१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मूल्यवृद्धि अझै उच्च

काठमाडौं- मूल्यवृद्धि अझै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सोमबार सार्वजनिक गरेको मंसिर महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि अझै ३.८ प्रतिशत रहेको देखाएको छ।

बर्खे बाली उत्पादन वृद्धि, आपूर्तिमा सहजता तथा भारतीय मूल्यवृद्धिमा कमी आए पनि मंसिर महिनामा मूल्य बढेको छ। पोहोर मंसिरको तुलनामा यसपालिको मूल्य वृद्धि दर कम भए पनि सहज परिस्थितिमा ३.८ प्रतिशतको मूल्य वृद्धिलाई उच्च मान्नुपर्ने विज्ञहरु बताउँछन्।

सामान्य परिस्थितिमा पनि ३.८ प्रतिशतको महँगीलाई उच्च मान्न सकिने अर्थविद् विश्वम्भर प्याकुर्‍यालले सोमबार नागरिकलाई बताए। 'अहिले पनि मूल्यवृद्धि माथि नै छ,' उनले भने, 'सीमित उत्पादनका आधारमा गरिएको अनुसन्धानले पनि मूल्यवृद्धि दर माथि गएकेा देखाउँछ।'

भौतिक निर्माणका सामग्री, पानी लगायतको मूल्यवृद्धि हेर्ने हो भने अहिले पनि मूल्यवृद्धि दर दोहोरो अंकमा पुगेको उनले बताए। 'निर्माण सामग्रीमा १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको छ,' अर्थविज्ञ प्याकुर्‍यालले भने, 'समग्र सामग्रीको मूल्यवृद्धि हेर्ने हो भने डबल डिजिटभन्दा कम छैन।'

अघिल्लो वर्षको यही समयमा मूल्यवृद्धि ११.६ प्रतिशत थियो। त्यसबेला भूकम्प र नाकाबन्दीको असरले उपभोक्ता उच्च मूल्यवृद्धिको चपेटामा परेका थिए।

अहिलेको सहज परिस्थितिमा पनि उपभोक्ताहरु मूल्यवृद्धिको मारमा परेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अहिले मूल्यवृद्धि हुनुपर्ने कारण देखिँदैन, तर ३.८ प्रतिशतको मूल्यवृद्धि छ। यसलाई कम मान्न नमिल्ने विज्ञहरुको भनाइ छ।

पोहोरभन्दा यसपालि केही राहत मिले पनि अझै पनि मूल्यवृद्धिको मारबाट उपभोक्ता मुक्त हुन सकेका छैनन्। राष्ट्र बैंकको तथ्यांकलाई हेर्ने हो भने मंसिर महिनामा सबैभन्दा बढी मूल्यवृद्धि पहाडमा छ। पहाडमा ५.६ प्रतिशतले मूल्य बढेको छ। त्यसपछि तराई र हिमालमा मूल्यवृद्धि भएको तथ्यांक छ। उक्त महिनामा तराई र हिमाल दुवैमा समान ३.७ प्रतिशत मूल्यवृद्धि भएको छ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा सो अवधिमा पहाड, तराई र हिमालमा भन्दा काठमाडौं उत्पत्यकामा सबैभन्दा कम मूल्यवृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। मंसिरमा काठमाडौं उपत्यकामा २.५ प्रतिशतमात्र मूल्यवृद्धि भएको छ। अघिल्लो वर्ष काठमाडौंमा भाउ १३.२ प्रतिशतले बढेको थियो।

अघिल्लो सालको मंसिरमा पहाडमा १२.४ प्रतिशतले, तराईमा १०.२ र हिमालमा १०.३ प्रतिशतले भाउ बढेको थियो।

पोहोरभन्दा यसपालि दाल, गेडागुडी, घिउ, तेल, फलफूलको भाउ नै घटेको छ। पोहोरको तुलनामा मसला, माछामासु, दूध तथा अण्डाको भाउ केही बढेको छ।

समीक्षा अवधिमा खाद्यमा मूल्यवृद्धि ०.६ प्रतिशत रहेको छ। पोहोर यो १४.८ प्र्रतिशत थियो। यस समूह अन्तर्गतको घिउ र तेलको मूल्य २०.५ प्रतिशत, दलहन तथा गेडागुडीको ६.६ प्रतिशत, फलफूलको २.४ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको १.१ प्रतिशतले घटेकाले समग्र खाद्यको मूल्य वृद्धिदरमा कमी आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। उक्त अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १४.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.६ प्रतिशतले बढेको छ।

यसैगरी गैर–खाद्यमा मूल्य वृद्धिदर ६.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मूल्यवृद्धि ९.१ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको यातायात तथा सञ्चारको मूल्यवृद्धि गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मूल्य वृद्धिदर कमी हुन आएको राष्ट्र बैंकको भनाइ छ।

रेेमिटेन्स वृद्धिदरमा पनि कमी आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। मंसिरमा रेमिटेन्स आप्रवाह ६ प्रतिशतले बढेर २ खर्ब ८७ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १९.४ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनुका साथै भारतीय अमौद्रीकरणको कारण यस तर्फबाट प्राप्त हुने रेमिटेन्समा कमी आएकाले कुल रेमिटेन्स आप्रवाहको वृद्धिमा केही कमी आएको हो।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७३/०७४ को पाँच महिनामा गत वर्षकोे सोही अवधिको तुलनामा ८.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.६ प्रतिशतले घटेको थियो।

प्रकाशित: ४ माघ २०७३ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App