर्ने उनले बताए। यो रेसका कारण थप चिनियाँ पर्यटक पोखरा भित्रिने अपेक्षा व्यावसायीको छ।

‘चीनबाट काठमाडौं जोड्नेगरि हवाई उडान सुरु भएपछि चिनियाँ पाहुनाको आगमन बढेको पनि छ। पछिल्लो समय समूहगत रुपमा पनि चिनियाँ पाहुना नेपाल आउन थालेका छन,’ उनले भने, ‘सिधा उडानले पोखरासम्म जोड्न सके अहिले भन्दा धेरै चिनियाँ पर्यटकलाई सिधै पोखरा ओराल्न सक्ने सम्भावना रहेकोले यो पहल थालेका हौ।’

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा १ लाख ५३ हजार ६३३, २०१९ मा १ लाख ६९ हजार ५४३, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९८ र २०२२ मा ९ हजार ५२४ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को पहिलोमहिना जनवरीमा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या १४ सय ३१, फेबुअरीमा २२ सय ६६ थियो। मार्चमा यो आकार २६ सय ३५ थियो।  

सन् २०१४ मा एकलाख २४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। त्यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा झरेकोमा सन् २०१६ र २०१७ मा आगमन बढेर एकलाख चार हजारमा उक्लिएको थियो। व्यावसायीका अनुसार चिनियाँ पाहुना समूहमा हिँड्छन्। अधिकांश प्याकेजमा मात्र यात्रा गर्छन् । किनमेल र आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा निकै नै रमाउँछन्। पोखरामा अहिले चिनियाँ पर्यटकलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट झन्डै डेढदर्जन छन्।

सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा सीमित चिनियाँ नेपाल आउने गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८० ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App