५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युत् महसुल नतिर्ने १६ सयको लाइन काटियो

कपिलवस्तुमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालिएको छ। विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाइन काट्ने अभियान चलाएको हो। ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको हो।

पटकपटक सूचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाइ नभएपछि आफूहरूले लाइन काट्ने अभियान चलाएको प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख राजेशकुमार झाले बताए। ‘विभिन्न सञ्चारमाध्यम र पत्राचार गरेर बक्यौता महसुल तिर्न सूचना जारी गरेका छौं। अटेर गर्नेको लाइन काटेका छौं’,उनले भने। चालु आर्थिक वर्ष २०७९-०८० को साउनदेखि चैत मसान्तसम्म १६ सय २२ जनाको लाइन काटिएको छ। उनीहरूबाट ४ करोड ८८ लाख १५ हजार ८२ रूपैयाँ उठाउन बाँकी छ। त्यसमध्ये १२ सय ३८ जना ग्राहकबाट ३ करोड ३७ लाख १५ हजार ३६७ रूपैयाँ उठेको छ।

यस्तै चैत महिनामा मात्र २ सय ६९ जनाको लाइन काटिएको छ; जसबाट ६६ लाख ५१ हजार ७८ रूपैयाँ उठ्न बाँकी छ। यस्तै चैत महिनामा २ सय ८४ ग्राहकबाट ६१ लाख ८ हजार ५४५ रूपैयाँ उठेको छ। लाइन काटेको धेरै दिनसम्म पनि विद्युत् नतिर्ने ग्राहकको तीनपुस्ते विवरणसहित कालो पाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले बताए। विद्युत् चुहावट रोक्नसमेत अभियान चलाइएको छ। हावाहुरीको मौसमले विद्युत् अनियमितता हुने सम्भावना भएकाले त्यसतर्फ पनि ध्यान दिइएको झाले बताए।

उता प्राधिकरणको बक्यौता २४ करोड बढी नाघेको छ, जसमध्ये पालिकाहरूको सडक बत्तीकै रकम बढी छ। प्राधिकरणको कृष्णनगर वितरण केन्द्रले समेत बक्यौता असुलीका लागि कडाइ गरेको जनाएको छ। प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले लामो समयदेखि महसुल नतिर्नेको लाइन काट्ने, चुहावट नियन्त्रण गर्न अभियान चलाइएको बताए। चैत महिनामा मात्र ६० ग्राहकको लाइन काटिएको छ, जसबाट ६० लाख बढी रकम उठेको छ। कृष्णगनर वितरण केन्द्रमा मात्र ३० करोड बढी बक्यौता उठ्न बाँकी छ।

प्रकाशित: ५ वैशाख २०८० ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App